३० वर्षअघि ३० रुपैयाँ सापटी मागेर साग बेच्न थालेकी ढाटीमाया



व्यापार सुरु गर्दा उनका आँखा चम्किला र दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उनले व्यापार छाडेकी छैनन् ।

सिन्धुली । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ ।’

सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छन् । कमलामाई नगरपालिका-४ पोख्रेल गाउँकी दर्जीले ३० रुपैयाँ लगानी गरेर व्यापार सुरु गरेकी हुन् । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा पाँच रुपैयाँमा ६ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ ।

व्यापार सुरु गर्दा उनका आँखा चम्किला र दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उनले व्यापार छाडेकी छैनन् ।

७९ वर्षीया दर्जी सानो लगानीमा स-साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएकी छन् । रोगले थलिएका श्रीमानको दरिलो आड र भरोसा उनलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उनले जोहो गर्नुपर्छ ।

यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताउँछिन् । ‘३० वर्ष पहिले ३० रुपैयाँ सापटी लिएर व्यापार सुरु गरेकी थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घर-व्यवहारको खर्च टार्न सहज भएको छ,’ उनले भनिन् ।

शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाँडाकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारी थिए । सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिछ्याएर अदुवा, लसुन, गुन्द्रुक, जिरे खुर्सानी भाग-भाग लगाएर उनी बेच्न बसेकी थिइन् ।

‘म पहिलादेखि यस्तै व्यापार गर्ने हो । तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने-पिट्ने र घर-व्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपर्थ्यो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौँतारिएँ । काम नपाएपछि विरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दीदी-बहिनीले तरकारी बेचेको देखेँ । नजिकै गएर उहाँहरुसँग व्यापार गर्ने तरिका सिकेँ । व्यापार सुरु गर्न श्रीमानसँग पैसा मागेँ । ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने सर्तमा दिनुभयो । त्यही पैसाले गाउँका किसानकहाँ गएर प्रतिमुठा पाँच रुपैयाँका दरले फापरको साग किनेँ । त्यो ६ मुठा साग बजार ल्याएर प्रतिमुठा १० रुपैयाँका दरले बेच्दा ३० रुपैयाँ नाफा कमाएँ । अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरेँ । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिएँ । तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु ।’

फुटपाथमा गरेको व्यापारमा उनी हाल दैनिक ५ हजारसम्मको कारोबार गर्छिन् । आफ्नो एक्लो संघर्षमा सानो लगानीबाट सुरु गरेको स-सानो व्यापार परिवारको बाँच्ने गतिलो आधार बनेको छ ।

मौसमअनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उनले बताइन् । ‘थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन । व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ,’ उनले भनिन् ।

ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सवल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन । सानो लगानीमा स-सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन् ।

कमलामाई-५ बोजेकी फूलमाया वाइबा पनि सिन्धुलीमाढीमा साप्ताहिक रूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्छिन् ।

श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । उनले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गरेकी थिइन् । यसबाट अहिले उनी उत्साहित मात्रै छैनन्, आत्मनिर्भर पनि बनेकी छन् ।

व्यापारबाट महिनामा १५ हजारमाथि नाफा कमाउने उनले बताइन् । ‘खेतीपाती गरेर खाऊँ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु । भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन । सबैलाई दैनिक खान चाहिन्छ,’ उनले भनिन् ।

कमलामाई-६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्छिन् । किसानसँग प्रतिगोटा १० का दरले हरियो मकै किनेर पोलेर २० देखि ३० सम्म बेच्ने गरेको उनले बताइन् । उनले वर्षौंदेखि हरियो मकै पोलेर बेच्दै आएकी छन् । मौसमअनुसारका अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आएकी छन् ।

पहिला खेर जाने जंगली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल आफैँ बजार पुर्‍याएर बिक्री गरी आम्दानी लिन थालेका छन् । यसले यहाँका महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउँदै लगेको छ ।

महिला आर्थिक रूपमा सबल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन् ।

यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उनीहरूको धारणा छ ।


क्लिकमान्डु