१७ दिनसम्म सुरुङमा पुरिएका ४१ भारतीय कामदारको यसरी गरियो सकुशल उद्धार
एजेन्सी । भारतको उत्तरकाशीस्थित एक सुरुङमा पुरिएका ४१ भारतीय कामदारको सकुशल उद्धार भएको छ ।
भारतको उत्तरकाशीस्थित सिलक्यारा सुरुङमा १२ नोभेम्बरमा ४१ मजदुर पुरिएका थिए । भारतीय सञ्चारमाध्यम भाष्करका अनुसार १२ नोभेम्बरमा सुरुङको मुख्य गेटको २ सय मिटर भित्रसम्म ठूलोमात्रामा गेग्रान र पानी भरिएको थियो । टनेलबाट पानी निकाल्न प्रयोग हुने पाइपमार्फत अक्सिजन, दवाई, पानी तथा खानाहरु मजदुरका लागि पठाउन थालिएको थियो ।
भारधाम रोड प्रोजेक्टको हिस्सा रहेको यो सुरुङमा पुरिएका मजदुरलाई बाहिर निकाल्न सुरुङको २५ मिटरसम्म पाइप राख्न सुरु गरिएको थियो । तर, पुनः गेग्रान खसेपछि काम रोकिएको थियो ।
लगातार सुरुङको माटो भासिएपछि भारत सरकारले नर्वे र थाइल्यान्डका विशेषज्ञहरुसँग सल्लाह गरेर काम गरेको थियो । १४ नोभेम्बरबाट ड्रिलिङ मेसिनको प्रयोग र हाइड्रोलिक ज्यानमार्फत उद्धार सुरु गरिएको थियो ।
तर, उक्त प्रयास पनि असफल भएको थियो । यो असफलता तथा उद्धारमा भइरहेको ढिलाइका कारण सुरुङबाहिर भारतीय उद्धारकर्ता टोली तथा मजदुरका परिवारबीच झडप पनि भएको थियो ।
भारतीय प्रधानमन्त्री कार्यालयको हस्तक्षेप पश्चात भने सुरुङमा फसेका मजदुरलाई उद्धार गर्न २ सय हर्सवापरको अमेरिकन ड्रिलिङ मेसिनको प्रयोग गरिएको थियो । १६ नोभेम्बरमा उक्त मेसिन जडान गरिएको थियो ।
१७ नोभेम्बरमा जमिनमुनि ड्रिलिङ गरिरहँदा ढुंगा भेटिएपछि मेसिनलाई पुनः रोकिएको थियो । १९ नोभेम्बरमा पुनः काम सुरु गरिएको थियो ।
२० नोभेम्बरमा अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञ आर्नल्ड डिक्सले उत्तरकाशी पुगेर अवलोकन गरेपछि भर्टिकल ड्रिलिङका लागि २ ठाउँ छुट्याएका थिए । त्यसपश्चात पुनः भर्टिकल ड्रिलिङबाट उद्धार सुरु गरिएको थियो ।
२१ नोभेम्बरमा एन्डोस्कोपीमार्फत क्यामेराभित्र पठाएर मजदुरहरुको अवस्थाको अवलोकक गरिएको थियो । उनीहरु सबै सकुशल भएको पुष्टि भएपश्चात ३ वटा उद्धारका योजना बनाएर काम सुरु गरिएको थियो ।
यो समयमा निरन्तर पाइपमार्फत नै मजदुरहरुका लागि खाना, पानी र औषधि पठाइएको थियो । २२ नोभम्बरमा मजदुरका लागि खाजा, खानालगायत पठाउन सफलता मिलेको थियो ।
तर, २३ नोभेम्बरमा ड्रिलिङ मेसिनको प्रयोगले जमिन भासिएपछि पुनः मेसिन रोक्नुपरेको थियो । २४ नोभेम्बरमा मेसिनको ड्रिलिङ भइरहेको बाटोमा स्टिलको पाइप भेटिएपछि मेसिन रोक्नुपरेको थियो ।
शुक्रबार रोकिएको ड्रिलिङ शनिबार पनि रोकियो । मेसिनमा समस्या आएका कारण दोस्रो योजनामा काम गर्न थालियो । २६ नोभेम्बरमा मजदुरलाई बाहिर निकाल्न पहाडको फेदबाट भर्टिकल ड्रिलिङ गरिएको थियो ।
२७ नोभेम्बरको बिहान ३ बजेसम्म मेसिनले ड्रिलिङ गरेको थियो । सँगै ‘र्याट माइनर्स’हरुले म्यानुअल ड्रिलिङ गरेका थिए । र्याट माइनर्सहरुले मुसाले जस्तै जमिनमुनि सुरुङ बनाउने शैली अपनाएर काम गर्छन् ।
२८ नोभेम्बरको दिउँसो साढे १ मा भने ब्रेक थ्रु भएको थियो । मजदुरलाई राति साढे ७ बजे सुरुङबाट बाहिर निकालिएको थियो । १७ दिनसम्म सुरुङमा पुरिएका सबै मजदुरलाई भारत सरकारले सकुशल उद्धार गरेको हो ।
अन्तिम दिन सुरुङको ब्रेक थ्रु भएपश्चात पनि करिब ६ घण्टासम्म उद्धारको काम चलेको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार उनीहरुलाई स्टेचरमा राखेर स्टिलको पाइपबाट निकाल्दा करिब १ घण्टाको समय लाग्ने गरेको थियो ।
उद्धारकर्ता टोलीका नेतृत्वकर्ता वाकिल हस्सनले भनेका छन्, ‘उनीहरुको स्वास्थ्य एक दम ठीक छ तपाईं र हाम्रो जस्तै । स्वास्थ्यको बारेमा कुनै चिन्ता लिनुपर्ने अवस्था छैन ।’