अर्पण पराजुली, जसले सडक बालबालिकालाई राष्ट्रिय खेलाडी बनाउँछन्
काठमाडौं । हेटौँडाका अर्पण पराजुली १५ वर्षअघि विदेश जानेको लाइनमा थिए । हातमा पासपोर्ट र आँखामा विदेशको रमझम सजाएका उनलाई लाग्दैन थियो, नेपाल बस्नुपर्छ वा विदेश पुगेर नेपाल फर्कनुपर्छ ।
डेढ दशकपछि पनि अवस्था उस्तै छ, पढाइका लागि युरोप अमेरिका भासिएका नेपाली विरलैमात्र देश फर्कन्छन् । अधिकांश उतै हराउँछन् । त्यही हराउने योजनामा थिए अर्पण पनि । ‘स्नातक सकेपछि युरोप जानुपर्यो भन्ने सोचमा थिएँ, त्यसका लागि आईईएलटीएस गर्दै थिएँ ।’
आईईएलटीएसको किताब साथीसँग लिन जाँदा उनको युरोपतिर लाग्दै गरेको पाइला पनि मोडिन पुग्यो । मोडिएको पाइला यति टाढा आइपुग्यो कि उनी फेरि त्यो पाइलासम्म पुग्ने सोच्नसमेत नसक्ने भए ।
युरोप जान लागेका अर्पणलाई हामीले १५ वर्षपछि कालो ब्याग र सेतो सर्टमा ऊनीको हाफ स्वेटर र कालो प्यान्टमा भेट्यौँ । सिभिल मल अगाडिको भुइँमा बसेर पर्खिरहेका उनी चाहन्थे भने यतिबेला युरोपका कुनै विकसित सहरमा हराइरहेका भेटिन सक्थे ।
उनका झोलाभरि मामा हुनुका कर्तव्यहरु टम्म परेर राखिएका थिए । राष्ट्रिय र स्थानीयस्तरमा खेलाडी बनेका उनका ४ जना भान्जा सँगै २२ जना बालबालिकाको भविष्य बोकेर उनी काठमाडौंमा भेटिएका थिए ।
पढ्न हिँडेका उनी खेलाडी बनाउने काममा कसरी पुगे त ?
यो बुझ्न हामी उनीसँग आयल्सको किताब पर्खिन १५ वर्षअगाडिकै हेटौँडा बसपार्क पुग्नुपर्छ ।
‘साथीलाई ढिलो हुने भएपछि म बसपार्कमै टहलिँदै थिएँ,’ उनले सुनाए ।
नजिकैको म:म बेच्ने ठेलामा अर्पणको आँखा पर्यो । ठेलाले भन्दा ठेलाअगाडि हात थापिरहेको बच्चाले उनको ध्यान खिचेको थियो । मैलो र च्यातिएको लुगामा धुलाम्ये शरीर लिएर ती बालक ठेलावाल महिलासँग एउटा डल्ला म:म मागिरहेका थिए ।
उनी नजिकै गए । हाफ प्लेट म:म मागे र खान बालकलाई इसारा गरे । अचम्म त के भयो भने अघिसम्म हात थापिरहेका ती बालक एकाएक भागे । अलि पर पुगेर फर्किए अनि एकटक उनलाई हेर्न थाले । इसाराले म:म खान गरेको अर्पणको आग्रहलाई नकारेर उनी उभिरहे ।
छेवैबाट पसलेको आवज उनको कानमा ठोक्किन पुग्यो- ‘कति झम्टिएका ?’ पसलेको कर्कस आवाजले उनी पसलेतिरै फर्किए ।
ती म:म माग्ने बालकसहित चार-पाँच जनाको झुण्ड पसलेले फालेको खानामा झुम्मिरहेका थिए- कोही प्लास्टिक बोकेर त कोही थोत्रो फुटिसकेको थाल बोकेर ।
‘ती सबै सडक बालबालिका रहेछन् । मलाई असह्य पीडा भयो । म पनि टुहुरो नै थिएँ । आमाबाबु नहुनुको पीडा ममा पनि गहिरोसँग बसेको थियो,’ मामा बन्दाका दिन सम्झन्छन् उनी ।
