विश्वकप क्रिकेटले भारतीय अर्थतन्त्रमा ३ खर्ब ४४ अर्ब थप्ने प्रक्षेपण



काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताले भारतको अर्थतन्त्रमा २ अर्ब ६० करोड अमेरिकी डलर (३ खर्ब ४४ अर्ब ६७ करोड ५२ लाख ४० हजार नेपाली रुपैयाँ)सम्म थप्ने प्रक्षेपण गरिएको छ । विश्वकपको समाप्तिपछि मात्रै यसका लागि भएको खर्च र विश्वकप क्रिकेटले भारतको अर्थतन्त्रमा पारेको प्रभावको सही मूल्यांकन हुनेछ ।

बैंक अफ बरोडाका अर्थशास्त्रीहरुले क्रिकेट विश्वकप प्रतियोगिताले भारतको अर्थतन्त्रलाई तीन खर्ब ४४ अर्ब रुपैयाँसम्म बढाउन सक्ने प्रक्षेपण गरेका हुन् । ५ अक्टोबरबाट सुरु भएको क्रिकेट विश्वकप नोभेम्बर १९(आज) अन्त्य हुँदैछ । हालसम्मका खेलहरुबाट छनोट भएर फाइनल खेलका लागि भारत र अष्ट्रेलिया केही बेरमा भिड्दै छन् ।

क्रिकेट महासंग्रामको रुपमा रहेको विश्वकप क्रिकेट खेलका लागि भारतका विभिन्न १० शहरमा खेल भएका छन् । जसले गर्दा यी क्षेत्रमा हुने यात्रादेखि होटल व्यवसायलगायतका क्षेत्रको व्यापार वृद्धि हुने अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् ।

र्थशास्त्रीहरु जाह्नवी प्रभाकर र अदिती गुप्ताले बताएअनुसार खेल भएका १० शहरहरुलाई प्रमुख रुपमा फाइदा पुगेको छ ।

अर्थशास्त्रीद्वय प्रभाकर र गुप्ताकाअनुसार यसपटकको विश्वकप क्रिकेट चाडबाडको मौसममा पनि परेकाले यसले खुद्रा क्षेत्रलाई पनि चलायमान बनाएको छ ।

त्यस्तै, सन् २०१९ को विश्वकप क्रिकेटमा ५५ करोड २० लाख दर्शक रहेकोमा यसपटक सोभन्दा धेरै हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वकप क्रिकेटका कारण भारतमा विमानको टिकटदेखि होटलसम्मको अभाव पनि देखिएको छ । सामान्य अवस्थामा भन्दा निकै महंगोमा टिकटको बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबारको विश्वकप फाइनलका लागि भारतको अहमदाबाद पुग्न हवाई टिकट अभाव भएको छ । सामान्य अवस्थामा भारतको बेंगलुरुबाट अहमदाबादसम्मको ५ हजार ७ सय भारतीय रुपैयाँसम्मको मूल्यमा पाउने टिकट, शनिबार भने ३३ हजार भारतीय रुपैयाँसम्म पुगेको थियो ।

शनिबार दिल्लीबाट अहमदाबादसम्मको टिकटको मूल्य २२ हजार भारतीय रुपैयाँदेखि ३९ हजार भारतीय रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै, कोलकातादेखि अहमदाबादसम्मको टिकटको मूल्यमा पनि वृद्धि देखिएको छ । शनिबार सो रुटको टिकट ४७ हजार भारतीय रुपैयाँसम्ममा बिक्री भएको छ ।

फाइनल खेलका लागि अहमदाबादमा भारतीय क्रिकेटका समर्थनहरुको उच्च आवागमन भएका कारण होटलको मूल्य पनि आकासिएको छ ।

भारतीय सञ्चार एजेन्सी पीटीआईसँग कुरा गर्दै गुजरातस्थित होटल तथा रेस्टुरेन्ट एसोसिएसनका अध्यक्ष नरेन्द्र शोमनीले भनेका छन्, ‘भारतमा मात्रै नभएर दुबई, अष्ट्रेलिया र दक्षिण अफ्रिकाजस्ता देशबाट पनि फाइनल खेल हेर्न आउनेहरु छन् ।’

आगन्तुकहरुको संख्या बढ्दा होटलमा रुम नपाउने तथा महंगो मूल्यमा पाउने अवस्था सिर्जना भएको उनले बताएका छन् ।

शोमनीकाअनुसार अहमदाबादमा पाँचतारे र तीनतारे होटलमा कुल ५ हजार र सम्पूर्ण होटलमा गरेर १० हजार वटा कोठाहर रहेका छन् ।

फाइनल खेल भइरहेको नरेन्द्र मोदी रंगशालाकोको क्षमता १ लाख २० हजारभन्दा धेरै दर्शकको रहेकाले ३० देखि ४० हजार मानिसहरु अन्य क्षेत्र तथा देशबाट आउने शोमनीको अनुमान छ ।

यी क्षेत्रमा रहेका क्राउनजस्ता बिना तारेहोटलमा सात गुणासम्मले मूल्य बढेको छ । शोमनीकाअनुसार सामान्य समयमा ३ हजार भारतीय रुपैयाँमा पाइने होटल अहिले २० हजार भारतीय रुपैयाँसम्म पुगेको छ । त्यस्तै चार तथा पाँच तारे होटलहरुको एक कोठामा एक रातको मूल्य नै १ लाख भारतीय रुपैयाँसम्म पुगेको मनि कन्ट्रोलले जनाएको छ ।

भारतमा आर्थिक गतिविधिलाई वृद्धि गराउनेसँगै विश्वकप क्रिकेटको माध्यमबाट प्रत्यक्ष रुपमा पनि करोडौं रुपैयाँ फाइदा हुने देखिएको छ । डिएनए इण्डियाको एक रिपोर्टकाअनुसार यसपटकको क्रिकेट विश्वकपबाट स्पोनसरसिपमा नै १५० मिलियन अमेरिकी डलरको आम्दानी भएको छ । त्यस्तै, क्रिकेट खेलका बीचमा प्रसारण हुने विज्ञापनका लागि प्रतिसेकेण्ड ३ हजार ६ सय अमेरिकी रुपैयाँ (४ लाख ७७ हजार नेपाली रुपैयाँ) सम्मको लगानी भइरहेको छ ।

बैंक अफ बरोडाका अर्थशास्त्रीहरुले बताएअनुसार यसपटक टेलिभिजनलाई दिइने प्रसारण अनुमति तथा विज्ञापनहरुबाट १० हजार ५ सय करोडदेखि १२ हजार करोड भारतीय रुपैयाँसम्मको आम्दानी हुने देखिएको छ ।


क्लिकमान्डु