विगतमा हाम्रा कमजोरी भए, एमालेसँगको एकतालाई सुदृढ गर्न सकेनौं: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् ।

बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठक शुभारम्भ गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन् ।

दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने बताए ।

नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रीय समितिका नेताहरुले गम्भिरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने विश्वास व्यक्त गरे ।

पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।

प्रचण्डले यसो भने

यो बैठक हामी देशको विशिष्ट राजनीतिक परिस्थितिको बीचमा हामी बस्दैछौं । यसो त यो बैठक यसअघि नै बस्नुपर्ने थियो । पक्कै पनि यसमा बिलम्व हुन गएको छ ।

देशका राजनीतिक समिकरण, उतारचढाव पनि एकहदसम्म जिम्मेवार छन् भने हाम्रो आफ्नै आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण भएको छ । ढिलै भएपनि हामी यो केन्द्रीय समिति बैठकमा उपस्थित भएका छौं । अहिले देशको राजनीति जुन बिन्दुमा छ । र, जनताले हाम्रो पार्टीबाट र आन्दोलनबाट जेजस्ता आशा र अपेक्षा गरेका छन् ।

पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको छ । र, हाम्रो केन्द्रीय समितिको यो बैठकले जनतामा उत्पन्न भएको एउटा आशा र भरोसाको स्थितिलाई संगठनमा रुपान्तरण गर्ने, जनतासँगको हाम्रो सम्बन्धलाई अझ सुदृढ गर्ने, अभियानमा बदल्नु छ ।

केन्द्रीय समितिको यो ऐतिहासिक बैठकको काँधमा त्यही मुलभुत जिम्मेवारी रहेको छ । र, हामीले अहिले देशको राजनीतिमा देखापरेको विभिन्न विचार, प्रवृत्तिहरुको बारेमा र अनि हाम्रो पार्टी भित्रकै विगतका स्थितिहरुको सिंहावलोकन र समिक्षा गर्ने, आउने दिनमा एक्शन ओरेन्टेट भएर जाने आवश्यक्ता छ ।

मैले हाम्रो पार्टीको सन्दर्भमा विगतमा बेला मौकामा भन्ने गरेको छु–हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति त छ । तर पार्टी चाहीँ पार्टीजस्तो भइराखेको छैन । यसलाई साँचो अर्थमा एउटा कम्युनिष्ट पार्टी निर्माण, पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नु छ । मलाई विश्वास छ–केन्द्रीय समिति तपाई सम्पूर्ण जिम्मेवार कमरेडहरुले गम्भिरताका साथ, जिम्मेवारीका साथ अनुशासित रुपले रचनात्मक बहस, छलफल गरी यो बैठकलाई साँचै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

पक्कै पनि अहिले हाम्रो पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकार, जसले सकारात्मक र रचनात्मक राष्ट्रको पक्षमा, जनताको पक्षमा हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पका साथ अगाडि बढ्ने पहल गरिराखेका छौं । मलाई विश्वास छ–केन्द्रीय समितिको बैठकले ती कामहरुलाई अझ व्यवस्थित गर्ने, अझ प्रभावकारी बनाउने र राष्ट्र र जनताको आवश्यक्ता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।

हामीले देशमा राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्ने आवश्यक्ता, राष्ट्रिय स्वाधिनतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यक्ता छ । र, यो राष्ट्रिय एकता र स्वाधिनताको सुदृढीकरणमा पनि केन्द्रीय समितिको यो बैठकले महत्वपूर्ण छलफलहरु, निष्कर्षहरु निकाल्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । किनकी पछिल्लो चरणमा अन्तराष्ट्रिय राजनीतिमा र क्षेत्रीय राजनीतिमा धुब्रीकरणका नयाँ प्रक्रियाहरु देखा परेका छन् ।

युद्ध र द्वन्द्वका प्रतिस्पर्धाबाट द्वन्द्वका नयाँ प्रक्रियाहरु देखापरेका छन । नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ । र, आउने दिनमा अझ बढी त्यसको प्रभाव पर्ने संकेत पनि प्रष्ट देखिएका छन् । त्यस्तो स्थितिमा हामीले हाम्रो स्वतन्त्रतालाई, हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनतालाई सुदृढ गर्नको निम्ति केन्द्रीय समितिको यो बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नुपर्ने आवश्यक्ता छ ।

म विश्वास गर्छु,–केन्द्रीय समिति बैठक त्यो दिशामा सफल हुनेछ । पक्कै पनि जतिबेला चुनौतिहरु देखापर्छन, त्यतिबेला यस भित्र अवसरहरु पनि अन्तरनिहीत रहेका हुन्छन । चुनौति र अवसरहरु जहिले पनि द्वन्द्वात्मक अन्तरसम्बन्धमा जहिले पनि पर्ने गर्दछन् । हामीले जहिले पनि नेगेटिभलाई पोजेटिभमा कसरी बदल्न सकिन्छ ? चुनौतिहरुलाई अवसरमा कसरी बदल्न सकिन्छ । राष्ट्रलाई अझ कसरी सुदृढ एकतामा कसरी लैजान सकिन्छ ? जनताका आवश्यक्ता र चाहनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर ध्यान केन्द्रित गर्ने गरेका छौं ।

हामीले एकपछि अर्को सफलता चाहे त्यो हिजो जनयुद्ध, जनआन्दोलनको सन्दर्भमा होस् । शान्ति सम्झौता, संविधान निर्माणको सन्दर्भमा होस् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा, निर्वाचनको सन्दर्भमा होस् । हामीले त्यो उद्देश्यमा निरन्तर प्रयास गर्दै आएका छौं । केही उतारचढावहरु भएपनि हामी निरन्तर राष्ट्र र जनताको पक्षमा निष्ठाको साथ, इमान्दारिताका साथ, खडा पनि हुँदै आएका छौं । र, हाम्रो पार्टी त्यस्तो पार्टीको रुपमा पनि इतिहासमा राम्रैसँग स्थापित भएको छ । जसले आफ्ना कमीकमजोरीलाई स्विकार्न डराउँदैन । कमजोरीलाई इमान्दारिताका साथ आत्माआलोचना गर्ने र तिनलाई हटाउनका लागि संकल्प लिने र त्यसलाई हटाएर अघि बढने गर्दै आएको छ ।

पक्कै पनि विगतमा हाम्रा केही कमीहरु भएकै छन् । हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौं । विभाजनको पीडाबाट हामी गुज्रनु पर्‍यो । अहिले फेरि हामी एकताको नयाँ प्रक्रियातिर जाँदैछौं । हामी समाजवादको उद्देश्यका निम्ति समाजवादी मोर्चा निर्माण गरेर पनि हामी अगाडि बढदैछौं । र, फेरी एकचोटी विचार र राजनीतिको विकास र परिमार्जनसहित त्यसको आधारमा पार्टी एकतालाई अझ विकसित गर्ने जमर्को पनि गरेका छौं ।

यी सबै सन्दर्भमा केन्द्रीय समितिको यो बैठकले पार्टी र आन्दोलनलाई मात्रै होइन, सिंगो राष्ट्र र जनताको आवश्यक्तालाई सम्बोधन हुने गरी निष्कर्षहरु निकाल्नेछ भन्ने विश्वास गर्दै त्यसमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन पनि सबै कमरेडहरुलाई अनुरोध गर्दछु ।


क्लिकमान्डु