युवा पलायन र महँगीले हराउँदै चर्खे पिङ



बागलुङ । बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गत वर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । संरक्षण गर्ने उद्देश्यले सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिंगे पिङ मात्रै हाल्ने चलन थियो ।

यो वर्ष पनि चर्खे पिङ हाल्ने तयारी भइरहेको साझखोलाका जुना न्यूरेले बताइन् । ‘यहाँ पहिले लिंगे पिङ थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिंगेपिङको सट्टा चर्खेपिङ हालियो,’ उनले भनिन्, ‘१० वर्षअघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।’

न्युरेका अनुसार लिंगे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिंगे पिङ भने पाँच हजारमै तयार गर्न सकिने उनले बताइन् ।

यस्तै बागलुङ नगरपालिका सिगानाको सायकोट गाउँमा दसैंतिहारमा चर्खे पिङ नहालेको १० वर्ष भयो । १० वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको संख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दसैं र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिंगे पिङ हाल्न सुरु भएको थियो ।

दसैँमा भुइँ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिंगे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दसैं सुरु हुनुभन्दा महिना दिन अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुने भए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो ।

झन्डै दुई दशकअघि गाउँ-गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको संख्या निकै कम भएको बागलुङ बजारका काजी गाउँले श्रेष्ठले बताए । गाउँका युवा जम्मा भएर जंगलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि गाउँमा युवाको संख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको उनको भनाइ छ ।

चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फाट्टफुट्ट लिंगेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उनले बताए ।


क्लिकमान्डु