अर्थतन्त्रले चुनौतीको सामना गरिरहेका बेला नीति निर्माताले फराकिलो भएर सोच्नुपर्छ



अहिले देशको अर्थतन्त्र प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक सुस्तताको प्रभावबाट कुनै क्षेत्र पनि अछुतो छैन । वित्तीय क्षेत्र झनै यसबाट प्रभावित छ । सन् २००१ मा स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स २३ वर्षमा यात्रा गरिरहँदा प्रवीणरमण पराजुली कम्पनीको नेतृत्वदायी भूमिकामा छन् । उनी सन् २०७८ पुस २५ गते नेपाल लाइफमा सिनियर डेपुटी सीईओका रुपमा प्रवेश गरेका थिए । कार्यदक्षताको मूल्यांकन गर्दै सञ्चालक समितिले उनलाई एक वर्ष नबित्दै २०७९ साउन ४ गते नै सीईओ नियुक्त गर्‍यो । नेपाल लाइफमा आउनुअघि उनी रिलाइन्स लाइफ इन्स्योरेन्समा सीईओ थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका पराजुलीले सन् २००३ मा एनएमबि बैंकबाट करियर थालेका हुन् । करियर सुरु गरेको ७ वर्ष बित्दै गर्दा सन् २०१० देखि नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नेतृत्व सम्हालेका उनी विभिन्न संस्थामा गरी १३ वर्ष प्रमुख कार्यकारी अधिकृत बनिसकेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय, देशको कमजोर अर्थतन्त्रले पारेको प्रभाव, नीतिगत समस्यालगायत विषयमा सीईओ पराजुलीसँग क्लिकमान्डुले गरेको कुराकानीः

सन् २००१ देखि सञ्चालनमा आएको नेपाल लाइफ इन्स्योरेन्सको २३ वर्षे व्यावसायिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?

हामीले दुई दशकभन्दा लामो यात्रा पार गरिसकेका छौं । सानो बिन्दुबाट सुरु भएको संस्था आज सबैभन्दा ठूलो ८ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी भएको संस्था बनेको छ । यसमा सबै सरोकारवाला, स्थापना कालदेखि अहिलेसम्मको सञ्चालक समितिका सबै पदाधिकारी तथा व्यवस्थापनका सदस्यहरुको योगदान छ । नेपाल लाइफले अहिले कुल प्रिमियमका हिसाबले करिब २६ प्रतिशतको बजार हिस्सा ओगटेको छ । हामी सबै सूचकमा अगाडि छौं । हामीले यो संस्थालाई सबै सरोकारवाला, कर्मचारी र नियामकको समेत अपेक्षाअनुसार सबैभन्दा अब्बल संस्थाको रुपमा उभ्याएका छौं ।

देशको समग्र आर्थिक क्षेत्रमा परेको प्रभावको असर बिमा क्षेत्रमा कसरी परिरहेको छ ?

अर्थतन्त्र नकारात्मक भइसकेपछि बिमा क्षेत्र प्रभावित नहुने भन्ने सवालै हुँदैन । आर्थिक वर्ष २०७८/७९ र ७९/८० लाई तुलना गरेर हेर्दा जीवन बिमाको प्रथम बिमा शुल्क २४ प्रतिशतले ऋणात्मक भएको छ । कुल बिमा शुल्कको वृद्धिदर पनि २.५ प्रतिशत मात्र छ । यसले के देखाउँछ भने अर्थतन्त्रमा देखिएको चुनौतीबाट यो क्षेत्र पनि अछुतो छैन । उद्यपि, संस्थागत रुपमा हेर्दा नेपाल लाइफको प्रथम बिमा शुल्क ९ प्रतिशतले मात्र ऋणात्मक छ ।

अहिलेको प्रतिकूल अवस्थामा पनि ६७ करोड ४४ लाख खुद नाफा गर्न सफल हुनुभयो, कसरी सम्भव भयो ?

बिमा क्षेत्रको मुख्य आम्दानी भनेकै लगानीबाट हुने प्रतिफल हो । हाम्रो मुख्य लगानी भनेको बैंक वित्तीय संस्थाको मुद्दति निक्षेपमा हुने लगानी हो । २०७९/८० को अन्त्यमा हाम्रो कुल पोर्टफोलियो हेर्दा १ खर्ब ७१ अर्ब रुपैयाँजति छोटो र मध्यमस्तरीय लगानीलाई हामीले दीर्घकालीन लगानीमा परिणत गरेका छौं । त्यसअनुसार लगानीको प्रतिफल पनि प्राप्त भएको छ । यसमा बिमांकीय मूल्यांकनपछि आउने नाफा पनि हुन्छ, त्यसमा पनि हाम्रो विगतमा भन्दा राम्रो आउँछ भन्नेमा हामी स्पष्ट छौं ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष पोलिसी सरेन्डर ‘संख्याका आधारमा’ २७ प्रतिशतले बढेको छ, यसलाई कसरी हेरिरहनुभएको छ ?

