५० वर्षपछि अफ्रिकामा आईएमएफ र विश्व बैंकको वार्षिक बैठक सुरू, सबै देशबीच सहकार्य गर्न आह्वान



मोरोक्को (माराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठक अफ्रिका महादेशमा सुरु भएको छ ।

युरोपसँग नजिक रहेको मोरोक्कोको माराकेसमा सोमबारबाट सुरु भएको बैठक आगामी सोमबारसम्म चल्ने छ ।

गत महिनामात्रै विनाशकारी भूकम्पको चपेटामा परेको मोरोक्कोमा विश्व अर्थतन्त्रको विषयमा छलफल गर्न विश्वभरका अर्थशास्त्री भेला भएका छन् ।

सन् १९७३ मा पहिलोपटक अफ्रिका महादेशको केन्यामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक भएको थियो ।

त्यसबखत अफ्रिकाका कयौं देश युरोपको कोलनीअन्तर्गत थिए । हाल अफ्रिकाका सबै देशहरु स्वतन्त्र भइसेका छन् ।

प्रत्येक तेस्रो वर्षमा कोष र बैंकले अमेरिकाभन्दा वार्षिक बैठक आयोजना गर्ने गर्छन् । यसअघि सन् २०१८ मा कोष र बैंकको वार्षिक बैठक इन्डोनेसियामा भएको थियो ।

सन् २०२१ मा मोरोक्कोको माराकेसमा तय भएको कोष र बैंकको वार्षिक बैठक कोरोना महामारीले गर्दा स्थगित भएको थियो ।
सन् २०२६ मा कोष र बैंकको वार्षिक बैठक थाइल्याण्डमा आयोजना हुने छ ।

बैठकमा विश्व आर्थिक दृष्टिकोण, वित्तीय स्थायित्व, गरिबी निवारण, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत वैशिव्क चासोका विषयमा छलफल सुरु भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषकी आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना गर्गिएभा, विश्व बैंकका अध्यक्ष अजय बांगासहित १९० देशका अर्थमन्त्री र गभर्नर सहभागी छन् ।

उद्धघाटन सत्रमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी आईएमएफकी प्रबन्ध निर्देशक गर्गिएभाले सबै देशको सामुहिक प्रयासले विश्व अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सकिने बताइन् ।

‘अफ्रिकामा बैठक आयोजना गरेर कोषले समृद्ध अफ्रिका बनाउन प्रतिबद्ध रहेको सन्देश दिएको छ,’ गर्गिएभाले भनिन्, ‘हामी सबैको सामुहिक प्रयायले मात्रै विश्व अर्थतन्त्रमा देखिएका समस्या समाधान हुन सक्छन् ।’

बैठकमा नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ, अर्थ मन्त्रालयका उपसचिव नारायण ढकाल, अर्थ मन्त्रीका निजी सचिव होम पराजुली र राष्ट्र बैंकका सहायक निर्देशक पुष्पचन्द्र खनाल सहभागी छन् ।

मन्त्री महतसहित अर्थ मन्त्रालयको प्रतिनिधि मण्डल सोमबार बेलुका माराकेस पुग्ने कार्यक्रम छ भने राष्ट्र बैंकका गर्भनर अधिकारीसहितका अधिकारीहरु मोरोक्को पुगिसकेका छन् ।

माराकेसमा पुगेका गभर्नर अधिकारीले विश्वका कयौं देशबाट मन्त्री र गभर्नर सहभागी हुने यस्ता बैठक अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताए ।

बैठकमा अन्तर्राष्ट्रिय वित्त निगमका एशिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, यूएसएआइडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल समेत छलफल हुने तय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फिच रेटिङका प्रतिनिधिसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता हुनेछ ।

आइएमएफका प्रतिनिधीसँग संयुक्तरूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री महतले छलफल गर्नेछन् ।

विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारहरूका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघका उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सीका उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, बैठकमा गभर्नर अधिकारीले कोषका डेपुटी प्रबन्ध निर्देशक बो लीसँग नेपाल र कोषको सम्बन्धका विषयमा दुईपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, गभर्नर अधिकारीले बेलायतको केन्द्रीय बैंक, भारतको रिजर्ब बैंकका गभर्नरसँग पनि छलफल गर्नेछन् ।

‘नेपालमा हुँदा विश्वका कयौं देशसँग दुईपक्षिय भेट गर्न सम्भव हुँदैन,’ अधिकारीले भने, ‘यस्तो फोरमले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सहयोग गर्छ । यो बैठकमा पनि त्यसै अनुसार दुई पक्षिय भेटघाटका कयौं कार्यक्रम भएका छन् ।’


शरद ओझा