विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



काठमाडौं । सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार सरकारले विकास ऋणपत्र २०८६ ‘ज’ मार्फत ६ वर्ष अवधिको आन्तरिक ऋण उठाउने भएको हो ।

ऋणपत्रको बोलकबोल भदौ १० गते ३ बजेसम्म हुनेछ भने निष्कासन भदौ ११ गते हुनेछ । ब्याजदर बोलकबोलबाटै तय हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट-अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने विभागले जनाएको छ ।

घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद कार्यमा सहभागी हुन सक्नेछन् ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । तर, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फतमात्र हुन्छ ।

यसअघि भदौ १ गते विकास ऋणपत्र २०८६ ‘६’ नाम दिइएको ५ अर्ब ८४ करोड रुपैयाँबराबरको ६ वर्षे विकास ऋणपत्र निष्कासन भएको थियो भने साउन २९ गते १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८८ ‘ख’ नाम दिइएको ८ बर्से विकास ऋणपत्र साउन २९ मा निष्कासन भएको थियो ।

त्यसअघि साउन १९ गते विकास ऋणपत्र २०८६ ‘६’ नाम दिइएको १० अर्ब रुपैयाँबराबरको ६ वर्षे विकास ऋणपत्र पनि निष्कासन भएको थियो । भदौ ११ गते निष्कासन भएको बाहेक नै सरकारले चालु आर्थिक वर्षमा २५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाइसकेको छ ।

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका छन् ।


रवि धिताल