रियल इस्टेट कर्जा ठप्प हुँदा २ करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा लिने तीन गुणाले वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाइले रियल इस्टेट कर्जा ठप्प हुँदा २ करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा लिनेको संख्या तीन गुणाले बढेको छ ।

राष्ट्र बैंकले गत फागुनमा एकीकृत निर्देशन २०७९ जारी गर्दै आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जालगायतका क्षेत्रमा वार्षिक आम्दानीको प्रत्यक्ष आम्दानीको स्रोतको आधारमा मात्रै कर्जा प्रवाह गर्ने नीति लिएसँगै रियल इस्टेट क्षेत्रमा जाने कर्जा ठप्प भएको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकले घरजग्गा खरिद गर्न चाहने ग्राहकले प्रत्येक करचुक्ता गरेको प्रमाणपत्र अद्यावधिक गरेपछि बैंकले ऋण भुक्तानी आम्दानी अनुपात मूल्याङ्कन गरी उसको आम्दानीको अधिकतम ५० प्रतिशत मासिक किस्ता पर्न आउनुपर्ने मात्रै ऋण पाउने व्यवस्था गरेको थियो ।

उक्त नीति लिएसँगै त्यस क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प भएको सरोकारवालाहरु बताउँछन् । सो नीति अपनाएसँगै पछिल्लो कर्जा प्रवाहको तथ्यांकअनुसार रियल इस्टेट क्षेत्रमा प्रवाह हुने कर्जा ठप्प देखिएको हो ।

देशभरका बैंक तथा वित्तीय संस्थाहरुले रियल इस्टेट क्षेत्रमा कुनै पनि कर्जा प्रवाह गरेको देखिँदैन । गत वर्षको तीन महिनको अवधिमा देशभरका बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । त्यस्तै, सोही अवधिमा २ करोडसम्मको आवासीय व्यक्तिगत घर कर्जा ६ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ प्रवाह भएको थियो ।

तर, चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रियल इस्टेट कर्जा ठप्प हुँदा दुई करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय घर कर्जा २६ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ प्रवाह भएको छ । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा उक्त क्षेत्रमा तीन गुणा बढी कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गर्छ ।

गत आवमा देशभरका बैंक तथा वित्तीय संस्थाबाट डेढ करोड रुपैयाँसम्मको आवासीय व्यक्तिगत घर कर्जा क्षेत्रमा ३ अर्ब २८ करोड ३४ लाख रुपैयाँ प्रवाह भएको थियो । तर, यो वर्षको सोही अवधिमा उक्त क्षेत्रमा १ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ मात्रै प्रवाह भएको छ ।

त्यस्तै, गत वर्षको तीन महिनामा अन्य रियल इस्टेट (जग्गा खरिद र प्लटिङ) ६ अर्ब ९४ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह हुदा यो वर्ष ठप्प छ । साथै, यो वर्ष जग्गा खरिद र प्लटिङ क्षेत्रमा भने १ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसबाहेक व्यवसायिक कम्प्लेक्स, आवासीय अपार्टमेन्ट निर्माण क्षेत्र, आम्दानी गर्ने व्यावसायिक कम्प्लेक्स र अन्य क्षेत्रमा भने कर्जा प्रवाह भएको छैन ।

त्यसैगरी, सरकारले कित्ताकाटका कारण कारोबारमा देखिएको मन्दीलाई सहजीकरण गर्न भूउपयोग नियमावली संशोधन गरेको छ । सरकारले कित्ताकाटको कार्य फुकुवा गरेसँगै कारोबार बढ्दै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार गत साउनमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार २६३ वटा घरजग्गाको किनबेच भएको थियो । त्यस्तै, भदौमा ३५ हजार ६८६ वटा र असोजमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, घरजग्गा व्यवसायीहरुले देशको अर्थतन्त्रको सूचकहरुमा सुधार हुँदै गएकाले तिहारपछि कारोबार बढ्ने अपेक्षा गरेका छन् । व्यवसायीहरुले अर्थतन्त्रमा देखिएको सुस्ततालाई पूर्ण चलायमान बनाउन पुस १२ देखि १५ सम्म रियल इस्टेट एक्स्पो गर्ने भएको छ । उक्त एक्स्पोबाट अर्बौंको कारोबार हुने र अर्थतन्त्र चलायमान गर्न मद्दत पुग्ने घरजग्गा व्यवसायीहरुको भनाइ छ ।


क्लिकमान्डु