आयात घट्दा पनि कसरी बढ्यो राजस्व ?



काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र बलियो हुँदा समेत बजारमा आर्थिक गतिविधि बढ्न समय लाग्ने देखिएको छ । सिमेन्ट, छठ लगायतका उद्योगको आन्तरिक उत्पादन घटेको समयमा आयातसमेत घटेपछि आर्थिक गतिविधि बढ्न समय लाग्ने देखिएको हो।

विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च बिन्दुमा पुग्न लाग्दा समेत आयात बढ्न नसकेको हो ।

राष्ट्र बैंककाअनुसार कात्तिक महिनामा विदेशी मुद्राको सञ्चिति १२ अर्ब ७५ करोड डलर पुगेको छ । मंसिरमा समेत आयात घटेको र रेमिट्यान्स आप्रवाह बढ्ने क्रममा रहेकाले मंसिरमा समेत विदेशी मुद्राको सञ्चिति बढ्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो हुँदा समेत चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ । जबकी गत वर्ष सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाउनुको साथै राष्ट्र बैंकले आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गर्दा समेत मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।

सरकारले मंसिरपछि मात्रै आयात प्रतिबन्ध खुला गर्ने निर्णय गरेको थियो भने राष्ट्र बैंकले पनि पुसपछि क्रममा एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको थियो ।

यस्तै, चालु आर्थिक वर्षको साउनमा नीतिगत दरहरु घटाउँदै राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिएको थियो । मौद्रिक नीतिको पहिलो समीक्षामार्फत राष्ट्र बैंकले ६.५ प्रतिशत रहेको नीतिगत दरलाई घटाएर ५.५ प्रतिशत, ४.५ प्रतिशत रहेको निक्षेप संकलन दरलाई घटाएर ३ प्रतिशत र ७.५ प्रतिशत रहेको बैंक दरलाई घटाएर ७ प्रतिशत बनाइसकेको छ ।

मौद्रिक नीतिमा गरिएको समीक्षाको प्रभाव देखिन समय लाग्ने भए पनि साउनदेखि राष्ट्र बैंकले लिएको लचिलो नीतिको प्रभाव देखिएको छैन ।

भन्सार विभागका अधिकारीहरु अवैध प्रणालीबाट सामान आउँदा केही आयात घटे पनि बजारमा माग घट्दा आयात घटेको बताउँछन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामा गत वर्षभन्दा ३.४ प्रतिशत कम आयात भएको हो ।

चालु आर्थिक वर्षको ५ महिनामा आयात घट्दासमेत राजस्व सकलन भने ५.८३ प्रतिशतले बढेको छ ।

विभागकाअनुसार गत वर्ष मंसिर मसान्तसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिर मसान्तमा १ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

लत्ताकपडा, जुत्ताचप्पल लगायतका राजस्व चुहावट हुने क्षेत्रमा गरिएका कडाइ राजस्व संकलनमा वृद्धि भएको विभागका अधिकारीहरु बताउँछन् । विभागकाअनुसार चालु आर्थिक वर्षमा लत्ताकपडा र जुत्ताचप्पलको आयात बढेको छ ।

चालु आर्थिक वर्षको साउन देखि नै गत वर्ष बराबर आयात हुन सकेको छैन । गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षमा १ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ । यस्तै, भदौमा गत वर्ष १ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षमा १ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ ।

असोज महिनामा भने चालु आर्थिक वर्षमा गत वर्षभन्दा १३ अर्ब रुपैयाँको बढी आयात भएको थियो ।

यो वर्ष कात्तिकमा चाडपर्व परेकाले चालु आर्थिक वर्षको असोजमा गत वर्षभन्दा बढी आयात भएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

कात्तिकमा १४ दिन सार्वजनिक बिदा भएपछि गत वर्षभन्दा २० प्रतिशतले आयात घटेको थियो ।

गत वर्ष कात्तिक महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको कात्तिकमा १ खर्ब ४ अर्ब रुपैयाँको आयात भएको थियो ।

भन्सार विभागकाअनुसार मंसिर महिनामा पनि गत वर्षको तुलनामा आयात घट्दा निर्यात भने बढेको छ ।

गत वर्ष १ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको मंसिरमा १ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ ।
यस्तै, गत वर्ष १२ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको मंसिरमा १२ अर्ब ६४ करोड रुपैयाँको निर्यात भएको छ ।

मंसिरमा निर्यात बढे पनि चालु आर्थिक वर्षको ५ महिनामा गत वर्षभन्दा ६ प्रतिशत कम निर्यात भएको छ ।
गत वर्ष ५ महिनामा ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको ५ महिनामा ६३ अर्ब २१ करोड रुपैयाँको निर्यात भएको छ ।

चालु आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड, भदौमा १२ अर्ब ९१ करोड, असोजमा १४ अर्ब ४२ करोड र कात्तिकमा ९ अर्ब ६९ करोड रुपैयाँको निर्यात भएको थियो ।

गत वर्ष साउनमा १४ अर्ब ८० करोड रुपैयाँ, भदौमा १३ अर्ब ८७ करोड रुपैयाँ, असोजमा १ अर्ब ३१ करोड रुपैयाँ र कातिकमा १२ अर्ब ९५ करोड रुपैयाँको निर्यात भएको छ ।


क्लिकमान्डु