इन्जिनियर र सीए बन्न नसकेका सन्तोष कोइराला यसरी बने सफल बैंकर, बैंकर्स संघको अध्यक्ष पक्का



काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सन्तोष कोइरालालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा आगामी ४ वर्षे कार्यकालका लागि पुन: नियुक्त गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि नियुक्ति गरेको हो ।

२५ वर्ष बैंकिङ गरेको अनुभव भएका कोइराला कम्प्लाइन्स (अनुपालना)मा आधारित बैंकिङ अभ्यास गर्दै आएका छन् । करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिने कोइरालाको जीवनशैली अत्यन्तै सरल छ।

कोरोना महामारी सुरु भएपछि नेतृत्व सम्हालेका उनले पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकको विभिन्न सूचकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल सावित गराउनु सफल भएका छन् ।

एक दशकदेखि माछापुच्छ्रे बैंकमा कार्यरत कोइराला २०७७ बैशाख १ गतेदेखि सीइओको भूमिकामा छन् । डेपुटी सीइओ रहेका कोइराला २०७६ चैत २ गतेदेखि कामू सीईओमा पदोन्नती भएका थिए । सिनियर म्यानेजरबाट एजीएम, डीजीएम हुँदै बैंक प्रबेश गरेको ७ वर्षमै सीइओ भएका थिए ।

कोरोना महामारी र त्यसपछि अर्थतन्त्रमा देखिएको संकुचनका बीचपनि माछापुच्छ्रे बैंकले सन्तोषको नेतृत्वमा सन्तोषजनक प्रगति गरेको छ ।

‘अर्ग्यानिक ग्रोथ लिएर करिअर बढाएको थिएँ, जुन बैंकमा डेपुटी सीइओ थिए त्यही बैंकमा सीइओ हुँदा बढुवा भएको जस्तो लागेको थियो, अबसरसँगै चुनौतिहरु पनि थिए,’ कोइराला भन्छन्, तर, ‘आज सञ्चालक समितिले दोस्रो कार्यकालको लागि नियुक्ति गर्दा पहिलो कार्यकालमा राम्रै गरेछु भन्ने महशुस भएको छ ।’

यस्तो छ कोइरालाको करिअरको नालीबेली

२०३० सालमा पूर्वी पहाडको भोजपूरमा जन्मिएका कोइरालाले कक्षा ५ सम्मको अध्ययन स्थानीय सिद्देश्वर माविबाट पूरा गरे । बुबा सरकारी जागिरे, नायब सुब्बामै कार्यरत छँदा अवकास पाएपछि उनको सपरिवार झापाको चन्द्रगढीमा बसाइ सर्यो ।

परिवार २०३८ सालमै बसाइ सरे पनि उनी भने २ वर्षपछि २०४० सालमा मात्रै तराई झरे । पढाइमा तीक्ष्ण बुद्धि भएका उनी जहिल्यै प्रथम वा द्वितीय हुन्थे ।

कोइरालाले झापाको बीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी दिए । एसएलसीमा पनि प्रथम श्रेणीमा उत्तीर्ण भए ।

त्यसपछि उनी सुरक्षित र आकर्षक करिअर मानिने इन्जियर बन्ने योजनालाई मूर्तरुप दिन राजधानी काठमाडौं हानिए ।
इन्जिनियर बन्नका लागि पहिले आईएससी पढ्नु पर्थ्यो, त्यसैले इन्टरनमा अमृत साइन्स क्याम्पस (अस्कल)मा भर्ना भए । आइएस्सी पास त गरे । तर चित्त बुझ्दो नम्बर भने आएन ।

इन्जिनियर बन्नका लागि उनी सामू अब एउटा मात्रै विकल्प थियो, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम निकाल्नु । त्यहाँ गएर फारम त भरे तर त्यही समयमा भाइको व्रतवन्धका लागि झापा जानु पर्दा यता प्रवेश परीक्षा छुट्यो ।

इन्जिनियर बन्ने उनको सपनाले त्यही बिसर्जन लियो ।

इन्जिनियर बन्ने सपनाले बिश्राम लिएपपछि उनी फेरि झापा फर्किए । मेची बहुमुखी क्याम्पसमा बिकम पढ्न थाले ।

यसैबीच केही वर्ष अध्यापनमै बिताए । २०४८ सालमा बिकम टप गरे । त्यसपछि कोइराला फेरि काठमाडौं फर्किए । र, शंकरदेव क्याम्पसमा भर्ना भए ।

