यी हुन् बैंकले देखेका समस्या तथा चुनौती, कुन बैंकले के देखे ?



काठमाडौं । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकको नाफा करिब २८ प्रतिशतले घटेको छ । बैंकको लगानीमा प्रतिफल (आरओई) पनि निकै कम छ अर्थात् १०० रुपैयाँ लगानी गर्नेले करिब साढे ८ रुपैयाँमात्रै हात पार्ने अवस्था छ । अर्थतन्त्रमा देखिएको संकटको प्रत्यक्ष असर वाणिज्य बैंकहरुमा पनि परेको छ ।

हरेक वर्ष नाफा घट्दै जानु तथा सोचेअनुसार प्रगति गर्न नसक्नुमा विभिन्न आन्तरिक तथा बाह्य कारण रहेको बैंकहरुको तर्क छ । विभिन्न बैंकहले समस्या र चुनौती सामना गरिरहेको जनाएका छन् । त्यस्ता चुनौती सामना गर्ने योजनासमेत बैंकहरुले बनाएका छन् ।

अधिकांश बैंकले देखेका आन्तरिक तथा बाह्य चुनौती उस्तै खाले छन् भने केहीको केही फरक पनि रहेका छन् । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार अधिकांश बैंकले कोरोना महामारीको असर, खराब कर्जा, विश्व आर्थिक मन्दीलगायत उस्तै खाले समस्या देखेका छन् ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले विभिन्न आन्तरिक तथा बाह्य चुनौती देखेको छ । बैंकले देखेको आन्तरिक चुनौतीमा बढ्दो निष्क्रिय कर्जा र बढ्दो बढ्दो सञ्चालन लागत रहेको छ । यस्तै बाह्य चुनौतीमा रुस-युक्रेन र मध्यपूर्वमा देखापरेको द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा मन्दीको खतरा, सरकारी विकास खर्चमा कमी रहेको छ ।

यस्तै चुनौती सामना गर्न बैंकले केही रणनीतिसमेत बनाएको जनाएको छ । बैंकले बनाएको रणनीतिमा नवीनतम् प्रविधि प्रयोग गरी उत्कृष्ट सेवा प्रदान गर्ने, नयाँ क्षेत्रहरुमा लगानी एवं अवसरहरुको निरन्तर खोजी गर्दै जाने, कर्मचारीहरुको निरन्तर वृत्ति विकासमा जोड दिने रहेको छ ।

यस्तै प्रतिस्पर्धी क्षमताको विकास गर्दै जाने, विवेकशील जोखिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्दै जाने, उत्पादनशील क्षेत्र कर्जा लगानी वृद्धिको लागि सम्भाव्य अवसरहरुको खोजी गर्ने, उपभोक्ता कर्जा र साना तथा मझौला कर्जा प्रवाहमा जोड दिने, चल्ती तथा बचत निक्षेपमा जोड दिने, मितव्ययी खर्चमा जोड दिने र डिजिटल बैंकिङ गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउने रहेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले विभिन्न आन्तरिक तथा बाह्य चुनौती देखेको छ । बैंकले देखेको आन्तरिक चुनौतीमा गत वर्ष सम्पन्न मर्जरका कारण बैंकको जनशक्ति, व्यवसाय तथा सञ्जालमा भएको आकस्मिक वृद्धिसँगै सञ्चालन जोखिम र व्यवस्थापन खर्चमा मितव्ययिता अपनाउनु रहेको छ ।

यस्तै कर्जाको गुणस्तर अभिवृद्धि गरी कर्जा असुलीको माध्यमबाट निष्क्रिय कर्जाको मात्रा न्यूनस्तरमा कायम गर्नु, बैंकहरुमा रहेको अतिरिक्त तरलताको गुणस्तरीय कर्जामा लगानी र यसको उचित व्यवस्थापन गर्नु, सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै गर्दा यसमा हुने अन्तरनिहित जोखिमहरुको समयमै पहिचान र तिनीहरुको उचित व्यवस्थापन गर्नु, बैंकको सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित खर्चहरुमा थप मितव्ययिता अपनाई पुँजीमा अपेक्षित प्रतिफल दिनु, बैंकमा कार्यरत दक्ष जनशक्तिमा भएको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग गर्नु तथा जनशक्तिको पलायन दर कम गर्नु रहेको छ ।