संख्याको आधारमा बढे पनि मूल्यका हिसाबले घटेको छ । विगतमा ५ अर्ब १ करोड थियो, गत वर्ष ४ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ । पोलिसी सरेन्डरलाई हामीले एकदमै सूक्ष्म हिसाबले नियतवश भइरहेको छ कि अर्थतन्त्रमा आएको चुनौतीको प्रभावका रुपमा देखिएको छ त भनेर हेरिरहेका हुन्छौं । हाम्रो तथ्यांक हेर्दा अहिले अर्थतन्त्रमा देखिएको सुस्तताको असरको रुपमा बढी पोलिसी सरेन्डर भएको पाइएको छ । अहिले विगतमा जस्तो सजिलो पनि छैन र छुट्याउन पनि सकिँदैन तथापि सर्सर्ती हेर्दा नियतवश भइरहेको पोलिसी सरेन्डरको हिस्सा एकदमै सानो छ भन्ने हाम्रो बुझाइ छ । अहिले चाहिँ अलि लामो समयदेखि चलिरहेको पोलिसी पनि सरेन्डर भएको पाइएको छ । मानिसको तिर्नसक्ने क्षमतामा ह्रास आएका कारण यस्तो भएको हो । नयाँ पोलिसी लिने क्रम पनि घटेको छ । साइज पनि सानो भएको छ । पोलिसी राखेर लिइने कर्जाको हिस्सा पनि बढेको छ । यो सबै हेर्दा अर्थतन्त्रमा आएको चुनौतीको असरले पूरा बिमा क्षेत्र कसरी प्रभावित छ भन्ने स्पष्ट हुन्छ ।

नियतवश भएको पोलिसी सरेन्डरको अनुपात कति छ ?

विगतमा धेरै नै थियो । अहिले एकदमै कम छ । अहिले नीतिगत रुपमा पनि पोलिसी सुरु भएको तीन वर्ष नभई सरेन्डर हुन सक्दैन । त्यसपश्चात तत्कालै भएको सरेन्डरलाई हेर्दा पनि त्यो सामान्य नै छ ।

बिमा भनेकै दाबी भुक्तानीका लागि हो तर नेपालमा बिमा दाबी भुक्तानी अझै पनि सहज छैन नि, के भन्नुहुन्छ ?

यसलाई म दुई हिसाबले हेर्छु । निर्जीवन बिमाको केसमा मानिसहरुको धारणा अलि फरक छ । त्यसमा जीवन बिमा पनि मुसिन्छ । निर्जीवनमा मानिसले पोलिसी लिन्छन् । त्यसमा धेरै प्राविधिक कुरा हुन्छन् । मानिसले जनरल इन्स्योरेन्सको दाबी गर्दा केही न केही काटिएर आएको हुन्छ या त दाबी भुक्तानीका लागि योग्य हुँदैन । यही कुरा सामान्यीकरण भएको छ र बिमा भुक्तानी सोचेअनुसार पाइँदैन भन्ने धारणा स्थापित भएको छ । तर, जीवन बिमामा त्यस्तो हुँदैन । नेपाल लाइफकै कुरा गर्ने हो भने धेरै फरक छ । सर्भाइभल क्लेम हुन्छ, म्याचुअर्ड क्लेम र डेथ क्लेम हुन्छ । सर्भाइभल र डेथ क्लेममा स्वतः भइहाल्छ । नेपाल लाइफले अहिलेसम्म ६५ अर्बभन्दा बढीको दाबी भुक्तानी गरिसकेको छ । साढे ५ अर्बको त मृत्यु दाबी भुक्तानी नै छ । गत वर्ष पनि ९९ प्रतिशतभन्दा बढीको दाबी भुक्तानी गरिसकेका छौं । त्यसमा ८४-८५ प्रतिशत दाबी भुक्तानी बिमा प्राधिकरणले तोकेको १५ दिनको सीमाभित्र भएको छ । कागजात पूरा आइसक्दा दुर्घटनाको अवस्थामा ७२ घण्टाभित्र भुक्तानी गरेका छौं । यो तथ्यले के भन्छ भने दाबी भुक्तानीका विषयमा नेपाल लाइफ धेरै नै सहज छ ।

अहिले त बैंकहरुले पनि बचतमा विभिन्न बिमा सुविधा दिएका छन्, उपचार सुविधा दिन्छन्, जीवन बिमा खास किन गर्ने पनि भनिन्छ नि ?

