मंसिर अन्त्यसम्म सुनको मूल्य १ लाख २५ हजार पुग्ने प्रक्षेपण, किन आकासिँदै छ ?



काठमाडौं । मंसिर लागेपछि सुनको मूल्यले नयाँ-नयाँ रेकर्ड कायम गर्दै गएको छ । विगतमा कोरोना तथा रुस-युक्रेनबीच युद्ध चर्किएका बेला लगातार उकालो लागेको सुनले अहिले इजरायल र प्यालेस्टाइनबीचको युद्धको समयमा एकपछि अर्को रेकर्ड बनाइरहेको हो ।

मंसिर लागेपछि हरेक दिन सुनको मूल्यले इतिहास कायम गरेको छ । मंसिरका १८ दिनमा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढिसकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार मंसिर १ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ थियो । त्यसयता लगातार बढेर सोमबार १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य मंसिर ११ गते १ लाख ७ हजार रुपैयाँको रेकर्ड ब्रेक गर्दै १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको थियो । मंसिर १२ गते सुनको मूल्य बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भयो । त्यसयता हरेक दिन सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ ।

महासंघका अनुसार मंसिर १३ र १४ गते १ लाख १९ हजार ३ सय, मंसिर १५ गते १ लाख १९ हजार र मंसिर १७ गते सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्यले हरेक दिन रेकर्ड कायम गर्दै जाँदा व्यवसायी नै चकित छन् । महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड राख्नु आश्चर्यजनक रहेको बताए । उनका अनुसार बजारमा सुनको मूल्यले इतिहास कायम गर्दै जाँदा मंसिर अन्त्यसम्ममा १ लाख २५ हजार रुपैयाँ पुग्ने अनुमान भइरहेको छ ।

‘व्यवसायीहरुले मंसिरभरमा सुनको मूल्य प्रतितोला १ लाख २५ हजार पुग्ने अनुमान गरेका थिए,’ उनले क्लिकमान्डुसँग भने, ‘अहिलेको वृद्धि हेर्दा त्यस्तै हुने आधार देखिएको छ ।’

सुनको मूल्य उच्च तवरले बढ्दा २०८० सालको अन्त्यसम्ममा प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुग्ने प्रक्षेपण व्यवसायीको छ । कोरोना र रुस-युक्रेनबीको द्वन्द्वका बेला बढेको सुनले इजरायल-प्यालेस्टाइनको द्वन्द्वका बेला रेकर्ड बनाएको उनको भनाइ छ ।

‘अहिले सुनको मूल्य बढ्नुको मुख्य कारण इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व हो । यी दुई देशबीच द्वन्द्व हुँदा विश्वका शक्तिशाली राष्ट्रहरु पक्ष र विपक्षमा उभिएका छन् । त्यसको प्रभाव सुन बजारमा देखिएको छ,’ उनले भने ।

पछिल्लो समय अधिकांश व्यवसायीले सुन खरिदमा जोड दिएका छन् । बैंकमा रहेको रकम झिकेर व्यवसायीले सुन किनेर रिजर्भ गर्न थालेकाले पनि मूल्य बढेको उनले बताए ।

त्यसैगरी, चीनको केन्द्रीय बैंकले हप्ता दिनअघि मात्रै १७.६ टन सुन किनेर रिजर्भ बढाएको छ । चीन सरकारले सुनको रिजर्भ बढाएका कारण पनि मूल्य अकासिएको बताइन्छ । हरेक वर्ष चीनले सुन खरिद गरी सयौं टन रिजर्भ राख्दै आएको छ ।

सुनको मूल्यलाई डलरको भाउले पनि धेरै प्रभाव पार्छ । डलरको भाउ घट्दा सुनको मूल्य बढ्ने र डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने प्रवृत्ति छ । तर, अहिले डलरको भाउ उकालो लागिरहँदा पनि सुनको मूल्य बढिरहेको छ ।

‘डलरको भाउ बलियो भए पनि मानिसले विश्वास गर्न सकेका छैनन् । जसले गर्दा डलर खर्च गरेर सुनमा लगानी गरेको पाइएको छ,’ शाक्यले भने, ‘विश्वमा उत्पादन भएको सबै सुन खपत हुँदा र माग बढ्दै जाँदा मूल्यले पनि नयाँ रेकर्ड कायम गर्दै गएको हो ।’

मूल्यवृद्धिले मुख्य सिजनमै छैन व्यापार

हरेक दिन सुनको मूल्य बढ्दा मुख्य सिजनमै कारोबार भने सुस्ताएको छ । मंसिर महिना बिहेको सिजन भएकाले सुनको माग उच्च हुने गर्छ । तर, यो वर्ष ३० प्रतिशत पनि व्यापार हुन नसकेको व्यवसायी बताउँछन् ।

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्यले महँगीका कारण ३० प्रतिशत पनि व्यापार हुन नसकेको बताए । विगतका वर्षहरुमा मंसिरमा दैनिक ४० देखि ५० किलो सुन खपत हुन्थ्यो, अहिले २०-२२ किलो पनि खपत हुन सकेको छैन । ‘अहिलेको अवस्थामा यो व्यापार भनेको नगन्य जस्तै हो,’ उनले भने ।

व्यवसायीहरु चाडपर्व र सिजनबाहेकको समयमा नै दैनिक २० देखि २५ किलोसम्म सुन बिक्री हुने बताउँछन् ।


क्लिकमान्डु