दुई किलो चिनी किन्न धादिङबाट काठमाडौंमा



काठमाडौं । बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिस दुई किलो चिनी किन्न काठमाडौं आएका छन् ।

दसैंतिहारको समयमा बजारमा चिनी नपाएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका छन् । दसैंतिहारमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्छन् तर सरकारले दायित्व निभाउन नसकेको उनले बताए ।

मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपरेको भन्दै उनले आक्रोश व्यक्त गरे । चिनीलगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता समयमा नै गराउनुपर्ने दायित्व भए पनि सरकारले बिर्सेको उनको आरोप छ ।

भट्टराईले धादिङका खाद्यान्न पसलहरुमा चिनी नपाएको र पाए पनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनुपरेको गुनासो गरे ।

त्यस्तै, उपभोक्ता सावित्रा उप्रेतीले सहुलियत पसलमा चिनी किन्न दुई घण्टा लाममा बस्नुपर्‍यो । ‘नेपालीको मुख्य चाड दसैं र तिहारमा सरकारले आवश्यकता हेरेर समयमै चिनी उपलब्ध नगराएर जनतालाई दुःख दिएको छ,’ उनले भनिन् ।

त्यस्तै, कीर्तिपुरबाट चिनी किन्न सहुलियत पसल आएकी पवित्रा थापाको पनि उस्तै गुनासो छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा किन्न आएको बताइन् । ‘सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएका छन्,’ उनले भनिन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ किलोका दरले उपलब्ध गराउने बताए । चिनी अभावका कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताको भीड रहेको उनको भनाइ छ ।

चिनी अभाव हुने विषयमा जेठमै जानकारी गराए पनि सरकारले तत्काल स्वीकृति नदिँदा चिनीमा समस्या आएको उनले बताए । ‘सरकारले समयमै स्वीकृति दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्नुपर्ने अवस्था आउने थिएन,’ उनले भने ।


क्लिकमान्डु