एफपीओको प्रिमियम र मर्जरमा भएको आम्दानीबाट ३० करतादाबाट ११ अर्ब ३ करोड उठ्यो



काठमाडौं । ठूला करदाता कार्यालयले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा ११ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका निर्देशक प्रकाश पौडेलले ३० बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ३ करोड रुपैयाँ राजस्व तिरेको जानकारी दिए ।
‘एफपीओको प्रिमियमबाट कति राजस्व उठ्यो र मर्जरबाट कति संकलन भयो भनेर हिसाब गर्न पाएका छैनौं,’ पौडेलले भने,‘करदाताले भोली पनि एफपीओको प्रिमियम र मर्जरमा भएको आम्दानीमा कर तिर्नेछन् । अनिमात्रै कुन करदाताले कति रकम तिरे भन्ने थाहा हुन्छ ।’

बिहीबार सर्वाेच्च अदातलले बैंक तथा वित्तीय संस्थाले दायर गरेको रिट खारेज गरेपछि बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् ।

एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ति गर्दा भएको ‘बार्गेन पर्चेज गेन’मा कर लगाउने सरकारको निर्णयविरुद्ध बैंकहरुले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनमा कर छलि भएको भन्दै सरकारलाई कर उठाउन निर्देशन दिएको थियो ।

महालेखाको उक्त निर्देशनपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनको कर तिर्नुपर्ने व्यवस्था गर्दै मंसिर मसान्तसम्ममा कर तिरेको खण्डमा जरिवाना छुट गर्ने घोषणा गरेका थिए । उक्त घोषणाविरुद्ध बैंक तथा बीमा कम्पनी अदालत पुगेका थिए ।

रिट खारेज भएसँगै मंसिर मसान्तभित्र कर तिर्नुपर्ने भएको हो ।

भोली कार्यालय खुल्ने

आन्तरिक राजस्व विभागले मातहतका कार्यालयले शनिबार कार्यालय खोल्न निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै कर तिर्ने प्रयोजनको लागि महिनाको अन्तिम दिन कार्यालय खोल्न भनेको हो ।

यस्तै, राष्ट्र बैंकले समेत बैंकहरुलाई भोलि (शनिबार) कर तिर्ने प्रयोजनकालागि बैंक खोल्न निर्देशन दिएको हो ।


क्लिकमान्डु