वाणिज्य बैंकले तिर्ने आयकर १.५२ प्रतिशतले मात्रै बढ्यो, प्रतिसेयर आम्दानी निरन्तर घट्दै



काठमाडौं । बैंक वित्तीय संस्थाको नाफा वृद्धिदर सुस्त हुँदा सरकारले तिर्ने आयकरको वृद्धिदर पनि घट्दै गएको छ । नेपाल बैंकर्स संघका अनुसार अघिल्लो वर्षभन्दा २० वाणिज्य बैंकको नाफा ५.९२ प्रतिशतले वृद्धि हुँदा बैंकहरुले सरकारलाई तिर्ने आयकर १.५२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकले अघिल्लो वर्षभन्दा ४४ करोड रुपैयाँ आयकर सरकारलाई तिरेका छन् । संघका अनुसार अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा २० वाणिज्य बैंकले २८ अर्ब ९६ करोड रुपैयाँ आयकर तिरेका थिए । गत आर्थिक वर्ष (२०७९/८०) मा वाणिज्य बैंकहरुले २९ अर्ब ४० करोड रुपैयाँ आयकर तिरेका छन् ।

वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ६६ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षमा वाणिज्य बैंकको नाफा ३ अर्ब ९२ करोड रुपैयाँले बढेर ७० अर्ब १७ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षका सबै तथ्यांक लेखापरीक्षण हुनुभन्दा अगाडिका हुन् ।

गत वर्ष वाणिज्य बैंकहरुको कर्जा नोक्सानी प्रोभिजनसमेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले खराब कर्जाका लागि १३ अर्ब ३४ करोड रुपैयाँ प्रोभिजन गरेकोमा गत वर्षमा २५ अर्ब ९३ करोड रुपैयाँ प्रोभिजनमा राखेका छन् ।

जसले गर्दा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा २७.४६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ४७ अर्ब ३५ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा १३ अर्बले घटेर ३४ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ।

यस्तै गत वर्ष वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानीमा समेत गिरावट आएको छ । पछिल्ला वर्षहरुमा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी निरन्तर घटिरहेको छ ।

पाँच वर्षअगाडि आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकको औसत प्रतिसेयर आम्दानी १३.८७ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७९/८० वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घटेर १२.०९ प्रतिशतमा पुगेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी आगामी वर्ष वाणिज्य बैंकको प्रतिसेयर आम्दानी अझै घट्ने बताउँछन् ।

‘गत वर्ष ४.४ प्रतिशत रहेको स्प्रेड दर (कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर) साउनयता ४ प्रतिशतमा झार्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘मर्जरमा गएका बाहेक सबै बैंकले चालू आर्थिक वर्षमा स्प्रेड दर घटाउनुपर्ने भएकाले बैंकको नाफा र प्रतिसेयर आम्दानी घट्ने निश्चित छ ।’


रवि धिताल