पहिलो कुरा त बैंकले बिमाको सुविधा दिएको होइन । बैंकले इन्स्योरेन्सको सुविधा दिएको बिमा कम्पनीसँगै सम्झौता गरेर हो । बैंकले बिमा कम्पनीकै प्रोडक्ट लिएर बेचेको हो । त्यो निःशुल्क हुँदैन । कि ग्राहकले तिर्छ कि त बैंकले तिरेको हुन्छ । अर्को कुरा बैंकमा बचत गर्नु र बिमा गर्नुमा धेरै फरक छ । बिमा भनेको जोखिम बहन हो । त्यसका दुईवटा पाटा हुन्छन् । बिमालाई हामीले बचतका साथै जोखिम बहनसँग जोड्नुपर्छ । त्यसमा पनि मुख्य कुरा जोखिम बहन हो । कसैले १ करोडको बिमा गरेको छ भने प्रिमियम थोरै मात्र तिरिरहेको हुन्छ तर जोखिम १ करोडको बहन भइरहेको हुन्छ । तर, मुद्दति निक्षेपमा जति पैसा राखियो, त्यति मात्र हुन्छ । त्यही भएर बचत गर्नु र बिमा गर्नुका बीच धेरै नै फरक छ । सबैखाले लगानी या बचतका क्षेत्र हुन्छन् । बचत, घरजग्गा, सेयर भनेजस्तै बिमालाई खुला राख्नुपर्छ, एकले अर्कोलाई प्रतिस्थापन गर्ने होइन ।

जीवन बिमा कम्पनी नेपालमा १४ वटा छन्, नेपाल लाइफमै चाहिँ किन बिमा गर्ने ?

ग्राहकले बिमा कम्पनीबाट पोलिसी किन्दा १५-२० वर्षका लागि संस्थाको स्थायित्व पनि लिइरहेको हुन्छ । हामीले प्रोडक्ट मात्र लिइरहेका छैनौं । १९ वटा संस्था थिए, आज १४ वटामा झरे होलान् । हिजो लिएको प्रोडक्ट आज कता पुग्यो ? हिजो लिएको प्रोडक्टको बोनस आज कति हुन्छ ? हिजो सोचेअनुसारको प्रतिफल आज प्राप्त हुन्छ कि हुँदैन ? प्रोडक्ट लिएको संस्था अस्तित्वमा छ कि छैन ? यी सबै प्रश्नले संस्थाको स्थायित्वलाई दर्शाउँछ । साथै, संस्थाको मेरुदण्डका रुपमा रहनुभएका अभिकर्ता साथीहरुको स्थिति हेरौं । बिमा प्राधिकरणको तथ्यांक हेर्‍यौं भने लाइसेन्स नवीकरण भएका अभिकर्ताको संख्या २ लाख ३० हजार हाराहारी छ भने ४०-४२ हजार हामीसँग छन् । संस्थाको साइज, स्थायित्व, विश्वास, लगानी, ब्रान्ड भ्यालु, मार्केट सेयर, प्रतिफललगायतका सबै कुराले नेपाल लाइफ नेपाल लाइफ नै हो । 

विगतमा जस्तै अहिले पनि ‘मृत्यु भयो भने डबल पाइन्छ’, ‘मैले भनेपछि चुप लागेर गर्नुस् न विश्वास गर्नुहुन्न मलाई ?’ भन्ने जस्ता कुरा गरेर बिमा गराइन्छ कि अहिले बिमितलाई भ्यालु बुझाएर बिमा गराइन्छ ?

