दुध किसानको एक महिनाको पनि भुक्तानी बाँकी रहँदैनः कृषिमन्त्री



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानको दुधबापतको रकम एक महिनाको पनि वक्यौता नरहने गरी गृहकार्य भइरहेको बताएका छन् । मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले यो गृहकार्यले सार्थकता पाएपछि किसानको बक्यौता रकम बाँकी नरहने दाबी गरे ।

‘दुध किसानबाट दुध खरिद गरेबापत सरकारी र निजी क्षेत्रले दिनुपर्ने भुक्तानी एक महिना पनि बाँकी नरहने गरी गृहकार्य सुरु गरेका छौं,’ उनले भने, ‘यो गृहकार्यले आगामी दिनमा कुनै पनि किसानको एक महिनाको पनि बक्यौता रहँदैन ।’

उनका अनुसार दुग्ध विकास संस्थान र निजी क्षेत्रसँग मौज्दात रहेको धुलो दुध र मख्खन सस्तोमा बिक्री गर्ने र ती दुवै उत्पादनलाई धितो मानेर राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकबाट ऋण लिने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘स्टकमा रहेको धुलो दुध र मख्खनलाई धितो मानेर ऋण उपलब्ध गराउन ती दुवै बैंकसँग विभिन्न चरणमा सकारात्मक छलफल भएको छ, यसले सकारात्मक रुप लिएपछि बैंकबाट प्राप्त हुने ऋणबाट सबै किसानले सहज रुपमा भुक्तानी पाउन सक्षम हुनेछन्,’ मन्त्री भुसालले भने ।

मन्त्री भुसालले आगामी समयमा अत्यधिक उत्पादन हुने दुधको व्यवस्थापन पनि गर्न लागिएको जानकारी दिए । असोजदेखि दुध अत्यधिक उत्पादन हुने समय हो । अहिले नै उत्पादन भएको दुध खपत हुन नसकेर किसानले सडक र खोलामा फालेर विरोध गरिरहँदा मन्त्री भुसालले मागभन्दा बढी उत्पादन भएको दुध खेर जान नदिन मन्त्रालय सहज रहेकाले बढी भएको दुधको व्यवस्थापन गर्न पनि गृहकार्य गरिरहेको दाबी गरे । तर बढी भएको दुध कसरी व्यवस्थापन गर्ने विषयमा उनले कुनै जानकारी दिएनन् ।

अहिले बजारमा दुधको खपत करिब ३० देखि ४० प्रतिशतले घटेको छ । यसले गर्दा किसानबाट उत्पादित दुधमध्ये डीडीसी र निजी क्षेत्रले झन्डै ३० कटौती गरेर दैनिक रुपमा खरिद गर्दै आएको छ । बाँकी रहेको दुध बिक्री नहुँदा किसानले सर्लाहीबाट सोमबारदेखि दुध फाल्न थालेका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानलाई दसैंअघि १५ दिनको मात्रै भुक्तानी उपलब्ध गराउने तयारी गरेको छ । डीडीसीले मात्रै ४ महिनाको अवधिमा खरिद गरेको दुधबापतको ६२ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

डीडीसीका एक अधिकारीका अनुसार रकम अभावका कारण दसैंअघि साउन १ देखि १५ सम्मको १५ दिन अवधिको भुक्तानी गर्न तयारी भएको छ । जसअनुसार देशभरका दुग्ध सहकारी संस्था र पशुपालक फर्मलाई करिब ८ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

निजी र डीडीसीले असोज १५ सम्म करिब ८ अर्बको हाराहारीमा दुध खरिद गरेबापत दुग्ध किसानलाई भुक्तानी गर्न बाँकी छ । डीडीसी र निजी क्षेत्रका डेरीमा गरी अहिले २ अर्ब ८० करोड रुपैयाँबराबरको ४ लाख ३० हजार ४ सय टन पाउडर दुध मौज्दात छ ।

यस्तै १० अर्ब रुपैयाँबराबरको ६ लाख टन मख्खन मौज्दात छ । मख्खनको बजार मूल्य प्रतिकिलो १ हजार ५० रुपैयाँ छ । यसैगरी २५ किलोको पाउडर दुधको एक व्यागको मूल्य १० हजार ५ सय रुपैयाँ छ । मन्त्री भुसालले डीडीसीको उत्पादन गर्ने दुग्धजन्य उत्पादनहरु बिक्री गर्न पनि विशेष स्किम सार्वजनिक गरेका छन् ।

यस्तो छ, डीडीसीको छुट मूल्य

नयाँ मूल्यअनुसार ९७ रुपैयाँ पर्ने स्ट्याण्डर्ड दुधमा २ रुपैयाँ छुट दिएर ९५ रुपैयाँ प्रतिलिटर बनाइएको छ । यस्तै १९० रुपैयाँ प्रतिकिलो दहीको मूल्यमा २० रुपैयाँ घटाएर १७० रुपैयाँ बनाइएको छ ।

त्यस्तै ५०० रुपैयाँ पर्ने आधा किलो पनिरको मूल्यमा ५० रुपैयाँ छुट दिएर ४५० रुपैयाँ मूल्य तोकिएको छ । यसैगरी १ हजार १ सय रुपैयाँ पर्ने नौनीको मूल्यमा १०० रुपैयाँ छुट दिएर १ हजार मूल्य तोकिएको छ । त्यसैगरी १ हजार २ सय रुपैयाँ पर्ने घ्युको मूल्यमा सय रुपैयाँ घटाएर १ हजार १ सय रुपैयाँ मूल्य तोकिएको छ ।

१ हजार २५० रुपैयाँ पर्ने याक नौनीको मूल्यमा १५० रुपैयाँ घटाएर १ हजार १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । ९६० रुपैयाँ पर्ने याक चिजमा ६० रुपैयाँ छुट दिएर ९ सय रुपैयाँ तोकिएको छ ।

एक दिनमा साढे ३ हजार खसीबोकाको स्वास्थ्य परीक्षण

पत्रकार सम्मेलनको क्रममा मन्त्री भुसालले आइतबारमात्रै पशु सेवा विभागको विशेष स्वास्थ्यकर्मीसहितको टोलीले उपत्यकाका विभिन्न स्थानमा ३ हजार ७०६ वटा खसीबोकाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार यसमध्ये ३ हजार ३२२ खसी र ३८४ बोकाको स्वास्थ्य परीक्षण गरिएको  छ ।

यस्तै १४ बाख्रा, ४९ राँगाभैंसी र ४६६ च्याङ्ग्राको पनि स्वास्थ्य परीक्षण गरिएको छ । पशु सेवा विभागले आइतबारदेखि चाडवाड केन्द्रित खसीबोकाको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।


क्लिकमान्डु