मोटरसाइकल र स्कुटरको व्यापार घट्दो, १० वर्षपछिकै कम आयात



काठमाडौं । भूकम्प तथा कोरोना महामारी जस्ता समयमा पनि उच्च कारोबार भएको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को व्यापार अहिले घट्दो क्रममा छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण मोटरसाइकल तथा स्कुटरको व्यापारमा पनि ठूलो धक्का पुगेको हो ।

कोरोना महामारीकै समयमा पनि दोब्बर–तेब्बर व्यापार गरेका मोटरसाइकल तथा स्कुटर कम्पनीहरु दसैंको माहोलमा पनि बजारमा माग नहुँदा चिन्तित छन् । गत वर्ष सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र तरलता अभाव भएको भन्दै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने मोटरसाइकल तथा स्कुटरको आयातमा प्रतिबन्ध गरेको थियो, जसले गर्दा व्यापारमा प्रभाव परेको थियो ।

गत वर्ष आयात प्रतिबन्ध र बजारमा देखिएको तरलता अभावले घटेको कारोबार यो वर्ष झनै घटेको व्यवसायीहरुको भनाइ छ । दसैंको माहोलमा व्यापार बढ्ने प्रक्षेपण गरेका व्यवसायीहरु बजारमा माग नहुँदा चिन्तित भएका हुन् ।

चार पाङ्ग्रे सवारी साधनको व्यापारमा गत वर्षको तुलनामा बढेको अवस्थामा मोटरसाइकल तथा स्कुटरको कारोबार नाजुक रहेको उनीहरुको भनाइ छ । बजारमा मोटरसाइकल तथा स्कुटरको व्यापार घट्दै गएपछि त्यससँग सम्बन्धित व्यवसायीहरुले किन घटिरहेको छ भन्ने विषयलाई लिएर छलफलसमेत गरेका छन् । 

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष धुव्र थापा दुई पाङ्ग्रे सवारी साधनको व्यापार घट्दो क्रममा रहेको बताउँछन् । अन्य सवारी साधनको व्यापारमा यो वर्ष केही सुधार देखिए पनि मोटरसाइकल तथा स्कुटरको व्यापार भने घटिरहेको छ ।

उनका अनुसार मोटरसाइकल तथा स्कुटरको व्यापार घट्नुको मुख्य कारण श्रम पलायन हो । ‘व्यवसायीहरुले अहिले दुई पाङ्ग्रे सवारी साधनको व्यापार घट्नुको मुख्य कारण श्रम पलायनलाई लिएको छ,’ उनले क्लिकमान्डुसँग भने ।

देशमा उपयुक्त रोजगारीको सिर्जन हुन नसक्दा दिनहुँ हजारौंको संख्यामा नेपाली युवा विदेश पलायन भइरहेको अवस्था छ । साथै, उच्च शिक्षाका लागि समेत नेपालबाट बिदेसिनेको संख्या बढ्दो छ । उच्च संख्यामा मोटरसाइकल तथा स्कुटरको प्रयोगकर्ता नै विदेश पलायन भएको अवस्थामा त्यसको प्रत्यक्ष असर व्यापार देखिएको उनले बताए ।

‘नेपालमा युवाले बढी मात्रामा दुई पाङ्ग्रे सवारी साधन प्रयोग गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘अहिले उक्त वर्गको जनसंख्या विदेश पलायन हुँदा खरिद गर्नेको संख्या निकै घटेको हो ।’

वैदेशिक रोजगारीमा जानेको अवस्था हेर्ने हो भने गत वर्ष हालसम्मकै उच्च संख्यामा नेपाली युवा बिदेसिएका छन् । सरकारी तथ्यांकअनुसार गत वर्ष ७ लाखभन्दा पनि बढी युवा बिदेसिएका छन् । त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा १ लाखभन्दा बढी युवा विदेशिएका छन् । उच्च शिक्षाका लागि जाने युवाको संख्या पनि उल्लेख्य छ ।

अहिले आर्थिक संकुचनले नेपालीहरुको क्रयशक्ति घटेको हुनाले पनि व्यापार सुधारोन्मुन नदेखिएको थापाको भनाइ छ ।

१० वर्षयताकै कम आयात

बजारमा माग नभएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १० वर्षपछिकै कम आयात भएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ९ करोड ६८ लाख रुपैयाँको २७ हजार ५९२ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको छ, जसबाट नेपालले ३ अर्ब ११ करोड  ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले आव २०७९/८० को दुई महिनाको अवधिमा ४ अर्ब ११ करोड १४ लाख रुपैयाँको ४३ हजार ४५१ वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको थियो । त्यस्तै, आव २०७८/७९ मा  ६ अर्ब २१ करोड ३५ लाख रुपैयाँको ६४ हजार ७१६ वटा र आव २०७७/७८ मा २ अर्ब ५८ करोड ८८ लाख रुपैयाँको २८ हजार १०८ वटा आयात गरेको थियो । उक्त वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा आयातमा प्रभावित भएको देखिन्छ ।

त्यसैगरी, नेपालले आव २०७६/७८ को दुई महिनाको अवधिमा ६ अर्ब ६ करोड २२ लाख रुपैयाँको ७२ हजार १३३ वटा, आव २०७५/७६ मा ५ अर्ब १७ करोड १६ लाख रुपैयाँको ६१ हजार ३५० वटा, आव २०७३/७४ मा ४ अर्ब ३१ करोड ९८ लाख रुपैयाँको ५८ हजार २०१ वटा र आव २०७२/७३ मा ३३ हजार २०५ वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको थियो ।

विभागमा आव २०७२/७३ भन्दा अगाडिको तथ्यांक मासिक तथ्यांक उपलब्ध नहुँदा समावेश गरिएको छैन । उक्त आर्थिक वर्षमा नेपालले १ लाख ५७ हजार ४५१ वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको थियो ।


अरिष्मा मोक्तान