राष्ट्र बैंकको कडाइले चालु पुँजी कर्जा घट्यो, आवधिक कर्जा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि उद्योगी व्यवसायीहरुले चालु पुँजी प्रकृतिको कर्जा प्रयोग घटाएका छन् ।

राष्ट्र बैंकले कात्तिक १ गतेबाट चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको थियो । निजी क्षेत्रको ब्यापक विरोधका बाबजुत केही लचिलो भएर कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी नीतिको प्रभाब कर्जा प्रबाहमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्त कम्पनीले प्रवाह गरेको चालुपुँजी प्रकृतिको कर्जा १३.२ प्रतिशतले घटेको छ । त्यस्तै, प्रयोजन नखुलाई दिइने ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले र आयात कर्जा ६.२ प्रतिशतले घटेको छ । ओभरड्राफ्ट र आयात कर्जा पनि चालुपुँजी प्रकृतिकै कर्जा हुन् ।

एक वर्षको अवधिमा टर्म लोन भने ३२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले चालु पुँजी प्रकृतिको कर्जालाई टर्म लोनमा कन्भर्ट गर्न सकिने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको नीतिगत हस्तक्षेपका कारण टर्म लोन प्रकृतिको कर्जा ह्वात्तै बढेको छ भने चालु पुँजी प्रकृतिको कर्जा उल्लेख्य मात्रामा घटेको छ ।

त्यसैगरी, रियलस्टेट कर्जा ५.६ प्रतिशतले बढेको छ भने गाडी कर्जा १.३ प्रतिशतले बढेको छ । सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घटेको छ ।

नेपाल उद्योग परिसंघले गरेको अध्ययमा पनि चालु पुँजी प्रकृतिको कर्जा उल्लेख्य मात्रामा घटेको पाइएको थियो । गत आर्थिक वर्षको पुस मसान्तमा उद्योगहरुले प्रयोग गरेको कर्जामध्ये ४८.५४ प्रतिशत चालु पुँजी प्रकृतिको कर्जा थियो ।

तर, राष्ट्र बैंकले चालु पुँजी प्रकृतिको कर्जा दुरुपयोग गर्ने माथि कडाइ गर्नुको साथै हाल लिएको चालु पुँजी प्रकृतिको कर्जा पुष्टी नहुने अवस्थामा आगामी २०८२ सालसम्म ५ किस्तामा उक्त रकम फिर्ता गर्नु पर्ने र १० वर्षसम्मको टर्म लोन बनाएर नियमित रुपमा सार्वा ब्याज तिर्नु पर्ने नियम कडाईका साथ कार्यान्वयन गरेपछि चालु पुँजी प्रकृतिको कर्जाको प्रयोग ह्वात्तै घटेको छ ।

परिसंघले गरेको अध्ययनमा हाल उद्योगहरुले प्रयोग गरेको वित्तीय स्रोतको ३७।१९ प्रतिशत कर्जा मात्रै चालु पुँजी प्रकृतिको छ । परिसंघका अनुसार चालु पुँजी प्रकृतिको कर्जाको औषत ब्याज ११.३८ प्रतिशतमा झरेको छ । जुन गत वर्षको पुसमा १२.८८ प्रतिशत थियो ।

उत्पादनमुलक उद्योगले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा केही बढेपनि सेवा क्षेत्रका उद्योगले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा घटेको छ। सेवा क्षेत्रले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा घट्दा समग्र चालु पुँजी प्रकृतिको कर्जामा गिरावट आएको हो।


क्लिकमान्डु