यस्तै बैंकले देखेको बाह्य चुनौतीमा देशको अर्थतन्त्रमा उत्पन्न प्रतिकूलतासँगै सिर्जित तरलता अभावबाट व्यवसायमा आएको असर र यसले बैंकको कर्जाका साँवा तथा ब्याज भुक्तानीमा पारेको समस्या, विद्यमान अवस्थामा दिगो बैंकिङ कारोबारको विस्तार तथा लगानीकर्ताको अपेक्षित प्रतिफल रहेको छ । बैंकहरुमा देखिएको न्यून कर्जा वृद्धि र निक्षेपको अस्थिर ब्याजदर, बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा तथा त्यसको असुली रहेको छ  ।

प्रविधिको विकाससँगै यसले निम्त्याएका जोखिम, नियमनकारी निकायबाट जारी हुने नीति तथा निर्देशनहरुबाट हुने सञ्चालन खर्चको वृद्धि तथा आम्दानीमा आउन सक्ने संकुचनका कारण अपेक्षित नाफामा हुने कमी र हाल बैंकिङ क्षेत्रमा भएका ठुला मर्जरका कारण बैंकिङ व्यवसायमा आउने विभिन्न चुनौतीहरु रहेको बैंकले जनाएको छ ।

यो समस्या र चुनौती कम गर्न भन्दै बैंक व्यवस्थापनले केही रणनीतिसमेत बनाएको जनाएको छ । जसमा सम्पत्ति तथा दायित्वको व्यवस्थापन र पोर्टफोलियोको जोखिम अनुरूप विविधता कायम गर्ने, अर्थतन्त्रमा आएको शिथिलताले गर्दा असर परेका व्यावसायिक संस्था तथा व्यक्तिगत ग्राहकहरुसँग थप सहकार्य, कर्जाको पुनर्तालिकीकरण तथा पुन:संरचनाजस्ता उपायहरुको अवलम्बन गर्ने रहेको छ ।

यस्तै खर्चहरुको प्रभावकारी अनुगमन गर्ने तथा उच्च जोखिमयुक्त सम्पत्तिहरुको उचित व्यवस्थापन गर्ने, सञ्चालन, बजार तथा व्यापार जोखिम क्षेत्रहरुको अनुगमन र योजनाबद्ध रुपमा प्रभावकारी जोखिम व्यवस्थापन कार्य गर्ने, निष्क्रिय कर्जा असुली तथा व्यवस्थापनमा उच्च प्राथमिकता दिने रहेको छ ।

पुँजीकोष वृद्धि र अनुपालन तथा जोखिम व्यवस्थापन विभागको थप सबलीकरण गर्ने, समयसापेक्ष हुने गरी प्रविधिमा आधरित नयाँ-नयाँ बैंकिङ सेवा तथा सुविधाहरुको विकास र विस्तार गर्ने, कर्मचारी तालिम सम्बन्धमा योजनाबद्ध कार्यतालिकाको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम बैंकले विभिन्न आन्तरिक तथा बाह्य चुनौती देखेको जनाएको छ । बैंकले लेखेको आन्तरिक समस्या एवं चुनौतीहरुमा बैंकको तरलताको व्यवस्थापन तथा तरलताको कारणले ब्याजदर परिवर्तनले हुन सक्ने जोखिम रहेको छ ।

देशको कमजोर अर्थतन्त्रका कारण व्यावसायिक लगानीका अवसरहरुमा कमी आउने र बैंकको निष्क्रिय कर्जासमेत बढ्दै जाने जोखिम रहेको बैंकले जनाएको छ ।

