नक्सालमा खुल्यो बाइकर्स क्याफे, गोल्छा भन्छन्- यो उत्साही बाइक राइडरको घर हो



बाइक, कफी, फुड, राइडिङ गेयर, स्टाइलिस हेलमेट एउटै स्थानबाट बिक्री गर्ने गरी नक्सालमा बाइकर क्याफे सञ्चालनमा आएको छ ।

काठमाडौं । नक्साल चौरको उत्तर-पूर्वी कुनामा लक्जरी बाइकहरु रोकिएका छन् ।  बाहिरबाट हेर्दा बाइकको सोरुम जस्तो देखिन्छ । नियालेर हेर्दा हिमालयन जाभा कफी सप जस्तो देखिन्छ ।

क्याफेभित्र विभिन्न डिजाइनका हेलमेट र बाइक राइडिङ गियर छन् । केटीएम र पल्सर ब्राण्डका प्रिमियम बाइकहरु राखिएका छन् ।  तर, यो बाइक सोरुम होइन ।

कफी लेखिएको ठूलो बोर्ड देखिन्छ । कार्यालयको काम गर्न सकिने वर्किङ टेबल छन् । युवापुस्ताले रुचाउने म्युजिक बजिरहेको छ । तर, यो कफी सप पनि होइन ।

यो हो नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाका छोरा अभिमन्यु गोल्छाले सञ्चालनमा ल्याएको बाइकर्स क्याफे ।

लण्डनबाट बाइक सेडबाट प्रभावित भएर बाइकर्स क्याफे सञ्चालनमा ल्याएको अभिमन्यु बताउँछन् । नेपालमा बढिरहेको राइडिङ कल्चर र विभिन्न स्थानमा खुलेका राइडिङ क्लबले बाइकर क्याफे खोल्न उत्प्रेरित गरेको उनको भनाइ छ ।

‘नयाँ-नयाँ मोडलका राइडिङ बाइकको बारेमा जानकारी दिने र राइडिङको सुरुवात वा अन्त्यमा बाइक राइडरलाई बस्ने राम्रो स्पेस दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएका हौं,’ अभिमन्यूले भने, ‘विभिन्न क्लबका राइडरको अनुभव आदानप्रदान गर्ने थलोको रुपमा क्याफेलाई विकास गर्ने हाम्रो सोच हो ।’

क्याफेबाट ४ लाख २५ हजार रुपैयाँ पर्ने एनएस २०० सहित त्योभन्दा बढी मूल्यका पल्सर र केटीएम ब्राण्डका प्रिमियम बाइक बिक्री हुन्छ । यस्तै कानुनी मापदण्डभित्र रहेर राइडरको रुचीअनुसार बाइकलाई विकास गरी बिक्री गर्ने कम्पनीको योजना छ ।

‘जुन बाइकका कारण नेपालमा राइडिङ कल्चर विकास भयो, त्यस्ता बाइकको विषयमा धेरैभन्दा धेरै जानकारी दिने उद्देश्यले क्याफे खोलेका हौं,’ अभिमन्युले भने, ‘हामीले यो स्पेसलाई लक्जरी बाइक प्रमोट गर्ने स्वतन्त्र स्पेसको रुपमा विकास गर्न खाजेका छौं ।’

गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा एकै स्थानका विभिन्न ब्राण्डका बाइक बिक्री गर्ने, कफी सर्व गर्ने र विभिन्न मिटिङ गर्न सकिने स्पेस दक्षिण एसियामा नभएको दाबी गर्छन् ।

‘अभिमन्युले युरोपबाट बाइकर्स क्याफेको आइडिया ल्याएको हो । यो सम्पूर्ण रुपमा उसैको आइडिया हो,’ गोल्छाले भने, ‘मैले त सहजीकरणमात्रै गरेको हुँ ।’

