सेकेन्ड ह्यान्ड कारको व्यापार २५ प्रतिशतले घट्यो, दसैंमा फर्किएला त बजार ?



काठमाडौं । आर्थिक संकुचनले बजारमा माग कम हुँदा सेकेन्ड ह्यान्ड कारको व्यापारमा समेत कमी आएको छ । विगतको दिनमा उच्च व्यापार गर्दै आएको यस क्षेत्रमा आर्थिक संकुचनले उच्च प्रभाव पारेको हो ।

सीमित बजेटका कारण महँगा कार खरिद गर्न गाह्रो पर्ने मध्यमवर्गीय परिवारका लागि कार चढ्ने रहर सेकेन्ड ह्यान्ड बजारले पूरा गर्दै आएको छ । तर, अर्थतन्त्रमा देखिएको समस्यासँगै व्यक्तिगत आम्दानी प्रभावित हुँदा व्यापारमा कमी आएको व्यवसायीले बताएका छन् ।

कोरोनाको समयमा सार्वजनिक यातायात प्रयोग गर्दा कोभिड-१९ सर्ने उच्च जोखिम थियो, जसले गर्दा मध्यमवर्गीय मानिसहरु आफ्नो सुरक्षाका लागि सेकेन्ड ह्यान्ड सवारी साधनमा बढी आकर्षित भएका थिए ।

तर, अहिले भने व्यापार घटेको छ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष तथा आरके अटो सेन्टरका कार्यकारी प्रमुख रमेश कोइरालाका अनुसार माग कम हुँदा व्यापार २५ प्रतिशतले घटेको बताए । उनका अनुसार विगत वर्षहरुमा यो समयमा सेकेन्ड ह्यान्ड गाडीको उच्च किनबेच हुन्थ्यो । तर, यो वर्ष आर्थिक संकुचनले व्यापारको माहोल बन्न सकेको छैन ।

‘अहिले नयाँ सवारी साधनको व्यापारमा पनि कमी आएको अवस्थामा सेकेन्ड ह्यान्ड गाडीको व्यापार बढ्ने कुरा हुन्न,’ उनले क्लिकमान्डुसँग भने, ‘दसैं आउन अझै ३ साता बाँकी छ । यो अवधिमा केही मात्राले बढ्ने अनुमान भने भइरहेको छ ।’

दसैंको माहोलले केही मात्रामा व्यापार बढाए पनि विगतका वर्षहरुमा जस्तो व्यापार नहुने उनको आकलन छ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले कर्जामा केही सहज गरे पनि आर्थिक संकुचनले मानिसको क्रयशक्ति नै घटेको अवस्था छ ।

यो वर्ष २५ प्रतिशतले बजार खुम्चिए पनि पछिल्लो ६-७  महिनाको तुलनामा भने व्यापार बढेको कोइरालाले बताए । ‘केही महिना अघिसम्म तरलता अभाव र बैंकको ब्याजदर वृद्धिले गाडी बिक्री-वितरणमा उच्च प्रभाव परेको थियो तर अहिले भने माग केही बढेको छ,’ उनले भने ।

सेकन्ड ह्यान्ड अटो बजारमा वार्षिक करिब ५० अर्ब रुपैयाँको व्यापार हुँदै आएको थियो भने औसत ३६ हजारभन्दा बढी सवारी साधन बिक्री हुने गरेको संघले जनाएको छ । यो तथ्यांक पनि संघमा आबद्ध रिकन्डिसन हाउसले गर्ने व्यापारमा आधारित हो ।

संघमा देशभरका सेकेन्ड ह्वान्ड गाडी बेच्ने सबै व्यवसायी संलग्न छैनन् । हाल संघमा डेढ सयभन्दा बढी व्यवसायी संलग्न रहेको कोइरालाले बताए । उनका अनुसार विगतका दिनमा संघमा आबद्ध रिकन्डिसनहरुले मासिक सामान्यतया २० वटा सेकेन्ड ह्यान्ड गाडी बेच्ने गरेका थिए ।

संघले आबद्ध भएका व्यवसायीले चार पाङ्ग्रे सवारी साधन मात्रै बिक्री गर्दै आएका छन् । उनका अनुसार चार पाङ्ग्रेभन्दा पनि दुई पाङ्ग्रे सवारी साधनको बजार ठूलो छ ।

रिकन्डिसन हाउसहरुले एउटा गाडीमा १ लाखदेखि २ लाखसम्मको मार्जिन राख्ने गरेका छन् । अध्यक्ष कोइरालाका अनुसार उपत्यकामा मात्रै १ सयभन्दा बढी कम्पनीले सोरुम नै राखेर सेकेन्ड ह्यान्ड कार बिक्री गर्दै आएका छन् ।

नेपालभर चार पाङ्ग्रे र दुई पाङ्ग्रे सेकेन्ड ह्यान्ड सवारी साधन बेच्ने साना-ठूला रिकन्डिसन सोरुम २ हजारभन्दा बढी छन् । त्यस्तै सेकेन्ड ह्यान्ड सवारीका लागि आवश्यक पाटपुर्जा बेच्ने ३ हजारवटा होलसेलर र रिटेलर पसल सञ्चालनमा रहेको उनले जानकारी दिए ।


क्लिकमान्डु