भोलि र पर्सिपल्ट लगातार अर्पण त्यही ठाउँमा पुगे । हिजो उनलाई देख्दा तर्सिएर भाग्ने केटाकेटी आज ‘खाना के ल्यायौ ?’ भनेर सोध्न थाले ।
आयल्सको परीक्षा नजिकिँदै थियो । कल्सल्टेन्सीले अर्पणका लागि विदेशमा क्याम्पस खोज्दै थियो । उनी भने ती बच्चाको सूचना लिएर नगरपालिका र जिल्ला प्रशासन कार्यालयतिर चहार्न थाले ।
‘मास्टर्स गरिसकेको हुँदा मलाई ज्ञान थियो, सडक बालबालिकाका लागि सरकारी कार्यालयले सहयोग गर्नुपर्छ भनेर, नगरपालिकालाई दबाब दिन सक्यो भने त्यो पैसाले यी केटाकेटीको भविष्य कोर्न सकिन्छ,’ उनले भने ।
नगरपालिकाले सुरुमै उनलाई बालबालिकाको अवस्थाबारे अध्ययन गर्न लगायो । हातमा आइसकेको रातो पासपोर्ट दराजमा थन्क्याउँदै उनी हातमा सयभन्दा बढी प्रश्न बोकेर घरबाट निस्किए, उनीहरु जस्तै बनेर ।
‘फाटेको र मैलो लुगा नै लगाएर निस्किएको थिएँ म पनि उनीहरु जस्तै बनेर,’ अर्पण सुनाउँछन् ।
उनले सडक बालबालिकको रिसर्चमा सडकमै तीन महिना बिताए । काठमाडौँको सुन्धारा, कोटेश्वर, चाबहिल र कलंकीमा ८ दिन बसे भने हेटौँडाका गल्लीहरुमा बाँकी दिन ।
तीन महिनापछि अध्ययन सकियो । सडकबाट घर फर्किंदै गर्दा सँगै बसेका केटाकेटी उनलाई आफ्ना लागिसकेका थिए । तिनै मध्ये एकजनाले उनलाई मामा नै बनाएका थिए ।
‘बाआमा नभएको मलाई ती बालकले मामा भन्दा परिवार भेटेजस्तै लाग्यो,’ गम्भीर भावभंगीमा उनले भने ।
नगरपालिकासँगको समन्वयमा उनीहरुका लागि एक वर्षसम्म कोठाभाडा र खानेकुरा जुटाउन सक्ने भएका थिए अर्पण । सडकबाट घर आउँदै गर्दा उनले २५ जनालाई आफू सँगै ल्याए ।
त्यही भीडमा थिए, हकी खेलाडी राजु अधिकारी पनि । यसअघि पनि उनको अवस्था र खेललाई लिएर धेरै चर्चा नभएको होइन । सडकमा कोब्रा ग्याङका उनै लिडरलाई अर्पणले हकी खेलाडी बनाएका थिए ।
आमसञ्चार माध्यममा सडक बालक खेलाडी बनेको खबर आउन थालेपछि उनको चर्चाले बजार भरिन थाल्यो । त्यसपछि मामाघरका अन्य बच्चाले पनि खेल सिक्ने अवसर जुट्न थाल्यो ।
राजुले हकीमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा खेले । मामाघरमा १८ वर्षसम्म बस्ने र त्यसपछि जागिर लगाइदिएर बाहिर राख्ने चलन छ । तर, उनले जागिर पाएनन् । जागिरको खोजीमा केही समय भौंतारिए । नपाएपछि प्लम्बरको तालिम लिए र रोजगारीका लागि कतार उडे । उनको खेल जीवन त्यहीँ रोकियो अनि मजदुर जीवन सुरु भयो ।
मामाघरमा बसेर अहिले पनि २ जना पढिरहेका छन् । अचेल मामाघर मामाघरमात्रै नभएर खेलाडी उत्पादन गर्ने घर पनि भएको छ ।
मामाघरलाई सडक बालबालिकाले मात्रै मामाघर बनाएनन्, छरछिमेकले पनि उस्तै सहयोग गरे । नौ वर्षसम्म भाडामा राखेर २२ बालबालिकालाई पालनपोषण गर्दै आएका उनलाई साढे तीन कठ्ठा जग्गा दिन हेटौंडाबासी तयार भए । एक जनाले नै पुग्ने जग्गा दिने भएपछि मामाघरले घर पायो । घर बनाउँदाका सास्ती कम थिएनन् ।
