सिबिफिन टोलीलाई गभर्नरले भने- तंग्रिदै गरेको अर्थतन्त्रलाई गतिशील बनाउन सबै जिम्मेवार बनौं



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई गतिशील बनाउन सबै सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) प्रतिनिधिमण्डलसँगको छलफलमा मंगलबार गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको छ, तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्ष उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक छ ।’

अधिकारीले बाह्य परिसूचकमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको चर्चा गर्दै आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपाय अपनाउँदै जाने पनि बताए ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै अधिकारीले त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको उनले स्पष्ट पारे ।

छलफलका क्रममा सिबिफिन प्रतिनिधिले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि आर्थिक क्रियाकलाप चलायमान हुन नसक्नुको कारण, समस्या र समाधानका सम्भावित उपायका विषयमा चासो राखेका थिए ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार भए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराए ।

वर्तमान विषम परिस्थितिमा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने तथा समग्र आर्थिक क्रियाकलापले गतिशीलता प्राप्त गर्नेमा जोड दिँदै अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

चालु पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा सिबिफिनले लिखित सुझाव पेस गरेको छ । अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेस समिट आयोजना हुन लागेको जानकारी गराउँदै समिटमा राष्ट्र बैंकको सहभागिताका लागि गभर्नर अधिकारीसमक्ष आग्रह गरे ।

छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा तथा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्रप्रसाद पौडेल, लीलाप्रकाश सिटौला, मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता थियो ।


क्लिकमान्डु