यसमा म अलि प्रस्ट पार्न चाहन्छु । हामीले अघि जोखिमका पनि कुरा गर्‍यौं, संस्थाको स्थायित्वको पनि कुरा गर्‍यौं । अर्को हेर्नुपर्ने विषय अन्डर इन्स्योरेन्स र ओभर इन्स्योरेन्सको हो । आफूलाई केही भइहाल्यो भने आफूसँग आश्रित भएका परिवारका अन्य सदस्यको फाइनान्सियल स्टाबिलिटीको लागि पनि बिमा हो । आफूसँग निर्भर भएका मानिसको पढाइ होला, क्वालिटी अफ लाइफको निरन्तरता होला, सामाजिक दायित्व होला, यी सबै कुरालाई कभर गर्ने साइजको बिमा गर्न जरुरी छ । अन्डर इन्स्योरेन्स गर्नु भएन । यसको अर्थ क्षमताभन्दा माथिको ओभर इन्स्योरेन्स पनि गर्नु भएन । सामान्य सिद्धान्त के भने हामी वार्षिक रुपमा जति कमाउँछौं, त्यसको १० गुणा बढीको बिमा गर्नुपर्छ भनिन्छ । यसको अर्थ, आफूलाई केही भइहाल्यो भने आफूसँग निर्भर परिवारका सदस्यलाई वित्तीय रुपमा सहज हुन्छ । हामीसँग एकदमै खारिएका अभिकर्ता हुनुहुन्छ । उहाँहरुले भ्यालु बिझाएरै बिमा गराउनुहुन्छ ।

बिमाप्रति मानिसहरु जति इच्छुक हुनुपर्ने हो, त्यति भएको पाइँदैन, यसको कारण चाहिँ के पाउनुभएको छ ?

जागरुकता या ज्ञानको कमी हो जस्तो लाग्छ मलाई । बिमा आवश्यक छ भनेर हामीले अझै बुझाउन सकेका छैनौँ । वैदेशिक रोजगारीमा गएको बिमा र कर्जामा गएको बिमा हटाउने हो भने पेनिट्रेसन २७-२८ प्रतिशतभन्दा बढी छैन । यसले के देखाउँछ भने धेरै जनसंख्या अहिले पनि बिमाको पहुँचभन्दा बाहिर छ । गरिबीका कारण केही सानो हिस्सा बिमाबाहिर होला, बाँकी त साक्षरता नै हो । यसलाई बढाउने हामीले नै हो । गाउँदेखि सहरसम्मका बासिन्दालाई आकर्षित गर्ने खालको प्रोडक्ट ल्याएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । हामी त्यसमा लागिरहेका छौं ।

तपाईंहरुका लगानीका क्षेत्र कुन-कुन हुन् ?

हामीले बिमा प्राधिकरणले दिएको निर्देशिकाभित्र रहेर लगानी गर्नुपर्छ । त्यसकारण हाम्रो मुख्य लगानीको क्षेत्र बैंक वित्तीय संस्थामा मुद्दति निक्षेप नै हो । अहिले नयाँ बिमा ऐनमार्फन प्राधिकरणले लगानी नीतिलाई सरलीकृत गरिदिएको छ । उत्पादनमूलक क्षेत्रमा पनि लगानी विविधीकरण गर्ने प्रयास भएको छ । हामी बजारको औसत प्रतिफलभन्दा बढी प्रतिफल लिएर अगाडि बढिरहेका छौं । हाम्रो मुख्य लगानीमा नेपाल लाइफ क्यापिटल सुरु भइसकेको छ । आफ्नै लगानीमा लगानी व्यवस्थापन कम्पनी दर्ताको प्रक्रियामा छौं । उत्पादनमूलक क्षेत्रको लगानीमा केन्द्रित हुन लगानी कम्पनी स्थापना गर्न लागेका हौं ।

नेपाल लाइफले पनि प्रिमियममा एफपिओको निकालेको थियो । यसरी प्रिमियमबाट संकलन भएको रकम लगानीकर्ताले लाभांश लिएको भए सरकारले कर तिर्न समय तोकेको छ । यसले तपाईंहरुलाई कस्तो असर पर्ला ?

यो विषय पहिला पनि उठेको हो । यसमा कर तिर्नुपर्छ भनेर कहीँ पनि व्याख्या भएजस्तो लाग्दैन । हामीले हरेक वर्ष कर तिरिरहेका छौं । राज्यबाटै ट्याक्स क्लियरेन्स सर्टिफिकेट पाइरहेका छौं । हामीले एफपीओबाट जति सेयर प्रिमियम संकलन गरेका थियौं, त्यो खातामै थियो, जुन राज्यले तोकेको कम्पनी ऐनको प्रावधानअनुसार नै रहेको हो । त्यो पुँजीकरण भएको छ । संस्थालाई बलियो बनाउन पुँजीको रुपमा राखिएको हो । त्यसमा ५ प्रतिशतको अन्तिम कर तिरिसकेको छ । बजेटमार्फत फेरि जसरी ‘मंसिरभित्र तिरे छुट’ भनेर पुनः तिर्न लगाउने प्रयास भएको छ, यसमा हाम्रो ठूलो अहसमति छ । पहिलो कुरा, करमा व्याख्या नै नभएको कुरालाई फरक तरिकाले व्याख्या गरेर तिर्न आऊ भन्नु कति तार्किक छ ? दोस्रो कुरा, राज्यका कुनै पनि कानुन भूतप्रभावी हुँदैनन् । यसरी गर्दै जाने हो भने अनावश्यक समस्या सिर्जना हुन्छन् । राज्यका निकायमा दर्ता भएका र उच्च नियमनमा रहेका संस्थाहरुले राज्यका सबै नियम कानुन मानिरहेका हुन्छन् । अहिले आएर राज्यलाई पैसा चाहियो भनेर वित्तीय क्षेत्रजस्तो व्यवस्थित क्षेत्रबाट उठाउने जुन उद्देश्य राखियो, यो सोच्नु मात्रै पनि गलत हो ।

