विकसित र विकासोन्मुख देश विकासको मोडालिटी



केही साथीहरूले तपाईंको फेसबुकमा गार्डेनका फोटाहरू र जोकमात्र कति हेर्नु र सुन्नु हौ कहिलेकाहीँ त यथार्थका कथा पनि पढ्न सुन्न पाए हुन्थ्यो नि भनेर कमेन्ट ठोकेछन् । यसरी आएका कमेन्टहरूलाई बेवास्ता गर्नुभन्दा कतै-कतै सुने-पढेको विषयलाई नयाँ मोडालिटीमा देश विकास गर्ने दुई भूपू राष्ट्रप्रमुखहरूको कथा र बेथाको झसक्क याद आयो र यसै विषयलाई तितो सत्यभित्रको यथार्थ कथा मानेर तपाईंहरूसमक्ष पस्कने जमर्को गरेको छु ।

यस लेखको शीर्षकमै ‘विकसित र विकासोन्मुख देश’ भनिएकाले यी दुईको बीचको फरक भनेको कुनै पनि राष्ट्रको विकसित अर्थतन्त्र र उन्नत प्रविधिको प्रयोगले पूर्वाधार पूर्ण विकास गरेर देशवासीको गुणस्तरयुक्त जीवनयापन गर्ने अधिकारको सुनिश्चितता भएको अवस्था विकसित हो भने निम्नस्तरको कृषि प्रधान देशले उन्नत किसिमको आर्थिक र सामाजिक रूपान्तरका लागि गरिरहेको प्रयास भनेको विकासोन्मुख देशमा गणना हुन्छ ।

कुनै समयमा विकसित र विकासोन्मुख दुई राष्ट्रमध्ये एक अतिविकसित राष्ट्रको र अर्को चाहिँ नेपालको राष्ट्रप्रमुखमा उही समयावधिमा आ–आफ्ना देशको राष्ट्रप्रमुख भएर समकक्षी भएका मित्र रहेछन् । दुबै जना भूपू राष्ट्रप्रमुख भएको लामै समयपछि कुराकानी हुँदै गर्दा फुर्सदिलो भएको समयको फाइदा उठाउँदै एकले अर्काको देशमा भ्रमण किन नगर्ने भन्ने सहमति भएसँगै को पहिला कता आउने वा जाने सल्लाह हुँदा विकसित राष्ट्रको भूपू राष्ट्रप्रमुखले नेपालको भूपू राष्ट्रप्रमुखलाई तपाईं नै पहिला आउनुस् भनेर निम्ता गरेछन् ।

नेपालका भूपू राष्ट्रप्रमुखले आफू वहालवाला हुँदा पनि भ्रमण गर्न नसकिराखेको विकसित देशमा जाने निम्तामा पनि किन तपाईं पहिला आउनुस् भनेर गलफत्तितिर लाग्नुभन्दा निम्तो स्वीकार्नु उत्तम भन्ने लागेर हुन्छ भनेछन् । अन्तत: नेपालका भूपू राष्ट्रप्रमुख सोही मर्यादाको ठाँटमा विकसित देशका भूपू राष्ट्रप्रमुखको भव्य आलिसानमा पुगे ।

दुई–तीन दिनको आतित्थ्यमा नेपालका भूपू राष्ट्रप्रमुख त्यहाँका भूपू राष्ट्रप्रमुखको भवन, वरपरको तामझाम, बरबगैँचा,  सुविधै–सुविधासहितको अत्याधुनिक भव्य भवन, भवनभित्रको सजावट आदि देखेर आश्चर्यचकित भएछन् । नभन्दै भ्रमणको अन्तिम दिन निवासको दसौं तलामाथिको छतमा बसेर दुरबिन लगाएर दुवैजनाले टाढा–टाढाका रमणीय दृष्य हेरिरहेका बेला चिया–कफी आइपुगेछ ।

