आर्थिक वृद्धिको अनुमान घट्यो: इजरायल युद्धले महँगी बढाउने, मौद्रिक नीतिमा निरन्तर कडाइ गर्न सुझाव



मोरक्को (मराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतले घटाएको छ ।
कोषले गत अप्रिलमा प्रकाशित गरेको वर्ल्ड इकोनमिक आउटलुकमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि ३.५ प्रतिशतले हुने अनुमान गरेको थियो ।

मंगलबार मोरक्कोको मराकेसमा कोषले सार्वजनिक गरेको नयाँ आउटलुकमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि ३ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो । कोषले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि घटेर २.९ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ।

आईएमएफको प्रेस बिफ्रिङमा कोषका आर्थिक सल्लाहकार पियरे–ओलिभियर गौरिन्चले कोषले अपेक्षा गरे अनुसार आर्थिक गतिविधि बढ्न नसेकाले आर्थिक वृद्धिको लक्ष्य घटाउनु परेको बताए ।

‘महँगी नियन्त्रण गर्न प्राय देशहरुले कसिलो मौद्रिक नीति लिएको अवस्थामा विभिन्न युद्धहरुले समेत आर्थिक वृद्धिलाई नकारात्मक असर गरेको छ,’ कोषका अधिकारीहरुले पत्रकार सम्मेलनमा भने,‘तत्कालै आर्थिक गतिविधिमा सुधार हुने अवस्था देखिएको छैन । त्यसैले नीति निर्माताहरुले जिम्मेवार भएर निर्णय गर्नु पर्ने अवस्था छ ।’

सन् २०२३ मा विकसित राष्ट्रको अर्थतन्त्र १.५ प्रतिशत र उदयीमान राष्ट्रको अर्थतन्त्र ४ प्रतिशतले बढ्ने कोषले नयाँ अनुमान सार्वजनिक गरेको छ ।

गत अप्रिलमा कोषले सन् २०२३ मा विकसित राष्ट्रको अर्थतन्त्र २.६ प्रतिशत र उदयीमान राष्ट्रको अर्थतन्त्र ४.१ वृद्धि हुने अनुमान गरेको थियो ।

इजराइल युद्धले महँगी बढाउने अनुमान

प्यालेस्टाइन र इजराइलबीच गाजाँमा भएको युद्धलाई आफूहरुले सुक्ष्म रुपमा हेरिरहेका कोषका अधिकारीले जानकारी दिएका छन् । युद्ध सुरु भएपछि इन्धनको मूल्य विश्व अर्थतन्त्रका लागि चुनौतिपूर्ण हुने कोषको अनुमान छ ।

‘युद्धले इन्धनको उत्पादन र आपूर्तिमा समस्या सिर्जना गर्नेमा हामी सचेत छौं ,’ गौरिन्चले भने,‘ १० प्रतिशतसम्म मूल्य बढ्यो भने विश्वको आर्थिक वृद्धि ०.४ प्रतिशतसम्मले घट्ले अनुसन्धान विभागको प्रारम्भिक निष्कर्ष छ । हामी सबै घटनाक्रमलाई सुक्ष्मरुपमा हेरिरहेका छौं ।’

कोषले सन् २०२३ मा महँगी ६.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । महँगी नियन्त्रणमा नआउँदासम्म लचिलो मौद्रिक नीति लिन नहुने कोषको सुझाव छ ।

‘विशेष गरी इन्धनको मूल्य नियन्त्रणमा नआउँदासम्म महँगी घट्न सक्दैन् सक्दैन्,’गौरिन्चले भने,‘इन्धनको मूल्यवृद्धिले व्यवसायीक लागत बढाउँछ । त्यसैले केन्द्रीय बैंकहरुले इन्धनको मूल्यलाई ध्यान दिँदै मौद्रिक नीति बनाउनु पर्ने हाम्रो सुझाव छ।’

कोषले सन् २०२३ मा चीनको अर्थतन्त्र ५ प्रतिशत र भारतको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने अनुमान गरेको छ । भारतको आर्थिक वृद्धि अनुमान भन्दा राम्रो भएको कोषले जनाएको छ । सन् २०२३ मा भारतको आर्थिक वृद्धि ठूला अर्थतन्त्र मध्ये सबै भन्दा बढी छ ।

सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि २.१ प्रतिशत, युरो क्षेत्रको०.७ प्रतिशत, जापानको २ प्रतिशत, बेलायतको ०.५ प्रतिशत हुँदा जर्मनीको अर्थतन्त्र भने ०.५ प्रतिशतले खुम्चिने कोषको अनुमान छ ।

सन् २०२२ का युक्रेनसँगको युद्धले २.१ प्रतिशतको ऋणत्मक आर्थिक वृद्धि भएको रसियाको अर्थतन्त्र सन् २०२३ मा २.२ प्रतिशतले बढ्ने कोषको अनुमान छ ।

यस्तै, ब्राजिलको आर्थिक वृद्धि ३.१ प्रतिशत, मेक्सिकोको आर्थिक वृद्धि ३.२ प्रतिशत हुने कोषको अनुमान छ ।


शरद ओझा