भारतमा १५ महिना यताकै चर्को महँगी
काठमाडौं । भारतमा पछिल्लो १५ महिनाकै उच्च बिन्दुमा खुद्रा मुद्रास्फीति पुगेको छ । जुलाई महिनामा भारतमा खुद्रा मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको छ ।
यसअघि सबैभन्दा धेरै मूल्यवृद्धि अप्रिल २०२२ मा ७.७९ थियो । त्यसपछि भने जुलाईमा नै मूल्यवृद्धि उच्च स्थानमा पुगेको छ । उपभोग्य वस्तुहरु, त्यसमा पनि बढी मात्रामा तरकारीको मूल्य बढेसँगै भारतमा खुद्रा मुद्रास्फीति उच्च बिन्दुमा पुगेको हो । गत जुनमा खुद्रा मुद्रास्फीति ४.८१ मा प्रतिशतमा थियो भने त्यसअघि मे महिनामा २५ महिनाकै सबैभन्दा कम ४.२५ प्रतिशतमा थियो।
भारतको उपभोक्ता खाद्य मूल्य सूचकांक (सिएफपिई) जुलाईमा बढेर ११.५१ प्रतिशत भएको छ । गत मुलाईमा यो ४.४९ प्रतिशत थियो भने त्यसअघि मे महिनामा २.९६ प्रतिशत थियो । यो सूचकांकले खाद्य बस्तुहरुको मूल्यमा हुने बृद्धि र कममिलाई देखाउँछ । उपभोक्ता मूल्य सुचकांक (सिपिआई)मा सबैभन्दा धेरै भूमिका खाद्यान्न वस्तुहरुकै हुनेगर्छ ।
भारतको केन्द्रिय बैंक आरबिआईले अनुमान गरेको भन्दा उच्च स्तरमा हाल भारतमा खुद्रा मुद्रास्फीति बढेको छ । जुलाईमा समग्र मूद्रास्फीति ६ प्रतिशत हुने अनुमान आरबीआईको थियो । तर, हाल समग्र मुद्रास्फीति शहरी क्षेत्रमा ७.२० प्रतिशत र ग्रामीण क्षेत्रमा ७.६३ प्रतिशत पुगेको छ ।
भारतमा अघिल्लो महिना अर्थात जुनको तुलनामा जुलाईमा सबैभन्दा धेरै मूल्यबृद्धि तरकारी जन्य वस्तुहरुमा भएको छ । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका रिपोर्टकाअनुसार जुनमा –०.९३ प्रतिशत रहेको तरकारीको मूल्य जुलाईमा ३७.३४ प्रतिशतले पुगेको छ । त्यस्तै, खाद्यान्नमा पनि केही मूल्यबृद्धि भएको छ । आधार मूल्यको तुलनामा जुनमा १२.७ प्रतिशत रहेको खाद्यान्नको मूल्य अहिले १३.०४ प्रतिशत पुगेको छ ।