कफी पिउँदै नेपालका भूपू राष्ट्रप्रमुखले यतिका सुविधा के कसरी भयो भनेर त्यहाँका भूपू राष्ट्रप्रमुखलाई जिज्ञासा राखेछन् । राष्ट्रप्रमुखले पनि बढो हँसिलो पारामा जुरूक्क उठेर आफ्ना हातमा रहेको दुरविन पुन: तेर्स्याउँदै ऊ त्यो परको अत्याधुनिक पुल देख्नुहुन्छ ? त्यो पुल र त्यहाँ वरपरका चिल्ला मोटर कुद्ने बाटाघाटा, रेल स्टेसन र आधुनिक सहरहरू म राष्ट्रप्रमुख भएका बेलामा भएको विकास हो भनेछन् ।

नेपालका भूपू राष्ट्रप्रमुखले पनि आफ्नो हातको दुरविन घुमाइ–घुमाई कसरी त्यो देशको विकास भएको रहेछ भनेर त्यहाँका राष्ट्रप्रमुखले देखाएका विकासका पूर्वाधार एक–एक गर्दै नियालेर हेरिसकेपछि नेपालका भूपू राष्ट्रप्रमुखले यसो सोचेछन्, यो पूर्वाधार विकास र उनको अत्याधुनिक सुविधा सम्पन्न आलिसान भवनबीच के सम्बन्ध होला भनेर सोच्दै गर्दा त्यहाँका भूपू राष्ट्रप्रमुखले भनेछन्– हो त्यही विकासको प्रतिफल हो, यो मेरो अहिलेको सुविधा र सम्पन्नता । राष्ट्रप्रमुखको तलब र सेवा सुविधाले त के हुन्छ र ! तर, यो सबै पूर्वाधार विकास हुँदा ठेकेदार र इन्जिनियहरूले उनीहरूको कमाइबाट मलाई पनि अलि–अलि छुट्याइदिएको स्रोतबाट आज मैले पनि यो सब सेवा सुविधा भोगिरहेको छु ।

आलोपालोअनुसार अबको पालो नेपालका भूपू राष्ट्रप्रमुखको निम्तामा विकसित देशका भूपू राष्ट्रप्रमुखको थियो । नभन्दै विकसित देशका भूपू राष्ट्रप्रमुख पनि नेपालका भूपू राष्ट्रप्रमुखको निम्तामा नेपाल आए । उनको पनि मित्रताको व्यत्तिगत भ्रमण भएकाले दायाँबायाँ कतै नलागी सिधै नेपालका भूपू राष्ट्रप्रमुखको निवासमै आए ।

उताको भ्रमण अवधि जस्तै दुई–तीन दिन बिताएर फर्किने दिन अग्लो न अग्लो भवनको छतमा बसेर चिया–कफी गफ चलिरहेका बेलामा विकसित देशका भूपू राष्ट्रप्रमुखलाई पनि अचम्म लागेर यति गरिब देशको भूपूहरूको सेवा सुविधा त मेरोभन्दा पनि बढी छ भन्ने लागेपछि यो सब कसरी भयो भनेर नेपालका राष्ट्रप्रमुखलाई सोध्न पुगेछन् ।

नेपालका भूपू राष्ट्रप्रमुखले पनि दुरविन तेर्स्याउँदै भनेछन्– तपाईंको देश र हाम्रो देशको भौगोलिता र विकासको मोडेलमा आङकाताङ फरक पर्छ । ल हेर्नुस् त ! त्यो परको त्यति ठूला र मजबुत पुल, त्यसको छेउमा अवस्थित रेल स्टेसन, वरपरका गाडी दगुर्ने चिल्ला बाटा र तपाईंले देखिरहनुभएका ठूला–साना सबै सहर मेरै पालामा बनेका हुन् ।

त्यो मोरो ‘गोरे’ विकसित देशको भूपू राष्ट्रप्रमुखलाई कुन्नि कस्तो खाले दुरविन भिराइदिएछन्, चारैतिर दोहार्‍याइ–तेहेर्‍याई हेर्दा पनि नेपालका भूपू राष्ट्रप्रमुखले भनेका कुनै पनि विकासका पूर्वाधार देखेनछन्, अनि अचम्म मान्दै गोरेले कनिकुथी नेपालीमा सोधे छन्– होइन टिमीले डेखाको टिम्रो देशको विकास मलाई नदेख्नु भाको’ (यो गोरेले नेपालीमा भन्न खोजेको चाहिँ तपाईंले मलाई देखाउनुभएको तपाईंको देशको विकासका पूर्वाधारहरू एउटा पनि देखिन त !)

