अर्ना ब्राण्डको मदिरा बेच्ने यति ब्रुअरीको व्यापार १ अर्बले घट्यो



काठमाडौं । अर्नासहित अन्य पाँच वटा ब्रान्डका मदिरा बेच्ने यति ब्रुअरीको व्यापार करिब १ अर्बले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ८९ करोड ३० लाख रुपैयाँले कम व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा २ अर्ब ५८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब ९९ कोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ मा व्यावसायिक व्यापार सुरु गरेको कम्पनीले वार्षिक १ करोड ३० लाख लिटर मदिरा उत्पादन गर्न सक्ने क्षमतामा उद्योग विस्तार गरेको थियो । कम्पनीले विशेषगरी बियर उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले पछि आफ्नो क्षमता थप विस्तार गरी वार्षिक २ करोड ४० करोड लिटर मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीले आगामी दिनमा थप क्षमता विस्तार गर्ने योजनासहित वार्षिक ३ करोड ६० लाख लिटर मदिरा उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले अर्ना, यति, शिखर, वाईबी, किङफिसर र सेभेन सिन बान्डको ११ वटा वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर २१४ वटा वितरक छन् र सञ्जीव सराफको ३२.८४ प्रतिशत, जयजिब सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.९२ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि २ अर्ब ९७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ अर्थात् ट्रिपल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ४५ करोड एथ्री प्लसको रेटिङ पाएको छ । विशाल ग्रुप र एभरेस्ट ग्रुपको संयुक्त लगानी रहेको कम्पनीको अध्यक्ष विशाल अग्रवाल हुन् भने सञ्जीव सराफ प्रबन्ध निर्देशक हुन् ।

भारतको युनाइटेड ब्रुअरीसँग ट्रेडमार्क लाइसेन्स र वितरकमा सम्झौता गरेको कम्पनीले सन् २०१८ देखि नेपालमा किङफिसर बियर बिक्री गर्न सुरु गरेको थियो । कम्पनीअनुसार अर्थतन्त्रमा देखिएको सुस्तता र तरलता अभावले गर्दा सन् २०२३ मा २६ प्रतिशतले कम व्यापार भएको हो ।

कम्पनीअनुसार सन् २०२३ मा १६ प्रतिशतले परिमाणात्मक बिक्री वितरणमा कमी आएको छ ।

त्यसै गरी, गत वर्षको वार्षिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ३६ प्रतिशतले कम कारोबार गरेको छ । चालु आर्थिक वर्षमा पनि अर्थतन्त्रको गतिविधिले गति लिन नसक्दा व्यापार गिरावट आएको उल्लेख छ ।

सन् २०२३ मा उत्पादन लागत २४ प्रतिशतले बढ्दा नाफामा प्रभाव परेको छ । कम्पनीले सन् २०२२ मा २९.४३ नाफा कमाएकोमा सन् २०२३ मा २१.६७ प्रतिशत मात्रै नाफा कमाएको छ ।


क्लिकमान्डु