वित्तीय संस्थाको संवेदनशिल प्रणाली अवरुद्ध भए २ घण्टाभित्र सेवा सुचारु गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति प्राप्त वित्तीय संस्थाहरुको संवेदनशिल प्रणालीअवरुद्ध भएमा २ घण्टाभित्रमा नै त्यसलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने भएको छ ।

बैंक, वित्तीय संस्था, पिएसओलगायतमा भुक्तानीका लागि रहेको प्रणालीहरु अवरुद्ध भएमा त्यसलाई २ घण्टाभित्रमा नै सूचारु गर्ने गरि राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको साइबर रेजिलेन्स गाइडलान्यस नामक मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका आइटी निर्देशन इ. कृष्णराम धुंजुकाअनुसार सेवाप्रदायकहले आफ्नो प्रणालीमा समस्या आएको खण्डमा सेवाग्राहीलाई कुनै पनि रुपमा २ घण्टाभित्रमा नै सेवा दिनुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ ।

उनले भने, ‘कुनै पनि सेवा प्रदायकको सेवा अवरुद्ध भएमा सेवाग्राहीलाई दुई घण्टाभित्रमा गरेर सेवा दिनुपर्छ । यसका लागि बरु ढड्डामै लेखेर भएपनि सेवा दिनुपर्ने हुन्छ ।’

मार्गदर्शनमा आरटिओ (रिकभरि टाइम अब्जेक्टिभ) दुई घण्टाको हुने उल्लेख गरिएको छ ।

धुंजुकाअनुसार सेवा अवरुद्ध भएको हकमा त्यसलाई पुनः सुचारु गर्नुपर्ने समय २ घण्टा राखिएको हो । बैंक, वितीय संस्था, वालेटजस्ता राष्ट्र बैंकबाट अनुमतिप्राप्त सेवा प्रदायकहरुले आफ्नो सम्पूर्ण सेवा वा प्रमुख प्रणालीमा नै समस्या आएमा पनि सेवाग्राहीलाई दुई घण्टाभित्रमा सेवा दिनुपर्ने व्यवसथ मार्गदर्शनमा भएको धुंजुुले बताए ।

मार्गदर्शनमा उल्लेख भएअनुसार संवेदनशिल कामहरुमा कुनै किसिमको अवरोध भएमा त्यसलाई दुई घण्टाभित्रमा सुरक्षितरुपमा सुचारु गर्नुपर्ने छ । यसको अर्थ बैंकको मोबाइल बैंकिङमा समस्या भएमा इन्टरनेट बैंकिङ वा इन्टरनेट बैंकिङमा समस्या भएमा कार्यालयमा नै गएर कारोबार गर्ने रुपमा सेवा सुचारु हुनुपर्छ ।

सेवाग्राहीसँग विकल्प नै नहुने अवस्था सिर्जना हुने गरि वित्तिय संस्थाको प्रणालीमा समस्या आएको हकमा ढड्डामा नै लेखेर भएपनि दुई घण्टामा सेवा दिनुपर्ने धुंजुले बताए ।

मार्गदर्शनमा राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुले आफ्नो प्रणाली र प्रक्रियालाई यही रुपमा डिजाइन तथा प्रशिक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । कुनै पनि किसिमको साइबर वा प्रणालीसँग सम्बन्धित घटना भएको हकमा संस्थाको कार्य र प्रक्रियालाई बुझेर पुनः सेवा सुचारु गर्नुपर्ने मार्गदर्शनमा व्यवस्था गरिएको छ ।

प्रणालीलाई रिकभर गर्ने नभएर सेवालाई रिजम्सन (पुनः सुचारु) गर्ने रुपमा मार्गदर्शनले व्यवस्था गरेको धुंजुले बताए ।

‘धेरै महत्वपूर्ण रहेका संस्थाहरुको हकमा दुई घण्टा पनि धेरै हुनसक्छ,’ धुंजु भन्छन्, ‘सेवा अवरुद्ध भएमा त्यसलाई अरु कुनै रुपमा वा सम्पूर्ण प्रणालीमा नै समस्या आएमा पनि दुई घण्टाभित्र सेवा पुनः दिन सक्ने अवस्थामा लैजानुपर्छ ।’

उनकाअनुसार एनसिएचएल, बैंक, ईसेवाजस्ता महत्वपूर्ण र धेरै कारोबार हुने प्रणालीहरु २ घण्टासम्म अवरुद्ध हुनु नै पनि जोखिमपूर्ण भएकाले वित्तिय संस्थाहरुमा यसलाई ध्यानमा राखेर प्रणालीको विकास तथा व्यवस्थापन गर्नुपर्छ । सेवाग्राहीका लागि महत्वपूर्ण रहेका र भुक्तानीका लागि अत्यावश्यक रहेका प्रणालीहरुको सेवालाई सकेसम्म छिटो सुचारु गराउनुमा जोड दिनुपर्ने उनले बताए ।

दुई घण्टाभित्रमा नै पुनः सेवा सुचारु गर्न नसकेमा के गर्ने भन्ने विषयमा काम भइरहेको धुंजुले बताए ।

उनले भने, ‘सकेसम्म यस्तो नहोस भन्ने हो । तर, भइहालेमा सेवा पुनः सुचारु गरिनुपर्छ । त्यसो गर्न नसकेको हकमा कारबाही गर्ने वा अरु केही रुपमा व्यवस्थापन गर्ने भन्ने कुरामा हामी काम गरिरहेका छौं ।’


क्लिकमान्डु