यस्तै बैंकले देखेको बाह्य समस्या एवं चुनौतीमा कोभिड-१९ को महामारी र रुस-युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रसँगै मुलुकको अर्थतन्त्रमा समेत परेको नकारात्मक प्रभावबाट सम्पूर्ण बैंकिङ क्षेत्र नै प्रभावित हुन गएको र अनिश्चित समयसम्म प्रभाव पर्न सक्ने चुनौती रहेको देखेको छ ।

मुद्रास्फीति, आयातमुखी अर्थतन्त्र, शोधनान्तर घाटाका कारण वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आएसँगै समग्र अर्थतन्त्रमा सुस्तता देखिएको, कोभिड-१९ महामारीको तत्कालीन तथा सो घटनाक्रम पश्चातको नकारात्मक असरले व्यवसाय प्रभावित भएको कारणले ब्याज तथा ऋण असुलीमा चुनौती रहेको, देशको आर्थिक तथा राजनीतिक उतारचढावबाट उत्पन्न हुन सक्ने नीति निर्देशनबाट हुनसक्ने जोखिमहरु र कृत्रिम बुद्धिमता जस्ता नवीनतम सूचना प्रविधिको विकासले सिर्जना हुन सक्ने चुनौती रहेको जनाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले पनि विभिन्न आन्तरिक तथा बाह्य चुनौती देखेको छ । बैंकले देखेको आन्तरिक समस्या तथा चुनौतीमा बैंकको सञ्चालन खर्च वृद्धि हुँदै जानु, निक्षेप र कर्जाको ब्याजदरमा भएको उतारचढाव, आय विविधीकरण, निष्क्रिय कर्जाको व्यवस्थापन, उपयुक्त लगानीका क्षेत्र पहिचान तथा शाखाहरुको वृद्धि सँगसँगै सञ्चालन जोखिम व्यवस्थापन जस्ता आन्तरिक समस्या तथा चुनौती रहेको विद्यमान परिप्रेक्ष्यमा दीर्घकालीन रुपमा बैंकका समग्र सूचकहरुलाई सुधार गर्दै जाने कार्य चुनौतीपूर्ण रहेको छ ।

यस्तै बाह्य समस्या तथा चुनौतीमा बजारमा समग्र आर्थिक गतिविधिमा सुस्तता आएका कारण कर्जाको किस्ता तथा पाकेको ब्याज असुलीमा समस्या देखिएको र त्यसबाट निष्क्रिय कर्जा बढ्नुका साथै कर्जा नोक्सानी व्यवस्था बढ्न जाने हुँदा कर्जा जोखिम व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । यस्ता चुनौती रहेको अवस्थामा बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ ।

यस्तै बैंकिङ क्षेत्रबाट दक्ष जनशक्तिको पलायन, स्रोत परिचालनमा कमी हुनु, सूचना प्रविधिका क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौती, लगानीकर्ताको मनोबलमा कमी आउनु, सरकारी खर्चमा कमी आउनुलगायत प्रमुख बाह्य समस्या हुन् । यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोबार दिगो रुपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखी लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको जनाइएको छ ।

यस्तै बैंकले आन्तरिक तथा बाह्य चुनौती पार गर्न विभिन्न रणनीति बनाएको छ । जसमा बैंकले ग्रामीण तथा दुर्गम क्षेत्र र बैंकिङ सेवाबाट वञ्चित व्यक्ति तथा संघ-संस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउनुका साथै बैंकका अन्य सेवाहरुको आक्रामक रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ सुविधा प्रदान गर्ने रहेको छ ।

यस्तै समयसापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास गर्ने, विभिन्न व्यावसायिक संघ-संस्थालगायत व्यक्तिगत ग्राहकसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटोछरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराउने, बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई मजबुत बनाई उल्लिखित चुनौतीको समाधान गर्ने रहेको छ ।

