‘घर र कार्यालय दुवैमा लैंगिक विभेदविरुद्ध संघर्ष गर्नुपर्छ’
एजेन्सी । ‘घर र कार्यालय दुवैमा लैंगिक विभेदविरुद्ध संघर्ष गर्नुपर्छ’-७७ वर्षिया अर्थशास्त्री क्लाउडिया गोल्डिनले सन् २०१९ मा लेखेको एक लेखको शीर्षक हो ।
उनले लेखको सुरुवातमा लेखेकी छिन्–१९७० को दशकमा कलेजमा गएर पढेका अमेरिकी महिलाहरुले सफलतालाई परिवार र करिअर भएको आधारमा परिभाषित गर्न सुरु गरेका थिए । २००० को दशकमा उनीहरु पुरुषको बाहुल्यता रहेको क्षेत्रमा पनि प्रवेश गरेका थिए । तर, अहिले पनि महिलाले पुरुषभन्दा कम आम्दानी गर्छन्, जसलाई हामी लैंगिक असमानताका रुपमा हेर्छौं।
गोल्डिनको यो लेख सिकागो बुथ डट इडियुमा पढ्न सकिन्छ । उनले दशकौंअघिको अवस्था र अहिलेको अवस्थामा पनि लैंगिकताकै आधारमा श्रम क्षेत्रमा महिलाले भोग्नु परेको विषयलाई यस लेखमा सम्बोधन गरेकी छिन् ।
श्रम क्षेत्रमा महिलाबारे गरेको अनुसन्धानका लागि यस वर्षको अर्थतन्त्रतर्फको नोबेल पुरस्कार उनले पाइन् । आइतबार नोबेल पुरस्कार प्रदान गर्ने रोयल स्वडीस एकेडेमी अफ साइन्सले २०२३ को अर्थतन्त्रमा पुर्याइएको योगदानका लागि प्रदान गरिने पुरस्कार गोल्डिनलाई दिने घोषणा गरेको हो।
गोल्डिन हार्वड विश्वविद्यालयमा प्राध्यापकको रुपमा रहेकी छिन् । सन् १९६९ मा पहिलो पटक अर्थतन्त्रका लागि प्रदान गरिएको नोबेल पुरस्कारमा गोल्डिन तेस्रो महिला हुन्, जसले यो पुरस्कार पाएकी छिन् । र यो पहिलो पटक एकल रुपमा प्रदान गरिएको छ ।
गोल्डिनलाई अमेरिकी अर्थव्यवस्थामा महिलामाथि उनले गरेका ऐतिहासिक कामहरुका लागि चिनिन्छ । उनले अमेरिकी श्रम बजारमा महिलाको अवस्था र उनीहरुलाई भइरहेको व्यवहारको बारेमा कैयौं शोध गरेकी छिन् ।
हार्वर्डको हेनरी लीमा प्राध्यापक रहेकी उनले १९८९ देखि २०१९ सम्म नेसनल ब्युरो अफ इकोनोमिक रिचर्स(एनबीईआर)को अमेरिकी अर्थव्यवस्था कार्यक्रममा विकास विभागमा निर्देशक थिइन् । उनी एनबीईआरमा जेन्डर इन द इकोनोमी ग्रुपमा सहनिर्देशक पनि छिन् ।
आर्थिक इतिहासकार र श्रम अर्थशास्त्री रहेकी गोल्डिनका शोधहरु महिलाको श्रम शक्ति, कमाइमा हुने लैंगिक असमानता, आय असमानता, प्राविधिक परिवर्तन, शिक्षालगायतका विषयमा केन्द्रित छन् ।
उनका अधिकांश शोधहरु विगतको अवस्थाबाट वर्तमानको व्याख्या गर्नमा केन्द्रित छन् । वर्तमानमा सिर्जना भइरहेका समस्याहरुलाई उनी विगतको अवस्थासँग जोडेर हेर्ने गर्छिन् । उनले श्रम बजारमा महिलाको कमाइको विषयमा पहिलो पटक विस्तृत विवरणहरु प्रदान गरेकी थिइन् ।
गोल्डिनको व्यक्तिगत जीवन हेर्ने हो भने उनी १९४६ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी हुन् । बाल्यकालमा पुरातत्वविद् हुने लक्ष्य राखेकी उनले पौल डि क्रुइफको ‘द माईक्रोब हन्टर्स’ नामक पुस्तक माध्यमिक विद्यालयमा हुँदा अध्ययन गरेपछि ब्याक्टेरियोलोजी (ब्याक्टेरियाहरुको अध्ययन)तर्फ जाने लक्ष्य लिएकी थिइन् । उनले कर्नोल विश्वविद्यालयमा माइक्रोबायोलोजीमा छोटो समयको अध्ययन गरिन् ।
तर, पछि उनको लक्ष्य फेरियो । अमेरिकी अर्थशास्त्री तथा राजनीतिक विशेषज्ञ अल्फ्रेड खानको कक्षामा उनले अर्थशास्त्रको प्रयोगबाट लुकाइएका सत्यहरुको उद्घोटन हुन्छ भन्ने कुरा सुनेपछि उनी औद्योगिक संगठन र नियमनजस्ता विषयमा आकर्षित भइन् । आफ्नो सिनियर थेसिस भने उनले कम्युनिकेसन सेटलाइटस्हरुमाथि लेखेकी थिइन् ।
