आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै होमस्टे, सप्ताहन्तमा घरवास पाउनै मुस्किल



काठमाडौं । आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्न सफल भएको छ देशैभरका घरवास अर्थात होमस्टे । ग्रामीण परिवेश बुझ्ने, परिवारका सदस्यसँगै खानबस्न, ग्रामीण संस्कृतिमा घुलमिल हुन चाहने स्वदेशी र विदेशी दुबै लागि होमस्टे उपयुक्त गन्तव्य बनेको छ ।

विदेशी पर्यटकको लागि सिजन हुन्छ भने नेपाली १२ महिना घुम्न निस्कने गरेका छन । घुम्न निस्कने नेपालीकै कारण सप्ताहन्तमा होमस्टे भरिभराउ हुने गरेको छ । आन्तरिक पर्यटकले छोटो घुमघाम गर्ने उपयुक्त गन्तव्य पनि होमस्टे बसाई हुन थालेको छ ।

दुई चार जना साथीभाई जम्मा हुने र काठमाडौं नजिकका होमस्टेमा गएर रमाइलो गर्ने संस्कृति बढेकै कारण उपत्यका वरपरका होस्टेलाई सप्ताहन्तमा सेवा दिन भ्याइनभ्याइ हुन्छ । आन्तरिक पर्यटक होटल, रेस्टुरेन्टको तुलनामा सकेसम्म होमस्टेमै बस्न रुचाउने गरेकोले पनि शुक्रबार र शनिबार प्रायः उपत्यका वरपरका होमस्टे पाउँदै मुश्किल हुने गरेको होटस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलले बताए ।

उनले भने ‘उपत्यका आसपसमा मात्रै नभएर देशैभरका होमस्टेमा विदेशीभन्दा नेपाली धेरै पुग्ने गरेका छन । होटलको तुलनामा सस्तो र सुलभ मूल्यमा खान बस्न पाइने तथा गुणस्तरीय खानासहित सबैजसो समूदायले आआफ्नो सांस्कृतिक गतिविधि देखाउने भएकोले पनि पछिल्लो समय होमस्टेप्रति आन्तरिक र बाह्य पर्यटकको रुची बढेको देखिन्छ ।

नगरकोट सामूदायिक होमस्टेका अध्यक्षसमेत रहेका बास्तोलाका अनुसार २ हजारमै ३ छाक खानबस्नसहित सांस्कृतिक कल्चर पनि हेर्न पाइने भएको हुँदा घरबास पर्यटन सहजै फस्टाएको हो । पछिल्लो समय होमस्टेमा पनि समूहमा आउनेको र रमाइलो गर्ने प्रवित्ति बढेको छ । सामूदायिक होमस्टे गाउँभरी हुने र पाहुना आउँन सामूहिक रुपमा स्वागत सत्कार गर्ने र सांस्कृतकि गतिविधि गर्न पनि समूहलाई नै होमस्टेले रुचाउँछन । बास्तोलाले भने ‘हामीसँग १० वटा घरमा रहेको होमस्टेले एकपटकमा ६० जनासम्मलाई राख्न सक्छ । १० जनाभन्दा बढीको समूहमा आउने सबै ग्रूपलाई सांस्कृतिक गविविधि देखाएर मनोरञ्जन दिने गरिएको छ ।’

उपत्यका नजिक भएकोले आन्तरिक र बाह्य पर्यटकको चाप भइरहने यो होमस्टे प्रायः खालि हुँदैन । स्वदेशी र विदेशी पाहुना भइरहने हुँदा स्थानीयलाई अतिरिक्त आयआर्जनको स्रोतमसेत जुटेको बास्तोलले बताए ।

९९ प्रतिशत विदेशी पर्यटक भित्र्याउँदै पनौती होमस्टे

काभ्रेको पनौतीमा रहेको एउटा होमस्टेले पनि ९९ प्रतिशत विदेशी पर्यटकलाई सेवा दिँदै आएको छ । आन्तरिक पर्यटक पनि राख्ने यो होमस्टेमा भने विदेशी पर्यटककै आकर्षण छ । सहर नजिकको ग्रामीण बस्ती भएको, ग्रामीण परिवेशमा घुलमिल हुँदै विदेशीलाई सिजन अनुसारको कामको अनुभव दिलाउने भएको यो होमस्टेमा विदेशीको चाप बढेको पनौती सामूदायिक होमस्टेकी अध्यक्ष शीला अमात्यले बताइन । यो होमस्टे नेपालको पहिलो महिला सामूदायिक होमस्टे पनि हो । यहाँ १७ वटा घरमा होमस्टे सञ्चालन छ ।

पनौती होमस्टेमा विदाको दिन पाहुनाले प्रायः सधै भरिएको हुन्छ । यहाँ विदेशी पाहुनाले प्रायः खाली नै हुँदैन । विभिन्न ट्राभल एजेन्सीमा प्रचार गरेपछि गति लिएको यो होमस्टेमा विभिन्न देशबाट समूहमै पर्यटक आउने गरेका छन । ट्राभलले पर्यटकलाई नेपाल भ्रमणमा एक दिने प्याकेज होमस्टेसमेत बनाइदिएको कारण आफूहरुलाई पाहुना खोज्ने खाँचो नभएको अमात्य बताउँछिन । उनले भनिन्, ‘ट्राभलले लोकल एक्सपिरियन्सका रुपमा हाम्रो होमस्टेलाई राखिदिने गरेको छ जसका कारण यहाँ आउने पाहुनामा ९९ प्रतिशत विदेशी नै हुने गरेका छन् ।’