घरको जग उठिरहेका बेला चन्दा उठ्न छोड्यो । वर्षदिन कुर्दा पनि खातामा पैसाको जोहो हुन नसकेपछि अर्पण फसादमा परे । छोडौँ करौडौँ पर्ने जग्गा एकै व्यक्तिले विश्वास गरेर दिएका छन्, नगरपालिकाले बालबालिकाका लागि खाद्यान्न जोहो गरिरहेको छ, विद्यालयले स्वस्फुर्त नि:शुल्क पढाइरहेका छ । यी सबैलाई निराशामा परिणत गर्न सहज थिएन ।
अर्पण हेटौंडा क्याम्पसमा पढाउँथे । आफ्नै बचतले हेटौँडामा जग्गा किनेका थिए । उनले त्यही जग्गा बेचे अनि मामाघर बनाउन थाले । एक तल्ला बन्दै गर्दा रोकिएको सहयोग पुन: जुट्न थाल्यो । मामाघर पनि तीन तलासम्म उक्लियो ।
अर्पणलाई अचेल लाग्छ, नेपालमा अनाथलय जस्ता संस्था व्यावसायिक बन्न थालेका छन् । निजी या संस्थागत रुपमा जोकोहीले स्थापना गरी चन्दा संकलन गर्दा समग्र संस्था नै बदनाम हुन पुगेका छन् । अर्पण आफैँसँग पनि धेरै पटक सहयोगका लागि आग्रह गर्दा व्यवसायमुखी बनेको आरोप खेप्नुपरेको अनुभव छ ।
भन्छन्, ‘आश्रम खोलेर संस्थापक मोटाउने तर आश्रमका बालाबालिकामा कुनै परिवर्तन नआउने परिपाटीले सहयोगी हात घट्दै छन् ।’ समाजसेवा र व्यवसायबीचको फ्युजनले यस्ता आश्रमलाई दूषित तुल्याएकोमा उनी चिन्तित छन् ।
सरकारले संस्था सञ्चालनको जिम्मा लिए समाजसेवाका नाममा व्यवसाय गर्ने विकृति कम हुने उनको धारणा छ । भन्छन्, ‘आश्रम व्यवसाय होइन तर आश्रम संस्थापक वा सञ्चालक व्यावसायिक हुन थाल्दा यसले सहयोगी हातहरु घटिरहेका छन्, समाजसेवा र व्यवसाय दुवै दूषित हुँदै गएका छन् ।’
अर्पण १८ वर्षसम्म आश्रमले पालेका बालबालिकालाई सरकारले रोजगारीको विशेष व्यवस्था गरिदिए पुन: सडकमा जानुपर्ने अवस्था रोकिने धारणा व्यक्त गर्छन् । ‘लागु औषधको दुर्व्यसनीमा फसेकाहरु र सडकमै बस्ने बानी भएकाहरु १८ वर्ष कटेपछि पनि सडकमै फर्कन खोज्ने रहेछन्,’ उनी भन्छन्, ‘सरकाले त्यस्ता बालबालिकालाई लक्षित गरेर सीप सिकाइ तथा रोजगारीको प्रत्याभूति गर्न सके आश्रमको उद्देश्य पूरा हुने थियो ।’
अर्पण मामाघर नेपालमै भएका र खेलाडी बन्ने सपना बोकिरहेकालाई राज्यले प्रयोगमात्रै गर्नुको साटो खेल क्षेत्रमै भविष्य सुनिश्चित गर्ने बाटो बनाइदिनुपर्ने धारणा राख्छन् । भन्छन्, ‘मामाघर नेपालबाट ६ देखि ७ जनासम्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका हकीका खेलहरु जितिसकेका छन्, उनीहरुलाई खेल्न प्रोत्साहन गर्दै रोजगारीको प्रत्याभूत गराइदिने हो भने असलीमा सडकबाट उनीहरु घरसम्म पुग्ने थिए ।’