स्नातकको अध्ययन कोर्नेल विश्वविद्यालय सकेपछि उनले सिकागो विश्वविद्यालयमा अर्थशास्त्रमा पीएचडी अध्ययन गर्न थालेकी थिइन । औद्योगिक संगठनहरुकै विषयमा अध्ययन गर्ने लक्ष्य राखेकी उनले अधययन सुरु गरिन् । तर, अर्थशास्त्री बेकर सिकागो आएपछि उनी श्रम अर्थशास्त्र र आर्थिक इतिहासतर्फ आकर्षित भइन् । बेकरले पछि १९९२ मा नोबेल पुरस्कार पाए । उनी सिकागो विश्वविद्यालयमा अर्थशास्त्र विभागलाई नेतृत्व गर्ने तेस्रो पुस्ता हुन् ।
संयोग भने बेकरले पनि समाज र अर्थतन्त्रलाई एकै साथ राखेर काम गरेका थिए, गोल्डिनले पनि त्यसै गरिन् । महिलाको श्रम क्षेत्रको अवस्थाबारेको उनको योगदानले नै उनलाई आज नोबेल पुरस्कार दिलायो ।
गोल्डिनले सन् १९७२ मा उनले पिएचडी सकेकी थिइन । त्यसपछि अमेरिकाकै केही विश्वविद्यालयमा अध्ययापन गराएकी उनले १९९० मा हार्वड विश्वविद्यालयको अर्थशास्त्र विभागमा आवद्ध भएकी थिइन । उक्त विभागमा कार्यकाल प्रस्तावित हुने उनी पहिलो महिला हुन् । गोल्डिन १९७८ देखि नै एनबिईआरमा आवद्ध छिन् ।
गोल्डिनको परिचित भएको काम महिला र अर्थतन्त्रको विषयमा छ । उनका सबैभन्दा प्रभावशाली शोधहरु महिलाले आफ्नो करिअर र परिवारका लागि गरेको संघर्षको इतिहास, शिक्षामा महिला, ‘पिल’को महिलाको करिअर र वैवाहिक निर्णयमा प्रभाव, विवाहपछि महिलाको थरको सामाजिक महत्वजस्ता कुराहरु हुन् । उनले महिला रोजगारीको नयाँ लाइसाइकलको विषयमा पनि काम गरेकी छिन् ।
महिलाको श्रम र श्रममा समानताको विषयमा चर्चित रहेकी गोल्डिनको पहिलो पुस्तक भने दासत्वबारेमा थियो । ‘अर्बान स्लेभरी इन द अमेरिकन साउथ’नामक उक्त पुस्तक उनको पिएचडीको शोध थियो । त्यसपछि उनले अर्थशास्त्रका विभिन्न क्षेत्रहरुसँग सम्बन्धित रहेर शोध तथा पुस्तकहरु लेखेकी छिन् ।
१९७८ मा उनले अमेरिकी गृह युद्धको आर्थिक पाटोको विषयलाई लिएर फ्रांक लेविससँगको सहलेखनमा ‘द इकोनोमि कस्ट अफ द अमेरिकन सिभिल वार’ नामक शोधमा काम गरिन् । पछि केन्नेथ सोकोलफसँग अमेरिकामा भएको औद्योगीकरणको प्रारम्भिक चरण र त्यसमा महिला, बालबालिका, आप्रवासी र श्रम गर्ने परिवारको भूमिकाबारे शोध गर्दा उनलाई महिला कामदारको आर्थिक इतिहासको विषयप्रति आकर्षण भएको थियो । त्यसपछि भने उनले निरन्तर यहि क्षेत्रमा काम गरिन् । आर्थिक विकासमा महिला कामदार र उनीहरुको श्रमको भूमिका तथा पाउने व्यवहारकै विषयमा उनको शोधहरु केन्द्रित छन् ।
अर्थतन्त्र र महिलाको अवस्थाबारे केन्द्रित हुने गोल्डिनका शोधहरुमा सामाजिक पक्षलाई पनि उत्तिकै समेटिएको हुन्छ । गर्भनिरोधक चक्कीहरुको विषयमा उनले यससम्म महिलाको पहुँच हुनुले महिलाहरुलाई नयाँ अवसर प्रदान गरेको र समानताको क्रान्तिकारी परिवर्तनलाई गति दिनमा महत्वपूर्ण भूमिका निभाएको बताएकी थिइन् ।
पछिल्लो पटक उनको पुस्तक महिलाको करिअर र परिवारको विषयमा केन्द्रित भएर प्रकाशित भएको छ । सन् २०२१ मा प्रकाशित उक्त पुस्तकको नाम ‘करिअर एण्ड फेमेलीः वुमन्स सेन्चुरी लंग जर्नी टुवार्डस् इक्विटी’ हो ।
गोल्डिन अहिले विश्वमा रहेका महिला अर्थशास्त्रीहरुमा शीर्ष १० प्रभावशाली मानिन्छिन् । हालसालै अन्तर्राष्ट्रिय मुद्रा कोषले उनीमाथि तयार गरेको व्यक्तिचित्रमा भनिएको छ, ‘उनले ४० वर्षअघि अर्थतन्त्रमा महिला भन्ने कुराको अध्ययनको थालनी गरिन् र यसले नयाँ पुस्ताका थुप्रै महिला अर्थशास्त्रीहरुलाई प्रभाव पारेको छ । लैंगिक अर्थशास्त्रलाई मूलधारमा ल्याउन सहयोग पुर्याएको छ ।’