नेपालका भूपू राष्ट्रप्रमुखको पालो पनि कसरी देख्नुहुन्छ त ! बनाएको भए न देखिने हो भनेछन् । म राष्ट्रप्रमुख हुँदा यी विकासका पूर्वाधारहरूको अवधारणा कागजमा बनाएर ठेकदार र इन्जिनियरहरूले केही पनि कामै नगरी सबै बजेट निकासा गरिदिएको हुनाले उनीहरूले मलाई पनि मानको खातिर मान यो सब सुविधा सम्पन्न निवास पुरस्कार स्वरूप दिएका हुन् भनेछन् ।

गोरेले फेरि पनि अचम्म मान्दै सोधेछ– यहाको सबै जनटा लठैत हुनुभाको, विकास नभाको भनेर बिरोड नगुर्नु भाको ।’ नेपालका भूपू राष्ट्रप्रमुखले भनेछन्– यहाँको जनता लठैत मात्र भएको भए त कम्तीमा मानव नै त हुन्थे नि ! तर, यहाँ त जनता जनार्दन भनेको भेडाबाख्रामात्र हुन् । त्यसैले गर्दा हामीलाई राज्य सञ्चालनमा ऐस आराम छ । अनि म जस्ता अरु सबै भूपूहरू र बहालवालाहरूको सेवा सुविधा यस्तै हुन्छ ।

यो नै हाम्रो देश विकास गर्ने उत्तम मोडालिटीको हो । हाम्रा एक जना सर्वोच्च सर्वमान्य नेताले भनेकै थिए– यहाँका सबै जनता भेडाबाख्रा हुन् भनेर । मेरो पार्टीका झोले भेडाबाख्राहरूले मेरो विरोध कदापी गर्दैनन्, बाँकी रहेका अन्य दलका झोले भेडाबाख्राहरूले गरेको विरोधले सरकारमा बसेका जुनसुकै दलहरूका लागि ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ ।

अनि यहाँका दलहरुका हामी ठूलाबडा नेताहरूबीच अघोषित सम्झौता भएअनुसार आलोपालोमा सरकार चलाउँदा प्रयोगमा गरिने देश विकासको मोडालिटी सबै दलको एउटै हुन्छ, जुन तपाईंले अहिले मेरो निवासमा देखिरहनुभएको छ । हामी नेताहरूले झोले भेडाबाख्राहरूको आँखा छल्नका लागि देखावटी रूपमा मात्र विरोध गरे जस्तो चाहिँ गर्ने हो तर यथार्थ ‘काले–काले मिलेर खाऊँ रातो भाले’ हो ।

त्यसैले तपाईंको र हाम्रो देश विकासको मोडालिटीमा भौगोलितामा मात्र फरक नभएर यहाँका भेडाबाख्रासमेतको स्वभाव फरक भएकाले हाम्रो देशको विकास हामी २–४ जना ठूला नेताहरूले जस्तो चाहन्छौँ त्यस्तै हुन्छ । तपाईंहरूले पो सज्जन र पढालेखा जनताको लागि देशको विकास गर्ने हो तर हामीले हाम्रै पाराको मोडालिटीमा भेडाबाख्राहरूलाई चाहिने जति मात्र विकास गर्‍यौँ भने पनि चाहेको भन्दा ठूलो विकास भएको भनेर हाम्रो नयाँ मोडालिटीले नामै कमाउन पनि सक्छ ।

नेपालको विकासमा भइरहेको मोडालिटी गर्न र हामी भेडाबाख्राहरू पनि सज्जन जनता हुन के गर्ने हो त !

