क्यानडा-भारत विवाद: दुई देशबीचको व्यापारमा कस्तो असर ?



एजेन्सी । क्यानडियन नागरिक एवं सिख अभियन्ता हरदिप सिंह निज्जरको हत्यापश्चात् अहिले भारत र क्यानडाबीचको सम्बन्ध चिसिएको छ । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारको हात रहेको भन्दै आरोप लगाइरहेका छन् ।

भारत सरकारले आफू‍माथि लागेको आरोपको खण्डन गरेको छ । भारतले क्यानडामाथि भारतबिरोधी समूहहरुलाई बन्न र सञ्चालन हुन दिएको भन्ने आरोप पनि लगाएको छ ।

सिख समुदायले माग गरिरहेको छुट्टै ‘खालिस्तान’ राज्य र यसका कारण क्यानडा र भारतबीच बढिरहेको विवादले दुई देशबीचको सम्बन्धलाई पनि चिस्याउँदै लगेको छ ।

हाल क्यानडामा ३ करोड ७० लाख जनसंख्या रहेको छ । यीमध्ये १४ लाख जनसंख्या भारतीय मूल वा सांस्कृति भएका समुदाय हुन् । २०२१ को क्यानडाको जनगणनाअनुसार त्यहाँ रहेका भारतीय मूलका नागरिकहरुको जनसंख्या कुल जनसंख्याको ३.७ प्रतिशत रहेको छ ।

क्यानडामा ७ लाख ७० हजार सिख समुदायका मानिसहरु रहेका छन्, जुन क्यानडाको कुल जनसंख्याको २ प्रतिशत हुन्छ । भारतमा भने सिख समुदायको जनसंख्या केवल १.७ प्रतिशत रहेको छ ।

संयुक्त राष्ट्र संघ (युएन)काअनुसार १ अर्ब ४३ लाखभन्दा धेरै जनसंख्या भएको भारतमा सानो संख्यामा रहेको सिख समुदाय पञ्जाब राज्यमा बढी रहेका छन् । सिख समुदायले लामो समयदेखि आफ्नो छुट्टै राज्यको माग गर्दै आएका छन् । खालिस्तान नामसहित स्वतन्त्र राज्यको माग गरिरहेका सिख समुदायका विभिन्न समूहलाई भारतले ‘अतिवादी’को संज्ञा दिइरहेको छ र क्यानडाले यस्ता समूहहरुलाई हुर्कन प्रश्रय: दिइरहेको आरोप लगाउँदै आएको छ ।

दुई देशबीच तनाब बढ्दै जाँदै एक अर्का देशका कुटनीतिज्ञलाई निकाल्नेसम्मका काम भएका छन् ।

क्यानडा–भारतबीच कस्तो छ व्यापार ?

दुई देशबीचको कुटनीतिक सम्बन्धमा दरार आउँदा आर्थिक रुपमा कस्तो प्रभाव पर्छ त ? क्यानडा र भारतबीचको व्यापार हेर्ने हो भने यो स्पष्ट हुन्छ ।

२०२२ मा क्यानडा र भारतबीचको व्यापार ९ अर्ब अमेरिकी डलर (१२ खर्ब ३ अर्ब १० करोड ९२ लाख नेपाली रुपैयाँ) बराबरको रहेको थियो । क्यानडा सरकारकाअनुसार २०२२ मा त्यसअघिको वर्षको तुलनामा भारतसँगको व्यापारमा ५७ प्रतिशतको वृद्धि देखिएको थियो ।

क्यानडाबाट भारतले मुख्य गरि मल तथा उर्जासँग सम्बन्धित सामग्रीहरुको आयात गर्ने गर्छ । कोइला र बिक्रेटजस्ता सामानहरु क्यानडाबाट भारतमा आउँछन् । यता भारतबाट भने मुख्य गरि उपभोग्य सामग्रीहरु, गार्मेन्ट, गाडीका सामान, विद्युतीय सामानजस्ता इन्जिनियरिङ उत्पादनहरु क्यानडा निर्यात हुने गरेको छ ।

क्यानडाबाट सन् २०२२ मा भारतमा निर्यात भएको सबैभन्दा धेरै सामग्री जैविक इन्धन र सोसँग सम्बन्धित सामग्री रहेका छन् । जैविक इन्धन १ अर्ब अमेरिकी डलर (१ खर्ब ३३ अर्ब ६७ करोड ८८ लाख नेपाली रुपैयाँ) डलर बराबरको क्यानडाबाट भारत आयात भएको छ । त्यस्तै, रासायनिक मल ७४ करोड ८० लाख अमेरिकी डलर र काठ तथा प्लान्ट फाइबरहरु ३८ करोड ४० लाख अमेरिकी डलरको आयात भएको तथ्यांक छ ।

