प्रधानमन्त्रीको चीन भ्रमणमा कुन मन्त्रालयका के एजेन्डा ?



फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा समावेश गर्नुपर्ने भन्दै हालसम्म ७ वटा मन्त्रालयले परराष्ट्र मन्त्रालयमा एजेन्डा पेस गरेका छन् ।

असोज ६ देखि हुने प्रधानमन्त्रीको भ्रमणमा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयसहित ऊर्जा, सञ्चार, कृषि, उद्योग, पर्यटन र शिक्षा मन्त्रालयले भ्रमणका लागि एजेन्डा पेस गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले खाँदबारी-किमथांका सडक निर्माण, धुलिखेल-तातोपानी सडक स्तरोन्नति, खुटिया-दिपायल-चैनपुर-ताक्लाकोट सडक निर्माण, सिमकोट-हिल्सा सडक स्तरोन्नति र टोखा-छहरे सुरुङ मार्गको डिपिआर निर्माण प्रस्ताव गरेको छ ।

त्यस्तै ऊर्जा मन्त्रालयले दुईवटा अन्तरदेशीय प्रसारण लाइन, रसुवागढी-जिलोङ प्रसारण लाइन, किमथांका-चीन प्रसारण लाइन निर्माण, काठमाडौं उपत्यका विद्युत सुधार सहायता र ४५४ मेगावाटको किमथांका अरुण संयुक्त निर्माण प्रस्ताव पेस गरेको छ।

सञ्चार मन्त्रालयले नयाँ तालिम केन्द्र र डाटा सेन्टर स्थापना तथा साइबर सुरक्षा प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले पनि जडिबुटी निर्यात समझदारीमा हस्ताक्षर, चिया निर्यात वृद्धि तथा बफेलो मिट निर्यात प्रस्ताव गरेको जनाइएको छ ।

उद्योग मन्त्रालयले मुस्ताङको कोरोला, हुम्लाको यारी र संखुवासभाको किमथांकामा एकीकृत जाँचचौकीसहित पूर्वाधार निर्माणको प्रस्ताव पेस गरेको छ । त्यस्तै नेपाल-चीन पारवहन सम्झौताको कार्यान्वयन, गोरखा, दार्चुला र बझाङमा नाका थप तथा बहुउपयोग प्रयोगशाला निर्माणका लागि पनि प्रस्ताव गरिएको छ ।

शिक्षा मन्त्रालयले नयाँ व्यावसायिक प्राविधिक शिक्षालय निर्माण र सञ्चालन तथा सात प्रदेशमा मेडिकल कलेज खोल्नका लागि सहयोग प्रस्ताव गरेको परराष्ट्रले जनाएको छ ।

त्यसैगरी पर्यटन मन्त्रालयले चिनियाँ जहाजको ऋण मिनाहा, सांस्कृतिक सम्झौता अद्यावधिक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहायताको प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अन्य मन्त्रालयले पनि चीन भ्रमणका एजेन्डा तयार गर्न प्रस्ताव पेस गर्न सक्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १० सम्म चीन भ्रमण गर्ने गरी गृहकार्य भइरहेको छ । असोज ६ मा चीनको हाङचाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएर उनी असोज ७ मा बेइजिङ प्रस्थान गर्नेछन् । प्रचण्डले असोज ८ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि थप दुई दिन चीनका अन्य स्थानको भ्रमण गरी उनी स्वदेश फर्किनेछन् ।

त्यसअघि प्रचण्डले भदौ ३० गते न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता जनाउनेछन् । प्रधानमन्त्री असोज ५ गते अमेरिकाबाटै चीन प्रस्थान गर्ने कार्यक्रम छ ।


क्लिकमान्डु