अबको पाटो याने कि हाम्रो जिम्मेवारी भनेको हामीलाई भिराइएको भेडाबाख्राको दर्जाबाट माथि उठेर नगरपालिका/गाउँपालिकाहरूको पछिल्ला चुनावमा थोरै भए पनि देश विकासका लागि चम्किला ताराहरूको उदय भएको छ । म र हाम्रो अनि बाजेदेखिको खान्दानी पुरानो पार्टी हो, हिजो त विरोधीहरूले गर्नै नदिएर पो हो भनेर अब पनि पार्टीका बफादार हनुमान भएर चुप बस्ने समय सीमा नाघिसक्यो ।

अब पनि यही परिपाटीमा देशको कायापटल हुन्छ भन्ने आश नगरे पनि हुन्छ । आशा गरैकै पनि झन्डै चार दशक हुन लागिसक्यो तर पनि हात्ती आयो हात्ती आयो फुस्सा भइसक्यो । यो अवधिसम्ममा देशको भन्दा पनि व्यक्तिगत फाइदाका लागि च्याउ उम्रेझैँ खुलेका पार्टीको हविगत र नेता भनाउँदा सबैको सक्कली अनुहार हामी सबमा जगजायर भइरहँदा बुढो गोरूले ओगटेको गाईझैँ मिति नागिसकेका उही प्रवृत्तिका नेताबाट देशको काँचुली फेरिनुको अलावा झन्–झन् हात्ती र गैँडाको बाक्लो न बाक्ला, खस्रो र चाम्रो छाला जस्तो भएर देश विकासका उन्नति र प्रगतिमा बाधक बनिसक्यो ।

तीन करोड जनसंख्या भएको हाम्रो सानो अति सुन्दर देशमा ५० लाखजति बालबच्चा र मिति गुज्रेका नेता नै होलान्, बाँकी रहेका दुई करोड ५० लाख जनता देशको हालत देखेर दिनप्रतिदिन वाक्कदिक्क भइरहेका छन् ।

यथास्थितिमा अधिकांश पार्टीका नेता, देशलाई चटक्क बिर्सेर आफ्नो व्यक्तिगत फाइदामात्र हेर्ने पार्टीका हनुमान झोलेहरू, उद्योगपति, व्यापारी व्यवसायी र नोकरी गर्नेबाहेक सबै जनता परिर्वतनको खोजीमा लागेको स्पष्ट छ । पछिल्ला चुनावहरूमा विदेशमा रहेर अरूको गुलाम बनेका दाजुभाइ तथा दिदीबहिनीहरू समेतले परिवर्तनका लागि नेपालमा भएका आफ्ना बा-आमा र सबै नसनाताहरूलाई प्रत्येक पटकको फोन कलमा स्वतन्त्र उम्मेद्वारहरू र स्वतन्त्र पार्टीको नामै तोकेर भोट हाल्न दिएको दबाब धेरैको कानमा अहिले पनि गुन्जिरहेको हुनुपर्छ ।

त्यसो त पछिल्लो नगरपालिका, गाउँपालिका र संसदीय चुनावले सानै संख्यामा भए पनि सांकेतिक रुपमा देशप्रति कटिबद्ध र चम्किला ताराहरू तथा पार्टीको उदय भएको छ । आउने दिनहरूमा जुनसुकै चुनावमा यी चम्किला ताराहरूको ‘हो मा हैँसे’ गर्दै हेर्नैका लागि मात्र भए पनि एकपटक नयाँ दल र नयाँ अनुहारहरूलाई मौका दिन चुक्यौँ भने सधैंलाई पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन र हुँदैन पनि ।

हामीले हामीलाई मात्र नहेरी भावी सन्ततिको पनि ख्याल राखौँ । जय नेपाल ! खासमा जय नेपाल भन्दा कुनै पार्टिको निजी नारा हुने भएकाले ‘जय देश नेपाल’ भन्न नै उपयुक्त होला ।[email protected]


क्लिकमान्डु