वागमती प्रदेशमा निर्माण भयो पाउडर दूधको प्लान्ट, परीक्षण उत्पादन सुरु
काठमाडौं । वागमती प्रदेश सरकारले खपतभन्दा बढी भएको दूध खेर जान नदिन हेटौंडाको न्युरेनीस्थित सिसौंघारीमा पाउडर दूधको प्लान्ट निर्माण गरेको छ ।
सरकारी स्वामित्व रहेको जग्गामध्ये २ विगहा जग्गामा यो कारखाना निर्माण गरिएको हो । वागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी मन्त्रालयको वागमती प्रदेश दुग्ध विकास बोर्डको लगानीमा यो कारखाना निर्माण भएको हो ।
तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यअवधीमा २०७७ पुष १ गते शिलन्यास भएको यो कारखानाले बिहिबार र शुक्रबार गरी दुई दिन पाउडर दूधको परीक्षण उत्पादनसमेत सुरु गरेको छ ।
बहुवर्षिय योजना अन्तर्गत यो कारखाना निर्माण गर्न हालसम्म वागमती प्रदेश सरकारको ४७ करोड रुपैयाँ खर्च भइसकेको छ । बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त कारखानाको निर्माण अवधी लम्बिदैं जाँदा लागत ४७ करोड पुगेको हो ।
कारखानामा मेसिनरी उपकरण आपूर्ति र जडानको ठेक्का पाएको इजी इन्फ्रा कम्पनी काठमाडौंले आवश्यक उपकरण जडान गरेपनि परीक्षण उत्पादन सुरु भएको उपाध्यक्ष सापकोटाले क्लिकमाण्डुलाई बताए ।
‘कारखानाको निर्माण सम्पन्न गरी बिहिबार र शुक्रबार दुई दिन पाइपलाइज लिकेंज, प्राविधिक, पाउडर दूधको गुणस्तरलगायतको बिषयमा परीक्षण गर्न परीक्षण उत्पादन गरेका छौं,’ उपाध्यक्ष सापकोटाले भने,‘अहिलेसम्म त्यस्तो कुनै त्रुटी फेला परेको छैन् । पूर्ण रुपमा परीक्षण उत्पादन भएपछि आवश्यक प्रक्रिया मिलाएर नियमित रुपमा कारखाना सञ्चालनमा ल्याइनेछ ।’
किसानले उत्पादन गरेको दुध बजार नपाएर बिक्री हुन नसकेको अवस्थामा यो कारखाना निर्माणले ठूलो राहत भएको सापकोटाका भनाई छ ।
व्यवसायिक रुपमा कारखाना सञ्चालनमा आएपछि हेटौडा वरिपरीका विभिन्न जिल्लाका २५ हजार किसानले प्रत्यक्ष रुपमा फायदा उठाउन सक्ने उनले बताए । यो कारखानाबाट दैनिक ६० हजार लिटर दूध प्रशोधन गरी पाउडर दूधमा परिणत गर्न सकिने बोर्डले जनाएको छ ।
‘अहिले दूध अत्यधिक उत्पादन समय पनि हो,’ उनले भने,‘अफ सिजनमै उत्पादन भएको दूधको खपत दर घटेर बिक्री हुन नसकेर खेर गइरहेको थियो । अहिले झन बढि परिमाणमा दूध उत्पादन भएर खपत हुन सकेको छैन । यस्तो अवस्थामा निर्माण भएको कारखानाका कारण बढी भएको कच्चा दूधलाई पाउडरमा परिणत गर्न ठूलो सहयोग पुग्नेछ ।’
मधेश, वागमती र लुम्बिनी प्रदेशलाई नजिक हुने गरी यो कारखाना हेटौडामा निर्माण गरिएको हो । तीनवटै प्रदेशमा खपतभन्दा बढी भएको दूधलाई संकलन गरी यो कारखानाको सहयोगमा पाउडर दूधमा परिणत गर्न सहज भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।
दैनिक ५ मेट्रिक टन पाउडर दुध उत्पादन गर्ने क्षमता यो कारखानाको छ । कारखाना सञ्चालनका लागि आवश्यक पर्ने कच्चा दूध बागमतीका १३ जिल्लाका साथै मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँलगायतका जिल्लाबाट दूध संकलन गरी ल्याउनुपर्ने दाहालले बताए ।
कात्तिकदेखि माघसम्म सबैभन्दा बढी दूध उत्पादन हुने सिजन हो । कम उत्पादन हुने समय फागुनदेखि असोजसम्म उत्पादन भएको दूधले नै बजार पाउन नसकेको समयमा अहिले बढी उत्पादन हुने सिजनको दूध खपत गर्न ठूलो चुनौती थपिएको छ ।