यस्तै बैंकको आन्तरिक कार्य प्रणाली स्वचालित तथा कागजरहित बनाई खर्च मितव्ययितामार्फत निर्धारित लक्ष्य प्राप्त गर्ने तथा ग्राहक सेवासुविधा चुस्त दुरुस्त बनाउने रणनीति अवलम्बन गरेको जनाएको छ । साथै बैंकले निष्क्रिय कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको पहिलो त्रैमासमा विभिन्न  समस्या तथा चुनौती  देखेको छ । बैंकले देखेको चुनौती तथा समस्यामा बैंकिङ क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, निक्षेपको कमीले लगानी विस्तारमा संकुचन, बढ्दो मुद्रास्फीति दर तथा अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिदृश्यमा हुने अनपेक्षित उतारचढाव छोटो अन्तरालमा हुने ब्याजदर परिवर्तनलाई समस्या तथा चुनौतीको रुपमा लिएको छ ।

यस्तै मानव संसाधनमा हुने परिवर्तनलाई आन्तरिक समस्या तथा चुनौतीको रुपमा लिएको छ । काबुभन्दा बाहिरको परिस्थितिबाहेक उपरोक्त चुनौती समाधान गर्न व्यवसाय विविधीकरण, ग्राहकमुखी गुणस्तरीय सेवा तथा खर्चमा मितव्ययिता, मानव संशाधन विकास आदि क्षेत्रमा लगानी गर्ने रणनीति लिएको बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले असोज मसान्तसम्मको वित्तीय अवस्था प्रकाशन गर्दै गर्दा केही समस्या देखेको छ । बैंकले देखेको समस्या तथा चुनौतीमा ब्याज तथा गैरब्याज आम्दानीको वृद्धिमा चुनौती छ । बढ्दो सञ्चालन खर्च तथा निष्क्रिय कर्जा रहेको छ ।

बैंकले देखेको बाह्य समस्या र चुनौतीमा कर्जाको माग तथा निक्षेप वृद्धिमा सन्तुलन नहुनु, सूचना प्रविधिको क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरूमा मुद्रास्फीति तथा ब्याजदर वृद्धिको कारण सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको संकुचनबाट उत्पन्न हुनसक्ने जोखिमहरू तथा असुलीमा चाप हुनु, नीति निर्देशन तथा कानुनहरूमा हुने परिवर्तनले उत्पन्न हुनसक्ने सम्भावित चुनौतीहरू रहेको जनाएको छ ।

यस्ता समस्या तथा चुनौती न्यूनीकरण गर्न बैंकले केही रणनीति तयार पारेको छ । जसमा निक्षेप तथा कर्जाको विविधीकरण, आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड दिने, समयसापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, पुँजीकोष वृद्धि गर्ने, निष्क्रिय कर्जा न्यूनीकरण गर्ने र समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरूको मजबुतीकरण गर्ने रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले पनि विभिन्न आन्तरिक तथा बाह्य चुनौती देखेको जनाएको छ । बैंकले देखेको समस्या तथा चुनौतीमा संगठित संस्थाले बहन गर्नुपरेको समस्या तथा चुनौती स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने नियमित कर्मचारी आपूर्ति हुन नसक्दा न्यून कर्मचारीमा व्यवसाय सञ्चालन गर्ने तथा सञ्चालन लागत र ब्याज खर्च व्यवस्थापन गर्न चुनौती ठानेको छ ।

बैंकले देखेको बाह्य समस्या तथा चुनौतीमा विश्व अर्थतन्त्रमा देखिएको मन्दी र यसले पारेको प्रभाव, समय समयमा हुने नीतिगत र कानुनी व्यवस्थामा परिवर्तन, सूचना प्रविधिको क्षेत्रमा चुनौती र अनुपालना लागतमा वृद्धि रहेको छ ।

उक्त समस्याको समाधान तथा चुनौतीहरुको सामना गर्न बैंकले थप सजगताका साथ समग्र सञ्चालन प्रणालीमा समय सापेक्ष सुधार गर्दै आएको छ । उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी व्यवसाय वृद्धि तथा विविधीकरणमा प्रभावकारिता हासिल गरिएको छ ।

