सुविधाको आडमा कतै ‘चर्निङ’ भइरहेको त छैन ?



सामूहिक लगानी कोषले छरिएर बसेको लगानीकर्ता र लगानी योग्य तरल पुँजीलाई एकीकृत गर्छ र त्यस पुँजीलाई सही ठाँउमा लगानी गर्छ । तर यो व्याख्यामा मात्र सीमित छ भन्दा फरक पर्दैन । किनभने नेपालका कोषहरु आ-आफ्ना माउ बैंकहरुलाई तरलता सहज गराउने र सस्तो पैसामा परीक्षण गर्दै, सिक्दै, व्यापार गर्दै छन् भन्दा के होला उत्तर पाठक स्वयंले खोजुन् ।

ताथापि बन्दमुखी योजना र खुला योजनाबारे अत्यन्तै कम ज्ञान भएका र कम क्रियाशील लगानीकर्ताहरुको लागि राम्रो हुन्छ । बन्दमुखी योजनामा निश्चित सेयर संख्या पहिलै निर्धारण गरिन्छ । यस्तो योजनाको निश्चित समय सीमा हुन्छ, जस्तै तीनदेखि १५ बर्षभित्र यस्ता योजनाको म्याद सकिन्छ र सबभन्दा महत्वपूर्ण कुरा यस्तो योजनाहरु धितोपत्र बजारमा कोरोबार हुन्छ । जसको फाइदा आम लगानीकर्ताहरुले कुनै पनि बेला उठाउन सक्छन् । यि विशेषताहरु खुलामुखी योजनामा हुँदैन। खुलामा लगानीकर्ताले कुनै पनि बेला थप लगानी गर्नु पर्ने वाध्यता रहिरहन्छ। र, यसको निश्चित समाप्ति म्याद पनि हुँदैन ।

यस कारण सामूहिक लगानी कोषद्वारा विभिन्न पूर्वाधारमा लगानी गर्ने कार्यको पनि सुरुवात गरिनु पर्छ । तर नेपाली बजारमा देखिएका यस्ता लगानी कोषले यस विषयमा त्यति चासो दिएको देखिँदैन।

सामूहिक लगानी कोषले सेयरबाहेक पनि प्राकृतिक, पूर्वाधार, बैंक तथा बिमा, स्वास्थ्य, प्रविधि, दूरसञ्चार, धातु तथा खनिज आदि क्षेत्रमा लगानी गर्न सक्छ । नेपालका सामूहिक लगानी कोषका प्रबर्द्धकहरुले पनि यस विषयमा केही मनन् गर्न आवश्यक छ । केवल पुँजीगत लाभ र व्याज आम्दानीले मात्र सामूहिक लगानी कोष टिकिरहन हुँदैन।

भारतमा एचडिएफसी, टाटा र रिलायन्सजस्ता सामूहिक लगानी कोषहरुले यस क्षेत्रको पूर्वाधार लगायत अन्य क्षेत्रमा धेरै अनुकरणीय लगानीहरु गरेको देखिन्छ ।

नियमक निकायले दिएका कर छुट लगायत प्राथमिक निष्काशनमा सामूहिक लगानी कोषलाई केहि प्रतिशत सेयर प्राथमिकता र अन्य सुविधाका कारण अहिले यस्ता लगानीमा खुद आम्दानी राम्रो देखिएको छ । तर, सँधै सेयर बजारको कमाइ एकरुपमा रहन्न त्यसकारण नेपालका सामूहिक लगानी कोषका प्रवर्द्धकले यस विषयमा बेलैमा सोच्न आवश्यक छ । सुविधामा पाएको सेयरको जगमा बसेर विज्ञ हुन जसले पनि सक्छ किन बैंकले मात्र ? नेपालमा म्युचल फण्ड अभ्यासको दशकौं भइसक्दा पनि बैंकको ब्याज सुविधाको सेयर र चलखेलको नीतिमा मात्र सीमित हुनु दुर्भाग्य हो । यसकारण नियामकले यस्ता सुविधा र पुँजीको आडमा हुने खेललाई ध्यान दिनु पर्छ र सुविधा हटाउनु पर्छ ।

सेयर बजारमार्फत् विभिन्न पूर्वाधारका क्षेत्रहरुमा लगानी योजनाको अवधारणाको विकास नगर्ने हो भने फगत सेयर बजारको लगानीको आधारमा राष्ट्रिय पुँजी बजारको विकासको सन्दर्भमा यस्ता लगानी कोषहरुले कुनै टेवा दिन सक्दैनन् ।

विश्व पुँजी बजारको पूर्वाधार लगानी कोषको तुलना अन्य कोषको प्रतिफलसँग गर्ने हो भने पूर्वाधार लगानी कोषको प्रतिफल ४८ प्रतिशतको हाराहारी रहेको पाइन्छ । यो सन् २०२२ को तथ्याङ्कको आधारमा निकालिएको हो ।

सामूहिक लगानी कोषको मुख्य उद्देश्य छरिएर बसेको लगानीलाई विज्ञहरुको निगरानीमा बजारमा लगानी गर्नु हो । तर, यसरी सबै पुँजी सेयर बजार वा बैंकको खातामा निश्चित ब्याजमा मात्र सीमित गर्नु उचित हुँदैन । तसर्थ लगानी कोषद्वारा वा मानौ नेपालमा पहिलोपटक प्रयोग हुँदै गरेको खुलामुखी लगानी योजनामार्फत् यसको शुरुवात गर्न कोषहरुलाई उत्प्रेरित गरिनु पर्छ तर, ज्वाँई सुबिधा दिएर होइन ।

प्रतिपक्ष जोखिम तथा तरलता जोखिम खुलामुखी योजनामा बन्दमुखी योजनामा भन्दा केही हदसम्म कम हुन्छ । तसर्थ यसको फाइदा राष्ट्रिय पुँजी निर्माणमा केही हदसम्म गर्न सकिन्छ ।

तर, त्यसको लागि पूर्वाधार क्षेत्रहरुको पहिचान गरी खुला योजनाहरुलाई पुँजी बजारमार्फत् खुलामुखी योजनाका कोषहरु मार्फत् लगानी गराउने प्रयास गर्नुपर्ने हुन्छ । व्यख्यामात्र फरक गरेर यदि खुलामुखी योजना आउँछ वा अनुमति दिइन्छ भने त्यसको कुनै तुक हुँदैन ।

यस्तो दक्षिणे सुविधाको बलमा ‘चर्निङ’ भइरहेको छ/छैन भनेर पनि ध्यान दिनु आवश्यक छ । धितोपत्र दलाल कम्पनी तथा म्युचुअल फन्डका जिम्मेवार मानिसले निश्चित दलालीका लागि अनावश्यक रुपमा आफ्ना ग्राहकका खातामा सेयर खरिदबिक्री गरिरहेका त छैनन् ? विश्व धितोपत्र बजारमा यसलाई गैरकानूनी मानिन्छ । यसलाई सिनिकल ओभर ट्रेडिङ पनि भन्न सकिन्छ । ग्राहकको नाफाभन्दा दलालको दलाली धेरै हुने नै सिनिकल ओभर ट्रेडिङ हो । सम्भवतः यस्तो अवस्था नभएको भए पनि सजग हुनु जरुरी छ ।


क्लिकमान्डु