बैंकहरुको कमाइमा भारी गिरावट, तीन महिनाको औसत प्रतिफल जम्मा ८ प्रतिशत



काठमाडौं । आर्थिक मन्दीमा पनि वाणिज्य बैंकहरुले धेरै कमाएको भनेर आलोचना भइरहेका बेला लगानीको तुलनामा हुने प्रतिफल भने निकै न्यून छ । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औसत ८ प्रतिशत हाराहारी प्रतिफल पाएका हुन् ।

मन्दीका कारण बैंकहरुको लगानीमा प्रतिफल (रिटर्न अन इक्विटी- आरओई) खस्किँदै गएको छ । एकै वर्षमा बैंकहरुको आरओई ३६.६७ प्रतिशतले खुम्चिएको हो ।

आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा औसत १३.१७ प्रतिशत रहेको आरओई चालु आवको पहिलो त्रैमासमा औसत ८.३४ प्रतिशतमात्रै छ ।

आरओई १० प्रतिशतभन्दा बढी हुँदा ‘बैंकहरुले धेरै नाफा कमाए’, ‘नाफाखोरी भए’ भन्ने जस्ता आरोप लाग्ने गरेको थियो । बैंकहरुले गर्ने आम्दानी अर्बमा हुने भएका कारण पनि आलोचना हुने गरेको थियो । तर, बैंकको वास्तविक स्थिती नाफाभन्दा प्रतिफलबाट स्पष्ट हुन्छ ।

यसपटक भने बैंकहरुको खुद नाफामा पनि भारी गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा २८ प्रतिशतले घटेको छ । चालु आवमा बैंकहरुले व्यवसाय प्रभावकारी रुपमा विस्तार गर्न नसकेको, कर्जाको माग हुन नसकेको तथा खराब कर्जा बढेका कारण पनि आरओई प्रभावित भएको हो ।

लगानीको प्रतिफल घट्दै जाँदा लगानीकर्ताको मनोबलसमेत खस्कँदै गएको छ । यद्यपि, पहिलो त्रैमासको वित्तीय अवस्था हेरेर वर्षभरको अनुमान गर्न नसकिने बैंकरहरुको तर्क छ । चाडपर्वको समयमा बैंकहरु ‘एग्रेसिभ’ ढंगले कर्जा उठाउनतिर नलाग्दा पनि त्यसको प्रभाव आरओईमा परेको बताइएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी अहिलेको आरओई हेर्दा ‘बैंकहरुले सधैं कमाउँछन्’ भन्ने मानसिकता गलत हुँदै गएको बताउँछन् । पछिल्लो आर्थिक गतिविधिका कारण अन्य क्षेत्र कमजोर बन्दै जाँदा त्यसको असर बैंकिङ प्रणालीमा पनि परेको उनले स्पष्ट पारे ।

‘आर्थिक मन्दीको असर बैंकमा पनि देखिन्छ,’ उनले भने, ‘आरओई घट्दा संस्थापक सेयरधनी लगानीकर्ताको समेत मनोविज्ञान कमजोर हुने सम्भावना छ ।’

चालु आवको पहिलो त्रैमासमा तीनवटा बैंकको आरओई बढेको छ भने १७ वटा बैंकको घटेको छ । असोज मसान्तसम्म प्राइम, माछापुच्छ्रे र हिमालयन बैंकको आरओई बढेको छ भने बाँकी सबै बैंकको घटेको छ ।

प्राइम बैंकको आरओई ३.२६ प्रतिशत बिन्दुले बढेर १५.९४ प्रतिशत पुगेको छ । यस्तै माछापुच्छे्र बैंकको आरओई १.१६ प्रतिशत बिन्दुले बढेर १३.२६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १२.१० प्रतिशत थियो । हिमालयन बैंकको आरओई १.९७ प्रतिशत बिन्दुले बढेर ९.६ बाट ११.५७ प्रतिशत पुगेको छ ।

कृषि विकास बैंकको आरओई भने ऋणात्मक नै छ । गत आवको पहिलो त्रैमासमा २.६१ प्रतिशत रहेको कृषिको आरओई चालु आवको सोही अवधिमा १०.२१ प्रतिशतले ऋणात्मक भएको छ । बाँकी ११ बैंकको आरओई दोहोरो अंकमा छ भने ८ वटा बैंकको एकल अंकमा छ ।

आरओई दोहोरो अंकमा हुने बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, एनआईसी एशिया, एनएमबि, माछापुच्छे्र, एभरेष्ट, प्रभु, हिमालयन, नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट मेगा र नबिल छन् ।

यस्तै एकल अंकमा आरओई हुनेमा सानिमा, ग्लोबल आइएमई, सिटिजन्स, राष्ट्रिय वाणिज्य, कुमारी, नेपाल बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंक छन् । सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्डको आरओई १६.१६ प्रतिशत छ ।


सोभित थपलिया