फोहोर व्यवस्थापनमा कोरियाली प्रविधि भित्र्याउँदै धुलिखेल



काभ्रे । पर्यटकीय नगर धुलिखेलको फोहोर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ । यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहोर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ ।

बढ्दो सहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेका बेला दक्षिण कोरियामा भदौ पहिलो साता कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो । यो प्रविधि भेरी नगरमा पनि लागू गर्न भेरीका प्रमुख सिपी घर्तीसँग पनि उक्त अवसरमा कम्पनीले सम्झौता भएको छ ।

सम्झौतामा दुवै नगरमा कुहिने फोहोरलाई मल उत्पादन गरिने उल्लेख गरिएको धुलिखेलका प्रमुख ब्याञ्जूले बताए । उनका अनुसार औद्योगिक मुलुक कोरियामा ऊर्जाको चरम संकट भएकाले हाल ६० प्रतिशत कोइला, ग्यास र न्युकिलियर प्लान्टबाट बिजुली उत्पादन गर्दै आएको छ । यस्तै कोरियाले ६ प्रतिशत मात्रै बिजुली पानीबाट उत्पादन गर्दै आएको छ ।

नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन निर्माण गरेको धुलिखेलले नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाउँदै हाल ७० प्रतिशत फोहोर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको छ । दिसाजन्य फोहोरबाट ग्यास र मल बनाउनसमेत योजना सुरु गरिएको ब्याञ्जूले बताए ।

शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरेको छ ।

वृक्षरोपण अभियानअन्तर्गत धुलिखेलले हाल यस वर्ष ५० हजार बिरुवा रोपिसकेको छ । पाँच वर्षमा पाँच लाख बिरुवा रोपण गर्ने योजना बनाएको नगरले ‘ग्रीन, क्लिन–हेल्दी सिटी’को अवधारणासमेत ल्याएको छ । १२ वडा रहेको धुलिखेलका क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको हो ।

विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ ।

रोपिएका सबै बिरुवामा जीपीएस् (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने नगरले जनाएको छ । उनका अनुसार यो प्रविधि धुलिखेल र नेपालकै लागि नमुना मानिएको छ । रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ ।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।

नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ ।


रवि धिताल