राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी, यसकारण आवश्यक पर्‍यो नयाँ गाइडलाइन



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी  गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि गाइडलाइन जारी गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकको ब्याजदर, विनिमयदर, तरलता जोखिमलगायतको अध्ययनका लागि गाइडलाइन तयार पारेको हो । गाइडलाइनमा सञ्चालनमा आइपर्ने जोखिम, कर्जा जोखिमको उतारचढावलगायत परीक्षण गर्नुपर्ने उल्लेख छ ।

यसअघि २०१२ को स्ट्रेस टेस्टिङ गाइडलाइन्स रहेकोमा त्यसलाई  प्रतिस्थापन गर्दै स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०२३ जारी गरिएको हो । यसले भविष्यमा आइपर्न सक्ने प्रतिकूल परिस्थितिहरुमा बैंकहरुको अवस्थालाई उजागर गर्ने अपेक्षा राष्ट्र बैंकको छ ।

सन् २०१२ देखि २०२३ सम्मको अवधिमा बैंकिङ क्षेत्रमा विभिन्न परिवर्तन देखिएसँगै चुनौती पनि थपिएको छ । सूचना प्रविधिमा निर्भरता बढेको उल्लेख गर्दै साइबर आक्रमणले बैंक तथा वित्तीय संस्थालाई सूचना सुरक्षामा स्रोत परिचालन गर्न बाध्य बनाएसँगै नयाँ गाइडलाइन्सको आवश्यकता परेको राष्ट्र बैंकले जनाएको छ ।

बासेल समितिले ‘दबाब परीक्षण सिद्धान्त २०१८’ मा तोकेका सिद्धान्तहरु नेपाली बैंकिङ उद्योगका लागि पनि उत्तिकै सान्दर्भिक रहेकाले सोही सिद्धान्त स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ मा अपनाइएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

वर्तमानमा भन्दा फरक आर्थिक एवं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाब वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा बाह्य कारण अर्थतन्त्रमा आउन सक्ने उतारचढावका कारण कुनै पनि बैंक वा वित्तीय संस्थाको पुँजी, तरलता र आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।


क्लिकमान्डु