५५% काम सकिएपछि सान्जेन हाइड्रोपावरको डिजाइनमै परिवर्तन, लागत २७ करोडले बढ्यो



फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बनिरहेको सान्जेन खोला जलविद्युत आयोजनाको डिजाइनलगायतमा परिवर्तन गरिएको छ ।

हाल ५५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका लागि थप जमिन नचाहिने तथा विगतमा भएको डिजाइनमा रहेका विभिन्न संरचनाहरुको डिजाइन परिवर्तन गर्नु परेको हो । आयोजनाको डिजाइनमै परिवर्तन गर्नु परेकाले पुनः वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन तयार गरिएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर ५ मा बनिरहेको यो जलविद्युत आयोजाको क्षमता ७८ मेगावाट रहेको छ । आयोजनालाई सालासुङ्गी पावर प्रालिले निर्माण गरिरहेको हो ।

सन् २०१५ मै वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन तयार भएर आयोजनाको काम सुरु भएको थियो । तर, त्यतिबेलाको डिजाइनअनुरुप नभई पुनः केही परिवर्तन गर्नुपर्ने भएकाले हाल भने आयोजनाको दोस्रो वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार चिनियाँ प्राविधिक टोलीले विभिन्न डिजाइन तथा संरचनाहरुमा परिवर्तन गरेका हुन् ।

आयोजनाको हालको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसारको लागत १ अर्ब ३१ करोड ९० लाख ८६ हजार रुपैयाँ रहेको छ । यसअघिको प्रतिवेदनमा लागत १ अर्ब ४ करोड ७५ लाख रुपैयाँ थियो । तर, निर्माणका लागि लाग्ने थप समयका कारण २७ करोड १५ लाख २१ हजार लागत थपिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसअघिको प्रतिवेदनमा भएका आयोजाअन्तर्गतको क्षेत्रमा रोपवे हुने उल्लेख थियो । तर, हाल भने त्यसलाई हटाइएको छ । त्यस्तै, आयोजनाको टनेलको लम्बाई र डायमिटर (ब्यास)मा पनि परिवर्तन भएको छ ।

आयोजनाको कुल हेडको लम्बाईमा पनि परिवर्तन भएका कारण वार्षिक रुपमा उत्पादन हुने उर्जामा पनि फरक आएको छ । यसअघि १०१२.६५ मिटर रहेको कुल हेड पुनः भएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएअनुसार परिवर्तन गरि १०१५ मिटर बनाइएको छ ।

वार्षिक रुपमा उत्पादन हुने उर्जामा यसअघि ४२३.७४८ गिगावाट घण्टा रहेको थियो । तर, डिजाइनमा भएको परिवर्तनका कारण वार्षिक ४१२.४ गिगावाट घण्टा विद्युतीय उर्जा मात्रै उत्पादन हुने भएको छ । ५ प्रतिशत विद्युत आउटेज भएको छ ।

यसअघि आयोजनामा रहने ट्रान्सफरलाई पनि परिवर्तन गरिएको छ । १६ युनिटको ट्रान्सफर्मरलाई तीन युनिटमा ल्याइएको छ भने सिंगल सर्किटबाट कम्बाइन्डमा लगिएको छ । त्यस्तै, ट्रान्सफर्मर पनि संरचनागतबाट भूमिगत बनाइने भएको छ ।


क्लिकमान्डु