मर्जरमा गएर पनि पुँजी पुर्‍याउन नसकेका बीमा कम्पनीलाई धमाधम हकप्रद अनुमति, अरुको के हुन्छ ?



काठमाडौं । मर्जरका लागि तोकिएको अवधिमा पुँजी नपुर्‍याउने कम्पनीलाई नेपाल बीमा प्राधिकरणले हकप्रद सेयर निष्कासनको अनुमति दिने भएको छ । २०७८ चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको प्राधिकरण सुरुमा मर्जरमा केन्द्रित भए पनि अन्तत: हकप्रदकै सुविधा दिनुपर्ने अवस्थामा पुगेको हो ।

भदौ ६ गते बसेको प्राधिकरण सञ्चालक समिति बैठकले ८ वटा बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मर्जरमा गएर पनि पुँजी पुर्‍याउन नसकेका कम्पनीलाई हकप्रदको अनुमति दिइएको हो ।

प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने थियो । तर, तोकिएको अवधिमा जीवन र निर्जीवन गरी ४ बिमा कम्पनीले मात्र पुँजी पुर्‍याए । हाल सञ्चालनमा रहेका २८ मध्ये निर्जीवनतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीले मात्र पुँजी पुर्‍याएका थिए भने जीवनतर्फ नेपाल लाइफले मात्र पुर्‍याएको थियो ।

गत असारसम्ममा जीवनतर्फ नेसनल लाइफ र हिमालयन लाइफ थपिए भने निर्जीवनतर्फ आईजीआई प्रुडेन्सियल थपियो । २१ कम्पनीको चुक्ता पुँजी अहिले पनि नियामकले तोकेभन्दा कम छ ।

प्राधिकरणले यसअघि नै लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लाई ८६ प्रतिशत तथा एनएलजी एन्स्योरेन्स कम्पनीलाई ६६ प्रतिशत हकप्रद निष्कासन अनुमति दिइसकेको छ । भदौ ६ गते जीवनतर्फ एसियन लाइफ इन्स्योरेन्सलाई ४२ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई १० प्रतिशत, सानिमा रिलायन्सलाई २० प्रतिशत र प्रभु महालक्ष्मीलाई १० प्रतिशत हकप्रद निष्कासन अनुमति दिइएको हो ।

त्यस्तै निर्जीवनतर्फ हिमालयन एभरेस्टलाई १२, युनाइटेड अजोडलाई ३२ तथा नेको र सानिमा जीआईसीलाई २५/२५ प्रतिशत हकप्रद निष्कासनको अनुमति दिइएको प्राधिकरणका कार्यकारी अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

उनका अनुसार नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले सम्पत्ति बिक्री गरेर पुँजी पुर्‍याउने कार्ययोजना प्राधिकरणमा पेस गरिसकेका छन् । अमेरिकन लाइफ इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सको हकमा विदेशी माउ कम्पनीले पेस गरेको योजनाअनुसार चुक्तापुँजी वृद्धिको प्रक्रिया अघि बढेको उनले बताए ।

राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले पुँजी वृद्धिका लागि अर्थ मन्त्रालयमा योजना पेस गरिसकेकाले सरकारी निर्णयअनुसार हुनेछ । ‘दुवै कम्पनीलाई पुँजी पुर्‍याउन समय दिएका छौं,’ उनले भने, ‘केही ढिला पनि हुनसक्छ ।’ सिटिजन्स लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आईएमई लाइफले प्रिमियमको पैसालाई पुँजीकरण गरेर तोकिएको चुक्ता पुँजी पुर्‍याउने अध्यक्ष सिलवालले जानकारी दिए ।

कसको चुक्ता पुँजी कति ?


क्लिकमान्डु