यस्ता गतिविधि र प्रवृत्तिका कारण सरोकारवाला निकायमा कस्तो सन्देश प्रवाह भइरहेको छ, त्यो पनि हेर्नुपर्छ । जतिबेला पनि जुन पनि कानुन भूतप्रभावी बनाएर राज्यका कानुनहरु अत्यन्तै अस्थिर छन् भन्ने सन्देश दिनु राम्रो होइन । योचाहिँ महालेखाले उठाएको कुरा हो भनेर पनि आइरहेको छ । महालेखाले त खर्बौं रकम बेरुजु भनेर उठाएको छ, त्यो सबै क्लियर भएको छ त ? महालेखा स्वयं आफूले उठाइरहेको बेरुजु रकम क्लियर गर्न सबल छ त ? धेरै प्रश्न उठ्छन् । त्यसकारण यो भनेको संस्थाको कुरा मात्र होइन, संस्थासँग जोडिएका ३२ लाख पोलिसी होल्डर, आजको दिनमा १६ लाख पोलिसी होल्डर, डेढ लाख सेयरधनी यो सबैसँग ठोकिन्छ । नेपाल लाइफ आफैंमा ब्रान्ड मात्र होइन, यी सबै सरोकारवालाको आशाको केन्द्र पनि हो । त्यसकारण राज्यले नै यसमा पुनर्विचार गर्नुपर्छ । तर, राज्य एक हिसाबले अघि बढिसकेको पृष्ठभूमिमा हामी कानुनी उपचारमा जान्छौं । हामीले धेरै अनुरोध पनि गर्‍यौं । अन्य बैंक वित्तीय संस्था र बिमा कम्पनीले पनि आफ्नो तर्फबाट गरिरहेका छन् । यो हाम्रो मात्र समस्या होइन, सबै प्रभावित भएका छन् ।

बिमा क्षेत्रले अहिले भोगिरहेका खास समस्या के हुन् र त्यसबाट कसरी पार पाउन सकिएला ?

अहिले बिमा क्षेत्र बाह्य समस्याबाटै बढी प्रभावित छ । देशको अर्थतन्त्रले प्रतिकूल स्थितिको सामना गरिरहेको छ । यस्तो बेलामा सबै सरोकारवालाको मनोबल बढ्ने गरी कसरी व्यापार पनि चालु राख्न सकिन्छ, त्यो नै मुख्य चुनौती हो । जबसम्म अर्थतन्त्र चलायमान हुँदैन, तबसम्म सरोकारवाला निकायको पनि वृद्धिविकास हुँदैन । समग्र बिमा क्षेत्रको वृद्धि ऋणात्मक भएका बेला राज्यले मनोबल उच्च बढाउने प्रयास गर्नुपर्छ । विश्वासको वातावरण भनेको व्यापारले मात्र हुने होइन, राज्यबाट सही समयमा सही निर्णय भएको हुनुपर्छ । भर्खरै मात्र मजदुरको पारिश्रमिक बढेको छ, यो सही समयमा थियो कि थिएन ! सम्पूर्ण व्यापार व्यवसायले प्रतिकूल परिस्थितिको सामना गरिरहेका बेला, कसरी टिक्ने भन्ने दबाबमा परिरहेका बेला पारिश्रमिक बढाउनु कति उचित थियो होला ! पारिश्रमिक बढ्नुपर्छ तर धानिन्छ कि धानिँदैन भनेर पनि हेर्नुपर्छ । राज्यका नीतिहरु स्थिर हुनुपर्छ । राज्यले लिएका नीतिहरुले आन्तरिक रुपमा मात्र होइन, विदेशी लगानी पनि प्रभावित हुन्छ । अर्थतन्त्रले चुनौतीको सामना गरिरहेका बेला नीति निर्माताहरुले पनि फराकिलो भएर सोच्नुपर्छ ।


क्लिकमान्डु