उत्पादन कम हुँदा उखु उद्योगको व्यापारमा असर, एभरेष्ट सुगरको आम्दानी हरेक वर्ष घट्दै



काठमाडौं । हरेक वर्ष उखु उत्पादन कम हुँदै जाँदा उखु क्रसिङ गरी चिनी उत्पादन गर्ने उद्योगको व्यापारमा उच्च असर पर्न थालेको छ ।

उखु किसानको रकम उद्योगीहरुले समयमै भुक्तानी नगरेको र उत्पादन लागत बढे पनि उचित मूल्य नपाएपछि किसानहरु विस्तारै विस्थापित हुँदै गएका छन् । जसले गर्दा क्रसिङ उद्योगको व्यापारमा उच्च प्रभाव देखिएको छ ।

त्यस्तै, एभरेष्ट सुगर र केमिकल इन्डष्ट्रिजको व्यापार हरेक वर्ष घट्दै गएको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ४१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा ९३ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ३७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी, सन् २०२३ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । जसमा सन् २०२२ को तुलनामा सन् २०२३ मा साढे ५ करोड कम व्यापार गरेको छ ।

सन् १९९३ मा स्थापना भएको उद्योगसँग दैनिक ५ हजार ५ सय टन उखु क्रसिङ गर्ने क्षमता छ । उद्योगले उखु क्रसिङ गरी चिनी उत्पादन गर्दै आएको छ । सराफ फ्यामिली अग्रवाल फ्यामिलीद्वारा सञ्चतालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २० करोड ५९ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १७ करोड ५९ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि २ अर्ब ३ करोड रुपैयाँ अर्थात् एफोर प्लस रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२३ मा १७ प्रतिशतले नाफा कमाएको छ । क्रसिङ उद्योगबाट ९ मेगावाटको सह–उत्पादन पावर प्लान्ट क्षमता छ र कम्पनीले थप ३ मेगावाट बिजुली उत्पादनका लागि पीपीए हस्ताक्षर गरिसकेको छ ।

सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क तोकेको छ । सरकारले उच्च भन्सार दर कायम गर्दा स्वदेशी उद्योगलाई राहत मिलेको उल्लेख छ । साथै, सरकारले उखु किसानहरुलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रदान गर्दै आएको छ ।

चिनी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उखुमा उद्योगहरु पूर्ण स्वदेशी उत्पादनमा निर्भर छ । तर, पछल्ला समय विभिन्न कारणले गर्दा उखु उत्पादन कम हुँदै गएको छ ।


क्लिकमान्डु