प्रतिस्पर्धी ब्याजदर कायम गर्न सञ्चालन खर्चमा कटौती र न्यून लागतको निक्षेप र दीर्घकालीन स्रोत संकलनमा जोड दिँदै कर्जा निक्षेप सम्मिश्रणलाई थप सन्तुलित बनाउँदै लगिएको छ । व्यवसायमा थप नियन्त्रण हुने गरी केन्द्रीकृत व्यवसायको अवधारणा अवलम्बन गरिएको छ । डिजिटल बैंकिङ कारोबारलाई छिटो गर्दै लगिएको जनाएको छ ।

लामो अवधिको स्रोत परिचालनका लागि बाह्य स्रोतको रुपमा (विदेशी मुद्रामा सापटी लिने, विभिन्न दातृ निकायहरुबाट लामो अवधिको कर्जा लिने आदि) र आन्तरिक स्रोतको रुपमा कृषि ऋणपत्र जारी गर्दै लाने नीतिलाई निरन्तरता दिइने जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले देखेका समस्या तथा चुनौतीमा संगठित संस्थाले शाखा विस्तार तथा मुद्रास्फीतिको कारणले सञ्चालन खर्चमा हुने वृद्धि, बैंकबाट प्रदान गरिने दीर्घकालीन, मध्यकालीन, चालु पुँजी जस्ता कोषमा आधारित कर्जा तथा प्रतितपत्र, जमानत पत्र जारी गर्ने जस्ता गैरकोषीय सेवाहरू उपलब्ध गराउँदा हुनसक्ने सम्भावित जोखिम रहेका छन् ।

बैंकको आधारभूत संरचना एवं प्राविधिक विकासमा हुन सक्ने खर्च र त्यसको व्यवस्थापनमा हुन सक्ने जोखिम रहेको छ । सम्पत्ति शुद्धीकरण निवारणसँग गाँसिने बैंकका आन्तरिक नियम र नियन्त्रण प्रक्रियामा निहित जोखिम, निक्षेप तथा कर्जा लगानी ब्याज दरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू तथा समयमा कर्जा असुली नभै उत्पन्न हुने आर्थिक जोखिमहरू रहेका छन् ।

बैंकले प्रयोगमा ल्याएको कोर बैंकिङ सफ्टवेयरमा तकनिकी गडबडीले हुनसक्ने जोखिम रहेको जनाएको छ । बैंकले मुख्य कर्मचारीहरूले छोड्दा हुन सक्ने जोखिमलाई उल्लेख गरेको छ ।

बैंकले देखेको बाह्य समस्या तथा चुनौतीमा नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले जारी गर्ने नीति, निर्देशन तथा कानुनहरुमा हुने परिवर्तनले उत्पन्न हुनसक्ने सम्भावित जोखिमहरूमा सीमित लगानी क्षेत्र र बैंक तथा वित्तीय संस्थाबीच भएको तीव्र प्रतिस्पर्धा रहेको छ । विदेशी प्रविधिको परिवर्तन अनुरूप बैंकको गतिशील परिवर्तन हुन नसक्ने सम्भावना रहेको र देशको आर्थिक अवस्थामा आउने उतारचढाबबाट उत्पन्न हुनसक्ने जोखिमहरु रहेका छन् ।

यस्तै तरलता अभावले बैंकिङ प्रणालीमा पर्न सक्ने सिस्टमेटिक रिक्स जोखिमहरू, रूस- युक्रेन युद्धको द्वन्द्वका कारण भएको मुद्रास्फीतिको फलस्वरूप समग्र विश्वका अर्थतन्त्रमा मन्दीको खतराबाट उत्पन्न हुन सक्ने जोखिमहरु रहेका छन् ।

