महँगी नियन्त्रण गर्न सरकार असफल



काठमाडौं । सरकार महँगी नियन्त्रण गर्न असफल भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार भदौमा सरकारको लक्ष्यभन्दा महँगी बढी देखिएको हो ।

सरकारले बजेटमार्फत महँगी ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए पनि चालु आर्थिक वर्षको दुवै महिनामा महँगी बढ्दो क्रममा छ । साउनमा ७.५२ प्रतिशत रहेको मुद्रास्फीति भदौमा ८.१९ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ८.१९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ । भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत रहेको छ ।

यस्तै होटलको १०.९७ प्रतिशतले बढेको छ । भदौमा घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १३.०८ प्रतिशतले घटेको छ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत र विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.१८ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत छ । २०७९ भदौमा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत थियो ।

२०८० भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत छ । गत वर्ष भदौमा यस्तो मुद्रास्फीति १४ प्रतिशत थियो । भदौमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत छ । समीक्षा अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु