विश्व पर्यटन दिवस: पर्यटन विकासमा नेपाली महिलाको भूमिका



नेपालको पर्यटन उद्यममा महिला सहभागिता अग्रस्थानमा छ । महिलाहरुले फ्रन्टलाइन आएर पर्यटन क्षेत्रमा कार्य गरिरहेका छन् । महिलाले आफ्नै नाममा कम्पनी स्थापना गर्ने, विदेशमा गएर मार्केटिङ गर्ने, व्यवस्थापन र नेतृत्वका काम पनि गरिरहेका छन् ।

महिलाले विदेशीलाई टुर, ट्रेकिङको व्रिफिङ दिइरहेका छन् । नेपालका महिला पर्यटन क्षेत्रमा लागेको सन् १९७० को दशकबाट नै हो । हजारौं महिला यस व्यवसायमा प्रत्यक्ष र परोक्ष रुपमा जोडिएका छन् । हिजोआज नयाँनयाँ महिला उद्यमी पनि यस क्षेत्रमा आइरहेका छन् । यो अझ रोचक र सुन्दर पक्ष हो ।

म आफैं पनि यो व्यवसायमा जाडिएको पाँच वर्ष भयो । आइटी पढेकी म पछि पर्यटन क्षेत्रमा रुची राखेर काम गर्न थालेको हुँ । नेपालको पर्यटनमा महिलाले पुरुष सरह भूमिका निर्वाह गर्न सक्छन् भन्ने पटक पटक साबित गरिसकेका छन् । साथै, पर्यटन सम्बद्ध विभिन्न संस्थाहरु टान, एनएमए, नाटा, भिटोफ तिर पनि महिलाहरु सकृय छन् । ती संस्थाहरुमा महिलाहरुको सकृय सहभागिताले पनि उनीहरुको योगदान पर्यटन क्षेत्रमा बढ्दो छ ।

समयले साथ दिएसम्म महिलाले ती संस्थाको श्रीबृद्धिको लागि सक्दो भूमिका खेलिरहेका छन् । महिलाहरुले नै पर्यटन व्यवसाय महिला संघ भन्ने अलग्गै संस्था पनि सञ्चालन गरिरहेका छन् । कुनै पनि पेशा, व्यवसायमा लिङ्गीय चुनौतीहरु व्यावसायिक सफलताको लागि बाधक बन्दैनन् । यदि बन्छन् भने महिलाको लागि मात्रै होइन, पुरुषको लागि बन्छन् । यसर्थ पर्यटन क्षेत्रमा लाग्ने महिला, पुरुष दुवैको लागि उत्तिकै अवसर, समस्या र चुनौतीहरु छन् ।

कुनै पनि पेशा व्यवसायमा प्रवेश गरिसकेपछि आफूलाई समयानुकुल राख्नुसक्नु पर्दछ । उक्त क्षेत्रमा सफल हुन चाहिने ज्ञान, सीप तथा कौशलहरुको आर्जन गर्नुपर्दछ । पर्यटन व्यावहारिक क्षेत्र भएकाले मानिसले गर्ने व्यवहारले नै पर्यटकलाई आकर्षण गर्ने हो । मानिसका गुण र दोषले गर्दा पनि पर्यटकलाई आकर्षण गर्ने वा विकर्षण गर्ने भन्ने हुन्छ ।

संसारभरका पर्यटकलाई पर्यटन क्षेत्रका महिला उद्यमीका व्यवहार अनुकरणीय हुनुपर्दछ, जसले गर्दा पर्यटन प्रवद्र्धन सहज हुन सकोस् । यस क्षेत्रमा आइसकेपछि सूचना तथा सञ्चार क्षेत्रमा पनि जानकार हुुनुपर्दछ । यसैगरी सूचना तथा सेवा प्रवाहमा पनि अद्यावधिक हुनुपर्दछ । विदेशीसँग काम गर्न सक्ने, नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन गर्न सक्ने गुण भएका नेपाली महिलाहरुले पर्यटन क्षेत्रमा सफलता हासिल गर्न सक्छन् ।