मुद्रा बजारमा ऐतिहासिक रूपमा डलरको मूल्यमा आएको वृद्धिका कारण आयात महँगो भई वैदेशिक मुद्रास्फीतिको दबाबबाट उत्पन्न हुन सक्ने जोखिम र विदेशी विनिमय कारोबार गर्दा विनिमय दरमा हुने परिवर्तनको चुनौती, मूल्य एवं ब्याजदर जस्ता परिसूचकहरूमा आउने उतारचढावका कारण सिर्जना हुनसक्ने मूलभूत बजार जोखिम र ब्याजदरसम्बन्धी उतारचढावबाट सिर्जना हुने जोखिम रहेको जनाइएको छ ।

बैंकले उक्त समस्या तथा चुनौती कम गर्न विभिन्न रणनीति बनाएको जनाएको छ । जसमा ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्न भिन्न एवं विविध प्रकारका उत्कृष्ट एवं गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न कार्य अघि बढाइएको जनाएको छ ।

बैंकले समयसापेक्ष रूपमा डिजिटल बैंकिङका विभिन्न सेवा सुविधाहरू वृद्धि तथा सेवालाई थप गुणस्तरीय बनाइएको छ । स्मार्ट बैंकिङ भन्ने नारामा आधारित भएर अगाडि बढेको र लागत कटौती तथा लागत नियन्त्रणका उपायहरू अवलम्बन गरिएको जनाएको छ ।

कर्जा तथा सापट र लगानी खराब भई हुनसक्ने जोखिमबाट बच्नका लागि आवश्यक जोखिम कोषको व्यवस्था गरिएको, बैंकको नीति नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखिएको र भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरूलाई आवश्यक तालिम दिने गरिएको उल्लेख छ ।

बैकको बैंकिङ सफ्टवेयरमा हुन सक्ने प्राविधिक गडबडीबाट बच्न आवश्यक ब्याकअप राख्ने गरिएको, विनिमय दरमा हुने परिवर्तनबाट हुनसक्ने जोखिमबाट बच्नका लागि आवश्यक सटही घटबढ कोषको व्यवस्था गरिएको उल्लेख छ । बैंकको संगठनात्मक संरचनामा परिवर्तन गरी बढी प्रभावकारी बनाइएको तथा केही मुख्य कर्मचारीले छोड्दा पनि बैंक नियमित रूपमा सेवा प्रदान गर्न सक्षम रहने उल्लेख छ ।

कुमारी बैंक

कुमारी बैंकले उल्लेख्य प्रगति नगर्नमा आन्तरिक तथा बाह्य समस्या तथा चुनौती देखेको छ । जसमा बैंकले देखेको चुनौतीमा सञ्चालन लागत कम हुनु, दक्ष जनशक्ति र ननपफर्मिङ एसेट (एनपी) रहेको छ ।

यस्तै बैंकले देखेको बाह्य चुनौतीमा कार्य क्षमतामा सुधार, बढ्दो पुँजी र त्यसले व्यावसायिक क्षमताका साथै बैंक तथा वित्तीय संस्थाहरुबीच तीव्र प्रतिस्पर्धा, बढ्दो लागत वृद्धिलाई राजस्व प्रवाहमा राख्न नसक्नु, महामारीपछि उपभोक्ता, व्यवसाय र समुदायमा सिर्जना गरेको समस्या र आर्थिक कठिनाइले बैंकिङ व्यवसायलाई समस्या परेको जनाएको छ ।

प्रभु बैंक

प्रभु बैंकले चालु आवको पहिलो त्रैमासमा देखेको समस्या तथा चुनौतीमा सञ्चालन चुनौती, इन्ट्रेन्स स्प्रेड, इम्पेयर्ड लोन उठ्नु र कर्मचारीको व्यवस्थापनको रहेको छ ।

बैंकले देखेको बाह्य चुनौतीमा देखिएको राजनीतिक तथा सामाजिक व्यवस्थाले सिर्जना गरेको समस्या, मूल्य निर्धारणमा देखिएको प्रतिस्पर्धाले बैंकिङ व्यवसाय र नाफामा असर गरेको छ । आन्तरिक तथा बाह्य वातावरणमा भएका परिवर्तन, कर्मचारीको सीप र क्षमता बढाउने, ग्राहकको रुचीअनुसार नयाँ सेवा तथा उत्पादन ल्याउने, कमसल कर्जा असुलीमा ध्यान दिने र सुरक्षित बैंकिङ अभ्यासलाई निरन्तरता दिने बैंकको रणनीति रहेको उल्लेख छ ।

