गैह्रीगाँउ घटना: अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन



काठमाडौं । प्रहरीले शनिबार तीनकुने गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । समिति सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन्।

गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न रानीपोखरीले अनुरोध गरेको छ ।

घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य केहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


क्लिकमान्डु