चिनीको थोक मूल्य प्रतिकिलो १०२ बाट एकैपटक १४० पुर्‍याइयो, उद्योगी कि व्यापारीले गर्दैछन् बदमासी ?



चिनीको कृत्रिम अभाव सिर्जना गरी जथाभावी मूल्य बढाउने काम भइरहेको छ तर सरकारले बजार अनुममन गरी बदमासी गर्ने व्यापारीलाई कारबाही गर्न चासो देखाएको छैन । उल्टै कैफियत गर्ने उद्योगी व्यापारीको सूचना संकलन गरेर कारबाहीको तयारी गरिरहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई अनाहक सरुवा गरेर सरकारले व्यापारीलाई ठगी गर्न सजिलो बनाइरहेको छ ।

काठमाडौं । सरकारको कमजोर उपस्थितिको फाइदा उठाउँदै ठूला व्यापारीले मिलेमतोमा चिनीको मूल्य अत्यधिक बढाएका छन् । व्यापारीले बिहीबार दिउँसोदेखि चिनीको थोक मूल्य बढाएका हुन् ।

बजार अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक र अनुगमन निर्देशक सरुवा भएको मौकाको फाइदा उठाउँदै व्यापारीले मूल्यवृद्धि गरेका छन् । खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीका अनुसार बिहीबार दिउँसोदेखि थोक विक्रेताले चिनीको थोक मूल्य १४० रुपैयाँसम्म पुर्‍याएका छन् ।

थोक विक्रेताले चिनीको थोक मूल्य वृद्धिसँगै स्टकको चिनी लुकाएका छन् । स्टक छैन भनेर थोक विक्रेताले पुरानो थोक मूल्यमा खुद्रा व्यापारीलाई चिनी उपलब्ध गराउन आनाकानी गर्दै आएका छन् । शाहीका अनुसार चिनीको स्टक सकिएको भन्दै कृत्रिम अभाव सिर्जना गरी उनीहरुले नयाँ थोक मूल्यमा चिनी बिक्री गर्न खोजेका छन् ।

‘थोक विक्रेताले बिहिबार दिउँसोदेखि चिनीको मूल्य आफूखुसी १४० रुपैयाँसम्म पुर्‍याए,’ शाहीले भने, ‘किन यति ठूलो परिमाणमा मूल्य बढाइयो भनेर कुरा गर्दा उहाँहरुले नयाँ मूल्यमा लिने भए लिऊ, नलिने भए नलिऊ भनेर फोन काट्नुभयो।’

उनका अनुसार एक साता अघिसम्म प्रतिकिलो चिनीको थोक मूल्य १०२ रुपैयाँ थियो । शाहीले गत साता मात्रै थोकमा प्रतिकिलो १०२ रुपैयाँका दरले खरिद गरेको चिनी अहिले प्रतिकिलो ११० रुपैयाँमा बिक्री गर्दै आएका छन् । पुरानो मूल्यमा खरिद भएको चिनी स्टकमा भएकाले नयाँ मूल्यको चिनी खरिद नगरेको शाहीले बताए ।

‘तर पुरानो स्टकको चिनी अब १ बोराजति मात्रै छ, यो सकियो भने नयाँ मूल्यमा चिनी खरिद गरेर उपभोक्तालाई बेच्दा प्रतिकिलो १५० रुपैयाँसम्म पुग्छ होला,’ उनले भने, ‘यो विषयमा जानकारी गराउन शुक्रबार हामी संघका पदाधिकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुगेका थियौं । तर नयाँ महानिर्देशक र अनुगमन शाखाका निर्देशकसमेत नआएकाले हामी त्यतिकै फर्कियौं ।’

खुद्रा व्यापार संघका सदस्य सुरज होनाले पनि गत सातासम्म चिनीको थोक मूल्य १०२ रुपैयाँ रहेको जानकारी दिए।