एशोसिएसनका अध्यक्ष दाहालका अनुसार कारखाना सञ्चालन हुने अवस्थामा पुगेपनि पछिल्लो १ बर्षदेखि तयार भएको तर बिक्री हुन नसकेको मख्खन र पाउडरले सबै गोदाम भरिएका छन् ।
‘यस्तो अवस्थामा अहिले बढी भएको दूध हेटौडा कारखानाबाट पाउडर बनाउँदा राख्ने कहाँ भनेर अर्को समस्या पनि थपिएको छ,’ दाहालले भने,‘पुरानै स्टक रहेको मख्खन र पाउडर दूध बिक्री नभएको अवस्था छ ।’
बिक्री हुन नसकेर सरकारी र नीजि क्षेत्रसँग अहिले ७ अर्ब रुपैयाँबराबरको पाउडर दूध र मख्खन स्टक बसेको छ ।
हेटौडाको यो नयाँ कारखानासहित अहिले देशभर गरी ७ वटा पाउडर दूध बनाउने कारखाना छन् । यसमध्ये भक्तपुरको खरिपाटी, पोखराको सुजल, चितवनको चितवन मिल्क, बिराटनगरको दुग्ध बिकास संस्थान(डीडीसी) र नीजि क्षेत्रको सुर्योदय र इटहरीको तरहरास्थित सगरमाथा पाउडर दूध कारखाना सञ्चालनमा छन ।
दाहालकाअनुसार उपभोग दर घटेका कारण खपत हुन नसक्दा अहिले दैनिक ५ लाख लिटरले बजार पाएको छैन । देशभर दैनिक ३१ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये २६ लाख लिटर दूध मात्रै बजारमा बिक्री भइरहेका छन् ।
आर्थिक मन्दीका कारण सानादेखि ठूला रेष्टुँरा निक्कै कम परिमाणमा चलेका कारण दूधको खपत घटेको, सर्वसाधारणको क्रयशक्ति घटेर धेरै जना काठमाडौंबाट बाहरिनुका साथै राजधानीमै बशोबास गर्ने सर्वसाधारणले पनि खरिद परिमाण घटाएको र युवापुस्ता विदेशिनुले पनि दूधको खपत दर घटेको दाहालको भनाई छ ।
‘यसबाहेक गाईभैसीमा देखापरेको लम्पी स्किन रोगका कारण पनि सर्वसाधारणले त्रासका कारण दूधको खपत दर घटाएका छन,’ दाहालले भने,‘यस्तै भारतबाट सस्तो मूल्यको दूध अवैध रुपमा नेपालमा भित्रिंदा स्वदेशी दूध बिक्री नहुँदा उद्योगलाई मार परेको हो ।’
दूधको खपत दर घटेपछि सरकारी र नीजि क्षेत्रका डेरी उद्योगले किसानले पाउनुपर्ने करिब ५ अर्ब रुपैयाँ अहिलेसम्म भुत्तानी पाएका छैनन् ।
यति छिट्टै यो पाउडर दुध उद्योग यहाँसम्म बन्ला भन्ने आफूलाई नलागेको तर चाँडै काम अगाडि बढेकोमा खुशी ब्यक्त गर्दै बोर्डका संचालक सदस्य एवं नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यसको श्रेय उपाध्यक्ष सापकोटालाई दिनुपर्ने भन्दै जिवनभर दुग्ध क्षेत्रमा वहाँले बिताउनु भएको अनुभवले गर्दा यस क्षेत्रको मर्म वहाँलाई राम्रोसँग थाहा भएको कुरा अध्यक्ष दाहालले बताए ।
कारखाना सञ्चालनका जिम्मा तत्कालका लागि डीडीसीलाई
वागमती प्रदेश दुग्ध विकास बोर्डले हेटौडामा निर्माण भएको पाउडर दूध कारखाना सञ्चालनको जिम्मेबारी तत्कालका लागि दुग्ध विकास संस्थान(डीडीसी) लाई दिने जनाएको छ ।
बोर्डका उपाध्यक्ष सापकोटाले डीडीसीसँग दक्ष जनशक्ति भएकाले बोर्डको स्वामित्व रहने गरी तत्कालिका लागि सञ्चालनको लागि डीडीसीलाई जिम्मा दिने तयारी भइरहेको छ ।
‘तत्कालको अवस्थामा डीडीसीलाई नै उद्योग चलाउन दिने र नितिगत रुपमा सञ्चालनसम्बन्धी कार्यविधि बनेपछि सोही अनुसार सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ बोर्ड उपाध्यक्ष सापकोटाले भने । यसबाहेक सहकारी, निजि र दुग्ध विकास बोर्डले साझा मोडल बनाएर पनि यो कारखाना सञ्चालनमा ल्याउन सकिन्छ की भनेर छलफलमा जुटेको छ ।