त्यो बेला क्याम्पस चिफले सन्तोषलाई एकदिन बोलाएर भने, ‘सन्तोष तिमी ट्यालेन्ट छौं, चाटर्ड एकाउन्टेन्सी पढ ।’

इन्जिनियर बन्न नसकेपछि अब सीए बन्छु भन्ने मनमा आशा पलायो र उनी सीए पढ्न भारतको चेन्नार्र्इ हानिए । त्यतिबेला चेन्नाईमा सुरेन्द्र पौडेल (नेपाल आयल निगमका पूर्वप्रमुख) सीए पढिरहेका थिए । कोइराला पौडेलसँगै ६ महिनासम्म रुम पार्टनर भएर बसे ।

तर, सीए पढ्दै गर्दा स्वास्थ्यमा समस्या देखियो । उनलाई जन्डीसले नराम्रोसँग थला पार्यो । उनी झापा फर्किए । चेन्नाईको वातावरण नमिलेकाले बिरामी भएको भन्दै उनलाई बुबाआमाले सीए पढ्न जान दिएनन् । त्यसपछि भारतीय दुतावासबाट सीएको परीक्षा दिए । तर, सफल भएनन् ।

यसले सीए बन्ने उनको सपनामा पनि पूर्णबिराम लाग्यो ।

इन्जिनियर र सीए बन्ने सपना तुहिएपछि त्रिभुवन विश्वविद्यालयमा प्राइभेटतर्फ एमबीएमा भर्ना भए । कोइराला एमबीएमा राम्रो नम्बर ल्याएर उत्तीर्ण भए । तर, प्राइभेट भएकाले गोल्ड मेडल पाउनबाट बञ्चित भए ।

सीए बन्न नसकेपनि लेक्चर भने बन्छु भन्ने उनमो सोच पलाएको थियो ।

यसैबीच सन् १९९९ मा बैंक अफ काठमाण्डूमा कर्मचारीको भ्याकेन्सी खुल्यो । उनले जुनियर असिस्टेन्टमा फारम भरे । पुतलीसडकस्थित कुमारी हलको पछाडि नेशनल कलेज छेउ बृहस्पती विद्या सदनमा परीक्षा भएको थियो ।

बैंक अफ काठमाण्डूमा उनको नाम निस्कियो । र, २००० मार्च महिनामा बैंक अफ काठमाण्डूमा जागिर शुरु गर्न थाले । त्यतिबेला उनको तलब ५ हजार रुपैयाँ थियो । अहिले कोइरालाको मासिक तलब-भत्ता गरी करिब १३ लाख रुपैयाँ छ । उनले आफ्नो तलबको ३९ प्रतिशत सरकारलाई कर तिर्छन् ।

जागिर खाएको ८/९ महिनामै बिबाह गरेका उनको हेटौंडा सरुवा भयो ।

ठूली छोरी जन्मिइसकेकी थिइन् । यस्तो अवस्थामा पनि परिवारभन्दा टाढा बस्नुपरेको पीडाबोध भइरहेको थियो उनलाई ।

त्यसैबीच एक राष्ट्रियस्तरको बैंकका लागि भनेर एक दैनिक पत्रिकामा जागिर खुल्यो । उनले काठमाडौंमा काम गर्न पाइन्छ भनेर फारम भरे । बैंकले लिएको परीक्षाामा उत्तीर्ण भए । जब अन्तर्वार्ताका लागि बोलाइयो तब उनले थाहा पाए त्यो त सानिमा विकास बैंक रहेछ ।

वणिज्य बैंकमा काम गरिरहेका कोइरालालाई विकास बैंकमा काम गर्न केही संकोच त अवश्यक भयो तै पनि काठमाडौंमै पोस्टिङ भएकाले परिवारसँग बस्न पाउने लोभले उनी काम गर्न राजी भए । पहिलेभन्दा एक पोस्ट पदोन्नती पनि भयो र साथमा तलब पनि ।

सानिमा बैंकमा निरन्तर १३ वर्ष काम गरे । उनले काम थालेको ११ वर्षपछि सानिमा विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति भयो। उनी पनि बढुवा हुँदै म्यानेजरसम्म पुगे ।

यसैबीच माछापुच्छ्रे बैंकका तत्कालीन डीजीएम उमेशसिंह भण्डारीले सिनियर म्यानेजर बनेर माछापुच्छ्रे आउन अफर गरे । त्यतिबेला बैंकका सीईओ थिए तुलसीराम गौतम । गौतम पनि झापाली नै हुन् । माछापुच्छ्रेबाट आएको त्यो अफरलाई स्वीकार गरे । पछि बढुवा भएर डेपुटी सीईओ भए । २०७७ बैशाख १ गतेदेखि लागू हुनेगरी सीइओ बने ।