‘तर बिहीबारदेखि एक्कासि थोकमै चिनीको मूल्य १४० रुपैयाँसम्म पुगेको व्यापारिक वृतमा हल्ला फैलियो,’ होनाले क्लिकमान्डुसँग भने, ‘हल्ला आएपछि यो विषयमा थोक विक्रेतामा बुझ्दा उनीहरुले पनि चिनीको थोक मूल्यवृद्धि भएर प्रतिकिलो १४० सम्म पुगेको बताए । किन मूल्यवृद्धि भयो भनेर सोद्धा उहाँहरुले कुनै जवाफ नै दिनुभएन ।’

यतिबेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानिर्देशक र अनुगमन शाखा निर्देशक दुवै छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलबार महानिर्देशक गजेन्द्र ठाकुर र अनुगमन शाखा निर्देशक होमनाथ भट्टराईको सरुवा गरी मन्त्रालय तानेको छ । त्यसलगत्तै बजारमा थोक विक्रेताहरुले चिनीको थोक मूल्य अस्वाभाविक रुपमा बढाएका छन्।

महानिर्देशक ठाकुर र निर्देशक भट्टराईको सरुवा भएको दिनदेखि विभागले बजार अनुगमनसमेत गरेको छैन । महानिर्देशक ठाकुरको स्थानमा सरुवा भएर आएका तीर्थ चिलुवालसहित अनुगमन शाखा निर्देशक शुक्रबारसम्म पनि विभागमा हाजिर भएका छैनन्।

बजार अनुगमनकारी निकाय नेतृत्वविहीन रहेको र बजारमा चिनीको अभाव सिर्जना भएको मौकाको फाइदा उठाउँदै व्यापारीले चिनीको थोक मूल्यवृद्धि गरेका हुन् । विभागका अर्का निर्देशक घनश्याम सुवेदीले सरुवा भएर आएका नयाँ महानिर्देशक आइतबारदेखि विभागमा हाजिर भएपछि प्रभावकारी रुपमा अनुगमन गरिने जानकारी दिए ।

थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भट्टले चिनीको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘हामी दाल, चामल, तेललगायतका खाद्य पदार्थ मात्रै थोकमा बिक्री गर्छौं, चिनीको गर्दैनौं । त्यही भएर चिनीको थोक मूल्यको बारेमा केही भन्न सक्दैनौं,’ उनले भने ।

थोक विक्रेता भन्छन्- पुरानो मूल्यमा चिनी छैन

चिनीको मूल्यवृद्धि भएपछि थोक विक्रेताले धमाधम चिनी लुकाएका छन् । स्रोतका अनुसार बजार हस्तक्षेपकारी निकायसँग पनि चिनी नभएको र खुद्रा व्यापारीसँग पनि पुरानो स्टकको चिनी सकिन लागेको मौकाको फाइदा उठाउँदै थोक विक्रेताले चिनी लुकाएका हुन् ।

स्रोतका अनुसार अधिकांश थोक विक्रेताले चिनी नभएको भन्दै स्टक लुकाएका छन् । ‘थोक विक्रेताले चिनी छैन भन्छन्, अलि मिलाएर कुरा गर्दा पुरानो थोक मूल्य भएको चिनीको स्टक सकिएको छ भन्छन् । चिनी लिने हो भने आइतबारदेखि नयाँ थोक मूल्यमा मात्रै उपलब्ध गराउन सक्छु भन्ने जवाफ दिएका छन्,’ एक खुद्रा व्यापारीले बताए ।

ती खुद्रा व्यापारीले सामाखुसीको विन्धवासिनी स्टोरबाट नियमित रुपमा थोकमा चिनी खरिद गर्दै आएका थिए । विन्धवासिनीका सञ्चालकले भने क्लिकमान्डुसँग पुरानो थोक मूल्य भएको चिनीको स्टक सकिएको दाबी गरेका थिए । तत्काल चिनी नभए पनि आइतबारदेखि भने नयाँ थोक मूल्यमा पर्याप्त परिमाणमा चिनी उपलब्ध गराउन सकिने भनेर विन्धवासिनीका सञ्चालकले बताएका थिए ।