होमस्टेमा १० जना भन्दा बढीको समूहमा आएका पर्यटकलाई सांस्कृतिक कार्यक्रम देखाउने गरिएको छ भने जुन सिजनमा आउँछन त्यही सिजनको काम गराएर नेपाली भूमिको अनुभव दिलाउने गरिएको पनौती होमस्टेले जानकारी दिएको छ । पर्यटक धान रोप्ने सिजनमा आउँदा रोप्न पाइने, काट्ने सिजनमा आउदा धान भित्र्याएको अनुभन लिन पाउने हुन्छन भने साझँविहान घरायसी कामको अनुभव पनि सबैजसो पाहुनाले रुचाउँछन ।

विसं २०६५ सालमा अमात्यको एउटा घरबाट मात्रै शुरु भएको उक्त होमस्टे २०७०मा सामूदायिक भएपछि पनि गाउँको पहिचान नै फेरिएको छ । यो पनौती होमस्टेमा आउने स्वदेशी पाहुनालाई प्रतिव्यक्ति २ हजार र विदेशीलाई २५ सय रुपैयाँ लिएर सेवा दिने गरेको छ।

देशैभर फैलियो होमस्टे संस्कृति, हरेक जिल्लामा घरवासको सुविधा

सरकारले सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउन ल्याएको ग्रामीण क्षेत्रमा पर्यटक पुर्याउने उद्देश्यको होमस्टे पर्यटन पछिल्लो समयको सफल पर्यटकीय प्रडक्ट हो । सरकारले नेपाल आएका पर्यटकमध्ये ६० प्रतिशतलाई गाउँमा पुर्याउने र पर्यटनको लाभ गाउँगाउँलाई दिने ध्येयले ल्याएको होमस्टे पर्यटन अहिले देशैभर विस्तार भएको छ ।

हाल देशैभरका ६८ जिल्लाका ६०० होमस्टे महासंघमा आवद्ध भएका छन । महासंमा आवद्ध भएका मात्रै १५ सय गाउँलाई होमस्टेले जोडेको छ । महासंघमा आवद्ध भएका होमस्टले सबैले समान शुल्कमा समान सेवा दिने गरेका छन । सरकारले तोकेको होमस्टे मापदण्डभित्र रहेर सबै होमस्टेले सन्तोषजनक सेवा दिइरहेको पनि महासंघले जानकारी दिएको छ ।

महासंघमा आवद्ध भएकामध्ये सबैभन्दा धेरैलाई सेवा दिन सक्ने र क्षमता बढी भएको इलामको श्रीअन्तु सामूदायिक होमस्टे हो । यो होमस्टेमा ८० वटा घर आवद्ध छन । यो होमस्टेले एकैपटकमा ५ सय पर्यटकलाई सेवा दिन सक्छ ।
यो बाहेक चितवनको माडीमा रहेको हामेस्टे ७ वटा फरक फरक समूदायको सांस्कृतिक कल्चर पस्कन सक्छ । सबै क्षेत्रका होमस्टेको आआफ्नै विशेषता भएकोले सबैको महत्व पनि त्यति नै बढीरहेको छ ।

नेपालीको घुम्ने संस्कृतिलाई पहिचान गराउन होमस्टेले नै सहयोग पुर्याएको छ । एउटा गाउँको मान्छे अर्को गाउँमा जाने, रहनसहन संस्कृति, खानपान बुभ्mने र एक रात बसेर आउने परिपाटी बढेको पर्यटन व्यवसायी बताउँछन ।

पर्यटन व्यवसायी मधुसूदन उपाध्याय होटलमा खर्च गर्न नचाहने, थोरै खर्चमै घुम्न खोज्ने र सामाजिक सञ्जाल कारण घुम्न निस्कनेका कारण होमस्टे फेसनजस्तै भएको बताउँछन । विद्यार्थी, साथीभाई, परिवारका सदस्यदेखि संस्थागत रुपमा समेत होमस्टेमै जान रुचाउने गरेका छन । होमस्टे व्यक्तिगत पहुँच प्रयोग गरेर जान सहज भएको र बस्न खान समस्या नहुने भएकोले स्वदेशी र विदेशी दुबैको आकर्षण बढेको पनि उपाध्यायको भनाइ छ ।

देशका विभिन्न ठाउँमा पर्यटक प्रडक्ट विकास गर्न होमस्टेले सहयोग गरेको छ । देशका विभिन्न डाँडाकाँडा पर्यटकीय प्रडक्टको रुपमा विकास हुन थालेपछि यसले खर्च गर्ने संस्कृतिलाई पनि बढाएको छ । पर्यटन व्यवसायी उपाध्यायका अनुसार एक पटकमा १० हजार खर्च गर्ने गरी घुमघाममा निस्कने नेपालीको संख्या अधिक छ ।


क्लिकमान्डु