आफ्नो ग्रोथलाई अर्ग्यानिक ग्रोथ भन्छन् उनी ।

‘म सधैं अर्ग्यानिक ग्रोथ लिएर करिअर बढ्दै आएको छु,’ उनले भने ।

सबै राजनीति गर्नेहरु मन्त्री प्रधानमन्त्री बन्दैनन् । सबै सिपाइ आइजी बन्दैनन् । सबै राष्ट्र बैंकका जागिरे गभर्नर बन्दैनन् । त्यसैगरी सबै बैंकका जागिरेहरु सीइओ बन्दैनन् ।

इन्जिनियर र सीए बन्न नसकेपछि ‘एक्सिडेन्टल बैंकर’ बनेका उनले हरेस भने कहिल्यै खाएनन् । करिअर शुरु गरेपछि ‘प्यासन’का साथ काम गरे । धेरै मिहेनत गरे, इमानदार भएर कार्यालयलाई पूरा समय दिए र कार्यालय व्यवस्थापनमा सफल भएको देखेर नै बैंकले फेरि उनलाई दोहोर्यायो ।

‘पारिवारिक व्यवस्थापन श्रीमतीले सम्हाल्दा व्यवसायिक जीवनमा मन लगाएर काम गर्न पाएँ, फलस्वरुप आजको यो सफलता हो,’ उनले भने ।

व्यवस्थापनको सुत्र ।

आफूसँग भएको ज्ञानलाई कन्भर्र्ट गरेर सम्पूर्ण कर्मचारी, सञ्चालक समिति, नियामक निकाय र सरोकारवालासँग राम्रो सम्बन्धमा रहनुपर्छ भन्ने कोइरालाको व्यवस्थापकीय सुत्र हो । ग्राहकप्रति उत्तरदायी हुनुपर्ने र कर्मचारीको मनोवल राख्नुपर्नेमा बढी उनी सचेत छन् ।

‘ग्राहक भनेका हाम्रा भगवान हुन्, उनीहरुलाई सँधै सम्मान र आदर गर्नुपर्छ’, कोइराला भन्छन्, ‘सीइओको काम कर्मचारीलाई परिवारका सदस्य मानेर माया र मनोवल बढाउँदै अभिभावकत्व दिलाउन सक्नुपर्छ ।’

कोइराला टिम वर्कमा विश्वास गर्छन् ।

‘बैंकको काम कर्मचारीले नै गर्ने हो, त्यसका लागि टिम वर्क चाहिन्छ, सीइओ एक्लैले सबै कुरा गर्ने होइन,’ उनले थपे ।

उनको बुझाइमा बैंकिङ धेरै आक्रामक भएर गर्ने व्यवसाय होइन । बैंकमा पहिलो काम निक्षेपकर्ताको सुरक्षा हो । निजी कम्पनी खोलेजस्तो होइन ।

‘यो बीचमा बैंकिङ निकै आक्रामक भयो, आक्रामकताले तत्कालै ग्रोथ देखिएपनि दीर्घकालमा समस्या उत्पन्न हुनसक्ने विश्लेषण गरेर मैले संयमित भएर काम गरेँ,’ उनी भन्छन्, ‘ग्रोथका लागि इथिक्समा कम्प्रमाइज गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’

कोइरालाका अनुसार बैंकिङ नियमनभित्र बसेर नीति, निर्देशन कानून मानेर काम गर्नुपर्छ । बैंक निक्षेपकर्ताको सुरक्षा गर्ने ठाउँ हो । बैंक समस्यामा पर्दा निक्षेपकर्ता डुब्छन् । सर्वसाधारण निक्षेपकर्ताको पैसाले बैंक चल्छ ।

नियन्त्रणसहितको आक्रमकता आफूले लिने रणनीति भएको बताउँछन् उनी ।

‘राष्ट्र बैंकले ल्याएको नीति र निर्देशनको अक्षरशः पालना गर्दै संस्था सञ्चालन गरिरहेको छु,’ कोइराला भन्छन् ।

पहिलो कार्यकालमा सीईओ भएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चुनिएका कोइराला अहिले उपाध्यक्ष छन् । अबको १ वर्षपछि उनी स्वःत संघको अध्यक्ष बन्ने छन् ।

बैंकिङपछि अध्यापन र राजनीतिमा चासो राख्ने कोइरालाका लागि सक्रिय बैंकिङपछिको करिअरमा बैंकर्स संघको अध्यक्षले ठूलो महत्व राख्नसक्छ ।


क्लिकमान्डु