स्रोतका अनुसार चाबहिल, वालाजु, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज, मित्रपार्क, पेप्सीकोलालगायतका स्थानका थोक विक्रेताले ठूलो परिमाणमा चिनी लुकाएर राखेका छन् ।

हामीले मूल्य बढाएका छैनौंः एशोसिएसन

चिनीको अभाव सिर्जना देखाएर थोकमै ठूलो परिमाण चिनीको मूल्य बढिरहँदा नेपाल चिनी उद्योग संघले भने मूल्यवृद्धि नगरिएको दाबी गरेको छ । एशोसिएसनका महासचिव राजेश केडियाले नेपालका स्वदेशी उद्योगीले चिनीको थोक मूल्यवृद्धि नगरेको बताए ।

माग र आपूर्तिबीच खाडल सिर्जना भए पनि मूल्यवृद्धि हुने सैद्धान्तिक नियम भएकाले थोक विक्रेताले मूल्यवृद्धि गरेको हुनसक्ने उनले जानकारी दिए । केडियाले सरकारकै कारण बजारमा चिनीको अत्यधिक मूल्यवृद्धि भएको आरोप लगाए ।

उनका अनुसार गत साउनको पहिलो साता एसोसिएसनका पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसहित सचिवलाई भेटेर बजारमा चिनीको चर्को अभाव हुन लागेकाले ६० हजार टन चिनी आयात गर्न सुझाव दिएका थिए ।

‘हामीले स्वदेशी चिनी उद्योगबाट उत्पादित चिनीको परिमाण सकिनै लागेको र भारतले औपचारिक रुपमा आउन नदिएकाले सरकारद्वारा सरकारलाई (जीटुजी) प्रक्रियामार्फत तत्कालै ६० हजार चिनी आयात गर्नुपर्ने मन्त्री र सचिवज्यूलाई सुझाव दिएका थियौं,’ केडियाले भने, ‘तर उक्त सुझावलाई निक्कै ढिलो गरी सुनुवाइ गरेर पनि परिमाणमा ठूलो कटौती गरियो । हामीलाई चाहिएको ६० हजार हो । तर अहिले साल्ट र खाद्य संस्थानलाई १०-१० हजार टन मात्रै आयात गर्न अनुमति दिइएको भनेर समाचारबाट जानकारी पाएँ ।’

उनका अनुसार चाडवाडको समयमा २० हजार टनले उपभोक्ताको माग धान्न सक्दैन । केडियाले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा प्रभावकारी अनुगमन नगरेका कारण थोक विक्रेताले चिनीको आफूखुसी मूल्यवृद्धि गरेको आरोप लगाए ।

गत सिजनमा स्वदेशी चिनी उद्योगबाट कुल १ लाख ७८ हजार टन चिनी उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा ५८ हजार टन बढी चिनी उत्पादन भएको थियो । अघिल्लो वर्ष १ लाख २० हजार टन मात्रै उत्पादन भए पनि त्यो वर्ष भारतबाट मनग्गे परिमाणमा चिनी आयात भएको हुँदा चिनीको अभाव र मूल्य अत्यधिक वृद्धि भएको थिएन ।

स्रोतका अनुसार अहिले स्वदेशी चिनी उद्योगीहरुसँग करिब अढाई हजार टन चिनी मौज्दात छ । उद्योगीले करिब ८३ रुपैयाँ प्रतिकिलोमा उत्पादन गर्ने चिनीमा ढुवानी भाडा, लोडिङ, अनलोडिङ, थोक विक्रेताको नाफा, तल्लो खुद्रा पसलको ढुवानी र नाफा गरी भ्याटबाहेक खुद्रा मूल्य १११ देखि ११३ रुपैयाँ पर्छ ।


राजेश बर्मा