क्यानडा भारतका लागि १७ औं ठूलो वैदेशिक लगानी गर्ने देश हो । सन् २००० यता क्यानडाले भारतमा ३ अर्ब ६० करोड अमेरिकी डलर (४ खर्ब ८१ अर्ब २४ करोड ३६ लाख नेपाली रुपैयाँ) लगानी गरेको छ । सँगै भारतीय सेयर बजार तथा कर्जा क्षेत्रमा पनि क्यानडाका लगानीकर्ताहरुको अर्बौं रुपैयाँ लगानी भएको छ । भारत र क्यानडाबीचको आर्थिक साझेदारी सम्झौता भएमा त्यसले पनि दुई देशबीचको व्यापार बढ्ने अनुमान गरिएको छ ।

अर्कोतर्फ, भारतबाट विदेशिने विद्यार्थीहरुको प्रमुख गन्तव्य मुलुक क्यानडा हो । सन् २०१८ यता क्यानडा जाने विदेशी विद्यार्थीहरुमा सबैभन्दा धेरै भारतीय रहेका छन् ।

सन् २०२२ मा क्यानडा जाने भारतीय विद्यार्थीहरुको संख्या त्यसअघिको वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि भएर ३ लाख २० हजार पुगेको थियो ।

विवादले व्यापारमा कस्तो असर गर्छ ?

रोयटर्सको रिपोर्टकाअनुसार क्यानडाले भारतसँग गर्ने भनेको प्रस्तावित सन्धी तत्कालका लागि रोकिएको छ । दुई देशले तीन महिनाअघि उक्त सन्धी गर्ने भने पनि तत्कालका लागि त्यसलाई रोकिएको छ । एक दशकपछि क्यानडा र भारतबीच हुन लागेको खुला व्यापार सम्झौता (एफटीए)लाई पनि तत्कालका लागि राजनीतिक कारणले रोकिएको छ ।

दुई देशबीच अर्बौंको व्यापार भएका कारण विवादले व्यापारमा असर गर्छ वा गर्दैन भन्ने कुरामा भने स्पष्टता छैन । तर, प्रेस ट्रष्ट इण्डियाको रिपोर्टमा विज्ञहरुले हाल भारत र क्यानडाबीच भइरहेको विवादका कारण दुई देशबीचको लगानी र व्यापारमा फरक नपर्ने जनाएका छन् । आर्थिक र व्यापारिक आधारमा भइरहेका कुराहरु भएका कारण राजनीतिक विवादले त्यसमा तत्काल असर नदेखिने पीटीआईले जनाएको छ ।

भारत र क्यानडाले एकै किसिमका वस्तुहरुमा नभई फरक फरक वस्तुहरुमा व्यापार गर्ने भएकाले पछिल्ला राजनीतिक घटनाहरुले व्यापारमा असर नपर्ने विज्ञहरुको भनाइ छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसियटिभका सहसंस्थापक अजय श्रीवास्तवले क्यानडाको पेन्सन फण्डले भारतमा लगानी नरोक्ने बताए । उनकाअनुसार भारतमा ठूलो बजार भएको र लगानीको प्रतिफल पनि व्यापक भएकाले राजनीतिक घटनाले लगानीमा असर नपर्ने अवस्था छ ।

तर क्यानडाबाट निर्यात हुने वा क्यानडामा आयात हुने देशहरुको शीर्ष १० स्थानमा पनि नरहेको भारतसँगको व्यापारिक सम्बन्ध खस्किन सक्ने धेरैको बुझाइ छ । एसिया प्यासिफिक फाउण्डेसन क्यानडाका निर्देशक जेफ नानकिभेल क्यानडा र भारतबीचको व्यापार उत्कर्षमा पुग्न नसकेको बेला व्यापारलाई बढाउन गरिएका प्रयास पनि राजनीतिक कारणले परिणामबिहीन हुने अवस्था आउने बताउँछन् ।

तर, सेन्टर फर गर्भनेन्स इनोभेसनका रोहिन्टन मेधोरा भने भारतका लागि क्यानडासँगको व्यापारिक सम्बन्ध बिग्रनुले पनि कुनै असर नगर्ने बताउँछन् । उनी भन्छन्, ‘भारतले क्यानडासँग व्यापार गुमाउन सक्ने हैसियत राख्छ । अन्य थुप्रे देशहरु चीनसँगको निर्भरताबाट बाहिर निस्किएर भारतसँग व्यापार गर्न खोजिरहेका छन् ।’


क्लिकमान्डु