वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई ७ दिने स्पष्टीकरण, ‘एकाउन्टेबल म्यानेजर’बाट किन नहटाउने ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू)को कालोसूचीबाट नहटेपछि प्राधिकरणको शुक्रबार अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कालोसूचीबाट नहट्नुमा निगमले यसअघि गरेको प्रतिबद्धता पूरा नहुनु कमजोरी देखियो । निगमले नियामकलाई नटेरेको र कमी कमजोरीमा सुधार नगरेको देखिएकै कारण शुक्रबार अन्तिमपटकका लागि स्पष्टीकरण सोधिएको उनले बताए ।

प्राधिकरणले बेला-बेलामा दिएको निर्देशन पालना नगरेको र यसअघि सोधिएको स्पष्टीकरणमा गरेको प्रतिबद्धतासमेत पालना नभएकाले पुनः स्पष्टीकरण सोधिएको निरौलाले बताए ।

उनका अनुसार प्राधिकरणले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए अधिकारी ‘एकाउन्टेबल म्यानेजर’बाट हट्छन् । प्राधिकरणकै सिफारिसमा वायुसेवा कम्पनीमा एकाउन्टेबल म्यानेजर तोक्ने गरिएको छ ।

प्राधिकरणले निगमले हालसम्म एकाधिकार पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई पनि प्रतिस्पर्धाबाट दिने निर्णय गरेको छ । पहिलो चरणमा काठमाडौंको विमानस्थलमा प्रतिस्पर्धा हुने र त्यसपछि अरु अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

ग्राउन्ड ह्यान्डलिङका विषयमा प्राधिकरणले आवश्यक तयारी गरेर सार्वजनिक प्रस्ताव आह्वान गर्नेछ । उपयुक्त प्रस्ताव बनाएर प्रतिस्पर्धामा आए निगमले नै निरन्तरता पाउन पनि सक्छ तर यसका लागि प्राधिकरणले भने खुला प्रतिस्पर्धा गराउने निरौलाले बताए ।

यस अघि २० वैशाखमा पनि प्राधिकरणले अधिकारीलाई ३ दिने स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगरेको र जिम्मेवारी बहन गरेको व्यक्तिबाटै गैरजिम्मेवारी काम भएको भन्दै प्राधिकरणले त्यतिबेला अधिकारीलाई स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणले मन्त्रिपरिषद्‍बाट २०७८ चैत ३० मा स्वीकृत भई गत जेठ १४ बाट कार्यान्वयनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ कार्यान्वयन नगरेको पनि उल्लेख गरेको थियो ।

नियमावलीको नियम (५) को उपनियम (७) मा भएको ‘विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा उपलब्ध गराउन अनुमतिप्राप्त संस्थाले संकलन गर्ने भूमिस्थ प्रबन्ध सेवा शुल्क प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ’ भन्ने कानुनी व्यवस्था निमगले कार्यान्वयन नगरेको उल्लेख गरिएको थियो ।

त्यतिबेला पनि प्राधिकरणले नीतिगत निर्णय कार्यान्वयनमा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति निगम अध्यक्ष नै भएकाले उनलाई एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भन्ने विषयमै स्पष्टीकरण सोधेको थियो ।

कानुनी व्यवस्थाबमोजिम वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएबापत दिने छुट नदिएको भन्नेसहितको विषयमा निगम अध्यक्षलाई स्पष्टीकरण सोधिएको थियो ।


क्लिकमान्डु