बाइकर्स क्याफेभित्र छिरेर माथि हेर्दा वर्कसप जस्तो छाना देखिन्छ । क्याफे प्रवेश गर्दा कलाकार किरण महर्जनले बनाएको बाइक राइड गरिरहे जस्तो ठूलो पेन्टिङ देखिन्छ ।

काठमाडौंमा खुलेका रेष्टुरेन्ट फरक एबिएन्स बनाउँदै खुलेको बाइकर्स क्याफेले राइडिङ कल्चरलाई विकास गर्न खोजेको गोल्छा बताउँछन् ।

‘यो स्पेस बाइकरका लागि हो । हामीले उत्साही बाइकरको घरको रुपमा क्याफेलाई विकास गर्न खोजेका हौं,’ गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले भने, ‘कफी र बाइक बिक्री गर्नेभन्दा पनि हामीले बाइक राइडिङको इकोसिस्टम बनाउन क्याफे सञ्चालनमा ल्याएका हौं ।’

कम्पनीले क्याफेभित्र बाइकरका फोटो राख्ने पनि स्पेस बनाएको छ । बाइकबाट विभिन्न स्थानमा यात्रा गरेका बाइकरले आफ्नो फोटोसमेत क्याफे भित्र राख्ने सक्नेछन् । यस्तै, क्याफे प्रवेश गर्ने गेटमै प्रिमियम बाइकलाई पार्क गर्न दिने कम्पनीको योजना छ ।

क्याफे बाइकरहरुका भएकाले आफ्नो ब्राण्डमात्रै बाइकलाई प्रमोट गर्ने सोच कम्पनीको नभएको गोल्छा बताउँछन् ।

यस्तै, केटीएम र पल्सरबाहेकका कम्पनीलाई समेत निश्चित अवधिका लागि क्याफेमा बाइक प्रमोसन गर्न दिने दिने कम्पनीको योजना छ । क्याफेबाट लामो यात्रा गर्नेहरुलाई आवश्यक पर्ने विभिन्न गियरहरु बिक्री गरिनेछ । बाइक राइडरलाई र युवापुस्तालाई प्रिमियम बाइकको जानकारी दिइनेछ ।

क्याफेको माथिल्लो तलामा दुईवटा मिटिङ स्पेस र बाहिरतर्फ खुला ठाउँमा रेष्टुरेन्ट पनि सञ्चालनमा आएको छ । हिमालयन जाभाले फुड र डिंक सर्व गर्ने क्याफेमा गोल्छा ग्रुपले बाइकका गियर र बाइक बिक्री गर्नेछ ।

क्याफे सञ्चालन गर्न करिब २ करोड रुपैयाँ लगानी लागेको अभिमन्यु बताउँछन् । किचेन, फुड र बाइक सोरुम गरी क्याफेमा २० जनाले काम गरिरहेका छन् ।

बाइक सेल्सका साथै क्याफेमा राइडिङ गेयरको नेपाली ब्राण्ड काभाच विभिन्न सामग्री उपलब्ध छन् । यस्तै, क्याफेबाट एरो कम्पनीको हेल्मेट पनि बिक्री गर्ने गरिएको छ । 

राइडिङ कम्युनिटीको मान्छेलाई एक ठाउँमा ल्याउने र मोटरसाइकल बिक्री गर्ने मात्रै नभई लाइफ स्टाइलको अनुभव दिन क्याफे सञ्चालन गरिएको अभिमन्यु बताउँछन् ।

‘यो क्याफेबाट प्रभावित भएर भोलिका दिनमा प्राइम लोकेसनमा अन्य पनि क्याफे खुल्न सक्छन्,’ उनले भने, ‘धेरै क्याफे खुल्नु भनेको राइडिङ कल्चर थप विकास हुनु हो । त्यसले सबैलाई लाभ हुन्छ ।’

बिहीबार सफ्ट लन्च भएको क्याफेको १० दिनपछि मात्रै पूर्णरुपमा ओपनिङ गर्ने तयारी छ ।


क्लिकमान्डु