पत्रकारलाई कुलमानले भने- प्राधिकरणले तथ्यांक दिन्छ, विश्लेषण गरेर लेख्नुहोस्



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकारहरुलाई प्राधिकरणसँग भएका तथ्यांक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । र, उक्त तथ्यांकलाई हेरेर सही विश्लेषण गरिदिन पनि कुलमानले पत्रकारलाई आग्रह गरेका छन् ।

डेडिकेटेड र ट्रंकलाइसम्बन्धी विवादमा प्राधिकरणले प्रमाण दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला कुलमानले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

‘हामीसँग उपलब्ध तथ्यांक तपाईंहरुलाई उपलब्ध गराएका छौं र भावी दिनमा चाहियो भने दिन्छौं,’ घिसिङले भने, ‘हामीले कुनैपनि तथ्यांक लुकाएका छैनौं । आज उप्रान्त डेडिकेटेड र ट्रंकलाइनको हकमा कसैले विद्युत प्राधिकरणसँग माग्नुभयो भने हामीसँग उपलब्ध तथ्यांक हामी तपाईंहरुलाई प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’

प्राधिकरणले तथ्यांक लुकायो भन्ने प्रश्नहरु उठेको भन्दै कुलमानले अबदेखि पत्रकारले मागेका तथ्यांक दिने प्रतिवद्धता जनाए ।

सबै प्रकारका तथ्यांक सार्वजनिक गर्न तयार छौं

घिसिङले डेडेकेटेड र ट्रंक लाइनको विषयमा सबै तथ्यांक उपलब्ध तथ्यांक उपलब्ध गराउन तयार भएको बताएका छन् । घिसिङले आफूले कुनै तथ्यांक नलुकाएको सबै तथ्यांक सार्वजनिक गर्न तयार रहेको बताए ।

‘केही सञ्चार माध्यममा प्राधिकरणले तथ्यांक दिन सकेन भन्ने किसिमका विषय आएका छन्,’ घिसिङले भने,‘आजका दिनबाट हामीहरु सबै प्रकारका तथ्यांक दिने मेरो प्रतिवद्धता छ ।’

लोडसेडिङको समयमा ठूला औद्योगिक ग्राहकले असमानरुपले विद्युत प्रयोग गर्दा लोडसेडिङको तालिका बढ्दै गएको गुनासो आएको बताए ।

‘रोजगारी बढाउने नाममा, विभिन्न उद्योग चलाउने नाममा विद्युतको असमान वितरण भएको थियो । केही हाम्रा कर्मचारी पनि दोषी होलान’, घिसिङले भने, ‘विद्युतको असमान वितरणले लोडसेडिङ बढाएको थियो । हामीले विद्युतको असमान वितरणलाई अन्त्य गरेका थियौं । जसले गर्दा मात्रै लोडसेडिङ हटाउन सकिएको थियो ।’

१० मेगावाटको उद्योगले विजुली खपत गर्दा ५ जिल्ला अन्धमारमा बस्नु पर्ने अवस्था आएको घिसिङले बताए । ‘विद्युतको असमान वितरणले लोड व्यवस्थापन हुन सकेन । विभिन्न उद्योगी व्यवसायीले उजुरी दिए ।

‘आम जनताले पनि आफूहरुलाई अन्धकारमा राखेर उद्योगलाई विजुलीलाई गुनासो गरे,’ घिसिङले भने, ‘त्यसपछि उर्जा मन्त्रालयले विद्युतको असमान वितरण हटाउने विषयमा अध्ययन गर्न समित गठन गरेको थियो । उक्त कमिटीले विद्युतको असमान वितरण भईरहेको र केही उद्योगले गलत तरिकाले विद्युत प्रयोग गरेको प्रतिवेदन दिँदै विद्युत चोरी गर्ने १५ उद्योगलाई कारबाही गर्न सिफारिस गरेको थियो । लोडसेडिङको समयमा १५ उद्योगले विद्यतु चोरी गरिरहेको उक्त प्रतिवेदनमा थियो ।’


क्लिकमान्डु