विगतका सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीतिकै कारण जग्गा, घर, गाडी र भ्यु टावरमा लगानी बढ्यो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतका अदूरदर्शी मौद्रिक तथा वित्त नीतिका कारण अहिलेको आर्थिक अवस्था सिर्जना भएको बताएका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कर सप्ताह समापन समारोहमा अर्थमन्त्री महतले कोरोना र भूकम्पका साथै दूरगामी परिस्थिति नहेरी ल्याएका मौद्रिक र वित्त  नीतिका कारण अहिले समस्या निम्तिएको उनले बताएका हुन् ।

‘मौद्रिक नीति र वित्त नीतिमा गहन अध्ययन गर्दा आवश्यकभन्दा बढी कर्जा प्रवाह भएको देखिन्छ,’ उनले भने, ‘अहिले ती समस्या समाधान भइरहेका छन् ।’

सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीतिकै कारण जग्गा, घर, गाडी र भ्यु टावर जस्ता अनुत्पादक क्षेत्र, सेयर बजार र क्रिप्टोमा लगानी बढेको उनको दाबी छ  ।

‘अब लगानी गर्दा प्रतिफल आउने ठाउँमा मात्रै लगानी गर्नुपर्छ,’ बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै उनले भने, ‘राम्रो ठाउँमा लगानी गर्नेलाई समस्या परेको छ भने राज्यले सहजीकरण गर्छ  ।’

बैंकबाट कर्जा लिएर तिर्नु पर्दैन भन्ने प्रवृत्तिले स्थान पाउन थालेको भन्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरे । ‘नेपालमा पेट भोको राखेर फोनमा खर्च गर्ने प्रवृत्तिमात्र बढेको छैन, यो देशमा बसेर केही हुँदैन भन्ने भाष्य पनि सिर्जना गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

सत्यको मुख बन्द भएपछि झुटोको थुतुनो चल्न थालेको उनको भनाइ छ । झुटो स्थापित हुन थाल्यो भने सही नै त्यही हो कि जस्तो लाग्ने महतले बताए ।

अहिले आर्थिक समस्या समाधान उन्मुख भएको अर्थमन्त्रीको दाबी छ । ‘जलविद्युतले लय पक्रेको, कार्बन उत्सर्जन घटाउने भएका कारण जलविद्युत प्राथमिकतामा रहेको, लगानी बढन थालेको छ,’ उनले भने, ‘जलविद्युतमा विश्वभरबाट लगानी आउने विश्वास बढेको छ ।’

देशमा पर्यटक आगमन बढेको र यो वर्ष धेरै पर्यटक आउने उनले बताए । पर्यटक बढाउन सरकारले पर्यटन पूर्वाधारमा लगानी बढाइरहेको जानकारी उनले गराए ।

नेपालमा हजारौं युवा आईटीमा लागेकाले सरकारले यसलाई प्राथमिकतामा राखेको  मन्त्री महतको भनाइ छ । अहिले साधारण खर्च घटेको र पुँजीगत खर्च बढेको उनले बताए ।

निर्माण व्यवसायीको पनि अब एक-डेढ अर्बमात्रै भुक्तान गर्न बाँकी रहेको उनले जानकारी दिए । ‘मन्त्रालयमा आएका सबै फाइलको बिल भुक्तानी गरिसकेका छौं,’ महतले भने, ‘अन्य मन्त्रालयसँग बिल भए दिन आग्रह गरेका छौं, जहाँबाट निकालेर भए पनि पैसा दिन्छौं ।’

बोर्डरमा हुने लिकेज रोक्न सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘व्यक्तिगत लाभ लिने काम भने स्वीकार्य हुने छैन,’ उनले भने । राजस्व प्रशासनका कर्मचारीलाई उनले ‘मन्त्री भन्दै गर्छ’ भनेर आलटाल नगर्न अर्थमन्त्रीले चेतावनी दिए ।

भनेको ठाउँमा नजाने र एउटा भन्सारबाट अर्कोमा नजाने कर्मचारीको तलब भत्तासमेत रोक्न अर्थ सचिवलाई निर्देशन दिएको उनले जानकारी गराए । अब परिणामका आधारमा पोस्टिङ गरिने र तीन-तीन महिनामा रिपोर्टिङ गरिने मन्त्री महतले बताए ।

गाडीमा ३०० प्रतिशतसम्म कर लिने गरेको तर अहिले विद्युतीयमा जाँदा कर नउठ्ने भएकाले आन्तरिक राजस्वका हाकिमलाई रणनीति परिवर्तन गर्न उनले आग्रह गरे । डिपार्टमेन्ट स्टोर र मल आउँदा साना पसल बन्द हुन थालेको उनको तर्क छ ।

‘अहिले साना-साना स्टोरमा चुनौती छ, पसल खोल्दा बजारको अवस्था हेर्न जरुरी छ,’ मन्त्री महतले भने, ‘१५ वटा पनि घर नभएको ठाउँमा पसल खोल्दा कारोबार हुँदैन ।’ डिजिटल बिजनेस बढेको भन्दै उनले अब त्यता लाग्न सुझाव दिए ।


क्लिकमान्डु