राष्ट्र बैंकका कर्मचारीले कति पढेका छन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंक अर्थात् देशको केन्द्रिय बैंक । कुनैपनि देशको केन्द्रिय बैंकमा जागिर खानेहरुको शान नै बेग्लै हुन्छ।

देशको अर्थतन्त्रलाई कता लैजाने भन्ने कुरा केन्द्रिय बैंकले लिने नीतिमा पनि निर्भर रहन्छ । मौद्रिक नीति तयारी गरी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको केन्द्रिय बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।

बैंक तथा वित्त कम्पनीहरुको लाइसेन्स दिने र नियमन तथा सुपरिवेक्षण गर्ने काम पनि केन्द्रिय बैंकले नै गर्छ । साथै, राम्रो सेवा सुविधा हुने भएकाले केन्द्रिय बैंक ट्यालेन्टहरुको रोजाइमा पर्छ । केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु क्षमतावान र दूरदर्शी भएनन् भने मुलुकले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

नेपालमा भएका संस्थाहरुमध्ये सबैभन्दा बढी प्रोफेसनल राष्ट्र बैंकलाई मानिन्छ । राष्ट्र बैंकमा काविल कर्मचारीहरु पनि छन्। यद्यपि अझै पनि राष्ट्र बैंकमा कार्यरत कर्मचारीमध्ये ५.८ प्रतिशत कर्मचारी एसएलसी/अन्डर एसएलसी छन् । नेपाल राष्ट्र बैंकले हालै गरेको एक सर्भेक्षणमा जम्मा १.४ प्रतिशत अर्थात् १४ जना कर्मचारीले मात्रै विद्यावारिधी गरेका छन् । राजनीतिक नियुक्ति हुने ३ जनाको उच्च व्यवस्थापनमा एक जनाले मात्रै विद्यावारीधी गरेका छन् । गभर्नर महाप्रसार अधिकारीले चाटर्ड एकाउन्टेन्सी र डेपुटी भगर्नर मास्टर्स गरेका छन् भने डेपुटी गभर्नर डा. निलम तिम्सीनाले विद्यावारिधी गरेकी छन् ।

७ सदस्यीय सञ्चालक समितिमा ३ जनाले मात्रै विद्यावारिधी गरेका छन् भने ४ जनाको पढाइ मास्टर्स वा सो शरह मात्रै हो ।

तर, यो आलेखमा राष्ट्र बैंकको कर्मचारी विनियमावली अनुसार नियुक्ति भई कार्यरत रहेका ९९९ जना कर्मचारीहरुको पढाइको बारेमा विषेश चर्चा गरिएको छ । गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समिति राजनीतिक नियुक्ति भएकाले उनीहरु राष्ट्र बैंकका हाल कार्यरत ९९९ जना कर्मचारीमा पर्दैनन् ।

‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययनअनुसार अधिकांश कर्मचारीले मास्टर डिग्री गरेका छन् भने १.४ प्रतिशतले विद्यावारिधी र १.४ प्रतिशतले एमफिल गरेका छन् । ६०.८ प्रतिशतले मास्टर डिगी गरेका छन् भने १९ प्रतिशतले स्नातक गरेका छन् । त्यस्तै, ७ प्रतिशतले आइए, ७ प्रतिशतले एससएलसी र ५.८ प्रतिशत कर्मचारीले एसएलसी पनि पास गरेका छैनन् ।

उच्च तहकमा महिलाको सहभागीता कम

राष्ट्र बैंकमा कार्यरत कूल ५६१ जना अफिसर तहका कर्मचारीमध्ये १३० जनामात्रै महिला छन् । ४३१ जना अफिसरहरु पुरुष छन् । अफिसर तहको सबैभन्दा उच्च पद स्पेशल अफिसर अर्थात् कार्यकारी निर्देशकको १८ जनाको दरबन्दीमा सबै पुरुष कार्यरत छन् । निर्देशक तहको ५५ जनाको दरबन्दीमा ८ जना महिला छन् भने ४७ जना पुरुष छन् ।

१८ कार्यकारी निर्देशकमध्ये ३ जनाले पीएचडी, ४ जनाले एमफिल

राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुमध्ये १४ जनाले पीएचडी गरेका छन् भने १४ जनाले नै एमफिल गरेका छन् । १८ जना कार्यकारी निर्देशकमध्ये ३ जनाले पीएचडी र ४ जनाले एमफिल गरेका छन् भने ५५ जनाको दरबन्दी रहेको अफिसर फस्ट अर्थात् निर्देशकमध्ये ३ जनाले पीएचडी र ४ जनाले एमफिल गरेका छन् । त्यस्तै, १९८ जनाको दरबन्दी रहेको अफिसर सेकेन्ड अर्थात् उपनिर्देशक तहका कर्मचारीमध्ये ८ जनाले पीएचडी र ५ जनाले एमफिल गरेका छन् ।

२९० जनाको दरबन्दी रहेको अफिसर थर्डमा कार्यरत कर्मचारीमध्ये कसैले पनि पीएचडी र एमफिल गरेका छैनन् ।

६१ प्रतिशत कर्मचारी मास्टर्स गरेका, ५.३ प्रतिशत सीए

कूल कर्मचारीमध्ये ६०.८ प्रतिशत अर्थात् ६०७ जनाले मास्र्टस पास गरेका छन् । ५.३ प्रतिशत अथाएत् ५३ जना कर्मचारीले चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पूरा गरेका छन् । माटर्स गरेका ८ जना, चाटर्ड एकाउन्टेन्सी गरेका ३ जना कार्यकारी निर्देशक छन् ।

१८.६ प्रतिशत अर्थात् १८६ जना कर्मचारीले स्नातक र ६.७ प्रतिशत अर्थात् ६७ जना कर्मचारीले आइएमात्रै पढेका छन् । ५८ जना अर्थात् ५.८ प्रतिशत कर्मचारी एसएलसी र अन्डर एसएलसी छन् ।

यो अध्ययनमा कूल कर्मचारी संख्याको १० प्रतिशत अर्थात् ११५ जना कर्मचारी सहभागी छन् । राष्ट्र बैंकमा कूल १०८२ जना कर्मचारी छन् । २०२२ को अप्रिलमा गरिएको यो अध्ययन केही दिनअघि मात्रै सार्वजनिक गरिएको छ ।

१९५६ मा राष्ट्र बैंक स्थापना हुँदा गर्भरसहित जम्मा २३ जना कर्मचारी थिए । त्यो संख्या निरन्तर बढेर १९८८ मा सबैभन्दा बढी अर्थात् ३३०८ जना पुगेको थियो । त्यसयता लगातार घटिरहेको छ । सन् २०१८ मा ९५१ जना कर्मचारी रहेको राष्ट्र बैंकमा सन् २०२२ मा १०८२ जना पुगेको छ ।

सन् १९५६ मा जम्मा ६ जना अफिसर र १६ जना गैरअफिसर कर्मचारी थिए । अहिले ५६३ जना अफिसर र ५२५ जना गैरअफिसर छन् ।


क्लिकमान्डु