नेपाल बैंक

नेपाल बैंकले देखेको आन्तरिक समस्या तथा चुनौतीमा मुद्रास्फीतिका कारण सञ्चालन लागत बढ्दो, निक्षेप र कर्जामा ब्याजदर परिवर्तनको प्रभाव, दक्ष जनशक्ति, खराब कर्जा र त्यसको व्यवस्थापनका लागि नयाँ सम्भावित लगानी, शाखा बढ्दा सिर्जना भएको लागत न्यूनीकरण गर्नुपर्ने देखेको छ ।

बैंकले देखेको बाह्य चुनौतीमा कोरोनाले पारेको प्रभाव, कोरोनाका कारण व्यवसाय वृद्धि सुस्त हुनु, खराब कर्जा बढेको उल्लेख छ ।

नबिल बैंक

नबिल बैंकले देखेको चुनौती तथा समस्यामा कोरोनालगायत महामारी र देशको आर्थिक अवस्थाको प्रभावका कारण बढेको खराब कर्जा, कम आर्थिक वृद्धि र घट्दो सम्पत्तिको गुणस्तर, गैरब्याज राजस्व सुधार गर्न चुनौती तथा तरलता र ब्याज जोखिम व्यवस्थापनको चुनौती रहेको छ ।

बैंकले देखेको बाह्य चुनौतीमा अस्थिर बजारमा ब्याजदर, सरकारको पुँजीगत खर्च कम, उद्योगमा परेको असर, छोटो समयमा ब्याजदरमा परेको तीव्र उतारचढाव, सम्पत्ति र दायित्वको विवेकपूर्ण व्यवस्थापन, लागतको प्रभावकारी व्यवस्थापन, डिजिटलाइजेसन र कर्मचारीको क्षमतालाई चुनौतीको रुपमा देखेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले देखेको चुनौतीमा सिभिल बैंकलाई प्राप्ति गरेपछि ग्राहकहरुलाई सञ्चालन र सेवा प्रवाह, प्रयाप्त व्यापारिक क्षेत्रको अभावका कारण सम्पत्ति र दायित्व दुवै पक्षहरुमा बढेको जोखिम, बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, बढ्दो महँगी, सडक, ऊर्जा जस्तो आधारभूत पूर्वाधारको अभाव रहेको छ । नीतिगत अस्थिरताले लगानी रोक्दा बैंकको मुख्य गतिविधि सुस्त भएको छ । कर्जाको ब्याजदर घटाउन निरन्तर दबाबको प्रभाव, खराब कर्जा र कोषको लागतमा वृद्धि रहेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले देखेका चुनौती तथा समस्यामा गुणस्तरीय जनशक्तिको भर्ती र बढ्दो लागत रहेको छ । यस्तै लगानीको अभाव, निक्षेप परिचालन, विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभावको समस्या रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले देखेको समस्या तथा चुनौतीमा बढ्दा सञ्चालन लागत, गुणस्तरीय मानव संशाधनको भर्ती, ऋण असुलीमा चुनौती रहेको छ । यस्तै बढ्दो साइबर ठगी, नियामक ढाँचामा परिवर्तन, अमेरिकी डलरको तीव्र वृद्धिले आयातमा बढेको लागत रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले देखेको समस्या र चुनौतीमा बढ्दो सञ्चालन लागत, प्रतिस्पर्धी बजार, मार्जिन रिकभरी, लगानीयोग्य रकम, लगानीका लागि चुनौतीपूर्व अवस्था, विभिन्न प्रदेशमा प्रवाह भएको कर्जा उठाउन कर्मचारीमा लाग्ने लागतलगायत रहेका छन् ।


क्लिकमान्डु