राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै, ब्याजदर बढ्ने सम्भावना



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल खरिदका लागि प्रस्ताव पेस गर्न इच्छुक संस्थालाई आग्रह गरेको हो।

सरकारलाई छोटो अवधिका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री जारी गर्ने गरेको छ । राष्ट्र बैंकले कम ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्छ । बजारमा तरलता सहज भए पनि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको छैन ।

अन्तर बैंक ब्याजदर ६.३५ प्रतिशतभन्दा माथि रहेकाले ट्रेजरी बिलको ब्याजदर ७ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाइसकेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा २८ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.२१ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ५.८२ प्रतिशत, १८२ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४९ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४४ प्रतिशत छ ।

गत असारमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.३५ प्रतिशत थियो । असारको तुलनामा सोमबार ब्याजदर केही घटे पनि साउनको तुलनामा भने ब्याजदर बढेको छ ।

राष्ट्र बैंकले भदौ ११ गते ९१ दिने ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल ४.७३ देखि ६.१४ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो। औसतमा ९१ दिनको ट्रेजरी बिलको ब्याजदर ५.८१ प्रतिशत परेको थियो । यस्तै, ३६४ दिनको ट्रेजरी बिल ६.१४ देखि ६.४७ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।

औसतमा ६.४३ प्रतिशत ब्याजदर दिँदै राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । साउन २ गते ९१ दिनको ट्रेजरी बिल औसतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । राष्ट्र बैंकले साउन ९ गते ९१ दिनको ट्रेजरी बिल ५.७८ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।

साउन २३ गते ९१ दिनको ट्रेजरी बिल ६.१६ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । सोही दिन ३६४ दिनको ट्रेजरी बिल ६.३७ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो । साउन ३० गते ९१ दिनको ट्रेजरी बिल ६.४४ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो।


रवि धिताल