आईपीओ ल्याउन लागेको विद्युत प्राधिकरणले एकै वर्षमा गर्यो १ खर्ब बढीको व्यापार
काठमाडौं । ६० अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको नेपाल विद्युत प्राधिकरणले एकै वर्ष एक खर्ब बढीको व्यापार गरेको छ ।
प्राधिकरणले सन् २०२३ मा १ खर्ब ९ अर्ब ८१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त व्यापार हालसम्मकै उच्च हो ।
प्राधिकरणले सन् २०२२ मा ९७ अर्ब २६ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ७८ अर्ब ७४ करोड १० लाख रुपैयाँ, सन् २०२० मा ७६ अर्ब ७ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा ७१ अर्ब ३९ करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा ५८ अर्ब ७५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
प्राधिकरणले १ खर्ब रुपैयाँ विद्युत बेचेर आम्दानी गरेको उल्लेख छ । बाँकी १० अर्ब रुपैयाँ ग्राहकले विगतको दिनमा भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम उठेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो ।
विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ ।
प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निश्कासनको प्रस्ताव गरिएको छ ।
प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यती नै रकम प्रिमियम थप गरी सेयर निश्कासनको प्रस्ताव गरिएको छ ।
प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरुले निर्माण गर्ने जलविद्युत आयोजनाहरुसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरिहेको छ ।
सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र सेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ ।
प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धाले प्राधिकरणलाई अल्कालीन रुपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८०मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ । प्रणालीको विद्युत् चुहावट १३.४६ प्रतिशत छ ।
प्राधिकरणको सम्पत्ति सन् २०२३ को जुलाईसम्ममा २ खर्ब ४३ अर्ब रुपैयाँ छ ।