नेपालको जुनसुकै भूगोलमा रहेर महिलाले पर्यटन व्यवसायमा योगदान गरिरहेका छन् । मुटु कमाउने चिसो हुने हिमाली क्षेत्रमा होस् वा उखारमाउलो गर्मीे हुने तराई क्षेत्र, नेपाली महिलाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको पर्यटन क्षेत्रमा योगदान गरिरहेका छन् । घरगाउँमै बसीबसी पर्यटन क्षेत्रमा योगदान गर्ने महिलाले दुई चार पैसा कमाउन सक्ने भएका मात्रै हैन, सशक्तिकरण, समाज परिवर्तनमा अग्रणी भूमिका पनि निर्वाह गरिरहेका छन् ।

पर्यटनसँग स्थानीय सामाजिक, सांस्कृतिक, आर्थिक पक्ष जोडिने भएकाले महिलासँग भएका कलाकौशल, शीप शैलीसँग पर्यटक आकर्षित हुने गर्दछन् । सरकारले पर्यटन क्षेत्रमा आउन चाहने महिलाहरुको लागि अझ सहज वातावरण बनाउन जरुरी छ । महिलाको नाममा कम्पनी दर्ता, कम्पनी सञ्चालनको लागि चाहिने बैकिङ सहयोग गर्न राज्यले सकारात्मक भूमिका खेलिदिनु पर्दछ ।

पर्यटन क्षेत्रमा लगानी गरेर महिलाले घरव्यवहार चलाएर बचत पनि गर्न सफल छन् । उनीहरुले गरेको बचत बैंकको पनि हो । बैंकमा बचत भएमा उसले पनि त्यो पैसा लगानी गर्न सक्छ । यसर्थ पर्यटन क्षेत्रमा लागेका महिलाले देशको सर्वाङगीण विकासमा योगदान गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर पर्यटन क्षेत्रमा लाग्ने महिलाहरुको संख्या ५४ प्रतिशत हाराहारी छ । त्यसैले पर्यटन क्षेत्रमा काम गर्ने महिलाहरुले श्रम अनुसारको आम्दानी पाउनु पर्दछ । दुःखजिलो गरेपछि त्यसको कमाइमा लैङ्गिक विभेद हुनु हुँदैन । पर्यटनका पनि क्षेत्रगत रुपमा कुनैमा महिलाको संख्या घटबढ रहेका नेपालकै विभिन्न तथ्यांकहरुले देखाउँछ ।

यसर्थ, आजको पर्यटन दिवस सार्थकता पनि पर्यटन क्षेत्रमा लाग्ने महिलाको दिगो व्यावसायिक विकास र समृद्धिको पक्षपोषण गर्नु हो । महिलाहरुले हरेक क्षेत्रमा इमान्दारिताको साथ काम गरेझैं पर्यटन क्षेत्रमा पनि इमान्दारिता प्रदर्शन गर्दै आएको छन् । तर राज्यको कानुनी तथा नीतिगत तहमै पर्यटन क्षेत्रमा महिला सहभागिता विकास गर्ने सोचको विकास हुन जरुरी छ ।

देशको आर्थिक विकास गर्न पर्यटन क्षेत्रमा धेरै भन्दा धेरै महिलालाई आकर्षित गर्नुपर्ने देखिन्छ । यसको लागि नीतिगत रुपमा नै सुधार जरुरी छ । पर्यटन उद्यममा जोडिएका वा जोडिने महिलालाई परम्परागत मात्र होइन, नवीन खालका काममा जोड्दै लैजानु समयको माग र आवश्यकता दुवै हो ।

सबै आर्थिक क्रियाकलापको मुख्य स्तम्भ नै पर्यटन भन्ने सर्वव्यापी अवधारणा हो । नेपालले पनि यही अवधारणा आत्मसात् गरेकाले महिला पर्यटन व्यवसायीको आर्थिक पक्षलाई सबल बनाउने उपायतर्फ ध्यान दिन जरुरी छ । सन् १९८० देखि बर्सेनि मनाइँदै आएको विश्व पर्यटन दिवस २०२३ ले पर्यटन क्षेत्रमा हात हालेका वा हात हाल्ने रुची राखेका महिलाको लागि आवश्यक वातावरण मनाउन मद्दत गरोस् ।

(लेखक सजना त्रिपाठी टान कार्यसमिति सदस्य तथा पर्यटन व्यवसायी हुन् ।)


क्लिकमान्डु